छुसाङदेखि धम्पुसम्मको १३ स्थानमा कालिगण्डकी तटबन्ध निर्माण सम्पन्न

जोमसोम—  कालिगण्डकी नदी सतहको उकासले हिमाली जिल्ला मुस्ताङको एक दर्जन तटीय वस्ती उच्च जोखिममा परेको छ ।  कालिगण्डकी नदीको तटीय क्षेत्रमा ढुंगा गिट्टी,बालुवा र ग्रेगानले बर्सेनि नदी उकास वृद्धि हुँदै जाँदा यहाँका तीन पालिकाका अधिकाँश तटीय वस्तीहरुले वर्षौवर्षदेखि विपद् जोखिमको सामना गर्दैआईरहेका छन् ।

मुस्ताङ स्थित कालिगण्डकी नदी क्षेत्रको तटीय वस्ती तथा खेतीयोग्य जग्गा सरक्षणका लागि संघीय सरकारको विशेष अनुदानबाट बहुवर्षीय बृहत्त कालिगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा आई सम्पन्न भएको हो । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ छुसाङदेखि घरपझोङ  र थासाङ गाउँपालिका—३ लेते धम्पु गाउँसम्मको करिव ६५ किलोमिटर दुरीमा पर्ने करिव एक दर्जन तटीय वस्ती संरक्षणका लागि कालिगण्डकी तटीयक्षेत्रमा बृहत्त तटबन्ध निर्माण गरिएको हो ।


 संघीय योजना अन्तर्गत खानेपानी ,जलश्रोत तथा सिंचाई सव डिभिजन कार्यालय मुस्ताङले कार्यान्वयन गर्ने गरी यहाँको एक दर्जन बढी तटीय वस्ती जोगाउँन तीन हजार ४१० मिटर लामो विभिन्न प्रकृतिको तटबन्ध निर्माण गरिएको हो । यसका लागि मुस्ताङको वारागुङ—३ छुसाङदेखि घरपझोङ—३ स्याङसम्मको प्याकेज एक र मुस्ताङको घरपझोङ—२ मार्फदेखि मुस्ताङको थासाङ—३ लेते धम्पुसम्मको प्याकेज दुईको एउँटै निर्माण कम्पनीले  तटबन्ध निर्माण सम्पन्न गरेको खानेपानी,जलश्रोत तथा सिंचाई सव डिभिजन कार्यालयका प्रमुख  संजय कोईरालाले जानकारी दिनुभयो । कालिगण्डकी वस्ती सरक्षणका लागि कालिगण्डकी नदी नियन्त्रण योजनाको सम्झौता अनुसार ग्याविन, आससीसी, प्लम्प कंक्रिट र ठुलाठुला ढुंगा बिच्छ्याएर बिग बोल्डिङ स्टेकिङ तटबन्ध निर्माण गरिएको कार्यालय प्रमुख कोईरालाले उल्लेख गर्नुभयो ।

 यहाँ स्थित कालिगण्डकी तटीय वस्ती संरक्षणका लागि पहिलो र दोस्रो प्याकेज गरी दुबैको अमित विल्डर्सले ठेक्का हात पारेको थियो । प्याकेज एक अन्तर्गत मुस्ताङको छुसाङदेखि घरपझोङ—३ स्याङसम्मको दुरीमा तटबन्ध निर्माण गर्न ९ करोड १२ लाख लागतमा वि.स. २०८१ साल ३ असारमा अमित विल्डर्सले ठेक्का सम्झौता गरेको थियो । यहाँ सतप्रतिशत भौतिक प्रगती भएको छ भने वित्तिय प्रगती ९८ दशमलव ७९ प्रतिशत रहेको कार्यालय प्रमुख संजय कोईरालाले जानकारी दिनुभयो ।


 कालिगण्डकी तटीय वस्ती सरक्षणका लागि प्याकेज एक अन्तर्गत वारागुङ मुक्तिक्षेत्रको छुसाङमा २३१ मिटर,तिरीमा ५२२ मिटर,एक्लेभट्टीमा २६५ मिटर,पान्डा खोलामा ६० मिटर र घरपझोङ—३ स्याङको कालिगण्डकी तटमा ५४९ मिटर गरी एक हजार ६२७ मिटर लामो तटबन्ध निर्माण सम्पन्न भएको कार्यालय प्रमुख कोईरालाले बताउँनुभयो ।

 यसैगरी संघीय योजना अन्तर्गत खानेपानी,जलश्रोत तथा सिंचाई सव डिभिजन कार्यालय मुस्ताङले प्याकेज दुईको बृहत तटबन्ध निर्माण सम्पन्न भईसकेको जनाएको छ । प्याकेज दुईका लागि अमित विल्डर्स निर्माण कम्पनीले  ९ करोड २६ लाख लागतमा तटबन्धको ठेक्का सम्झौता गरेको थियो । प्याकेज दुईमा मुस्ताङको घरपझोङ—२ मार्फादेखि थासाङ—३ धम्पुसम्मको दुरीमा शतप्रतिशत भौतिक ९५ दशमलव ९५ प्रतिशत वित्तिय प्रगती भएको  खानेपानी,जलश्रोत तथा सिंचाई सवडिभिजन प्रमुख संजय कोईरालाको भनाई छ ।

 यहाँ स्थित प्याकेज दुई तटबन्ध निर्माण योजना अन्तर्गत मुस्ताङको मार्फामा  १११ मिटर,टुकुचेमा ७१७ मिटर,खन्तीमा ९०९ मिटर,सौरुमा ६० मिटर, सिर्खुममा २४६ मिटर,कोखेठाँटीमा २४४ मिटर, छाक्ताङमा १७१ मिटर र थासाङको धम्पुमा ४२ मिटर गरी कुल एक हजार ७८३ मिटर लामो तटबन्ध निर्माणकार्य सम्पन्न भएको कार्यालय प्रमुख कोईरालाले बताउँनुभयो ।

 कालिगण्डकी नदी नियन्त्रण योजना अन्तर्गत मुस्ताङ सदरमुकाम जोमसोममा अन्य सरकारी निकायले तटबन्ध निर्माण गरिसकेकाले यहाँ कार्यालयबाट तटबन्ध निर्माण योजनामा समावेश नभएको कार्यालय प्रमुख कोईरालाले स्पष्ट पार्नुभयो ।

 जोमसोममा राष्ट्रिय योजना आयोगको बजेटबाट मुस्ताङको घरपझोङ गाउँपालिकाले कार्यान्वयन गर्नेगरी यसअघि नै तटबन्ध निर्माण गरीसकेको छ । यसैगरी संघीय सरकारको सिंचाई विभाग नदी नियन्त्रण महाशाखा अन्तर्गत जोमसोम बजार संरक्षणका लागि नदी नियन्त्रण तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । 

यस्तै, जोमसोम विमानस्थल संरक्षणका लागि नेपाल नागरिक उड्यन प्राधिकरणले कालिगण्डकी नदीमा विमानस्थल संरक्षणका लागि आवश्यक आरसीसी तटबन्ध निर्माण गरिसकेको छ । 


प्रतिक्रिया