पर्यटकीय उभार ः एकै महिना असी हजार बढी विदेशी पर्यटक मुस्ताङमा

 सन् २०२६ को जुन महिनामा असी हजार २५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्  । यहाँ स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा मात्रै ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

सन् २०२६ को जुन महिनामा कुल भित्रिएका विदेशी पर्यटक मध्ये ९८ दशलमव ०२ प्रतिशत सार्क राष्ट्र र  १ दशलव ९७ प्रतिशत अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । जुन महिनामा यतिठुलो संख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको योनै पहिलो भएको प्रमुख गुप्तको भनाई छ । जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये ९५ प्रतिशत भन्दा बढी भारतीय पर्यटक रहेको एक्याप प्रमुख गुप्तले बताउँनुभयो ।

 सन् २०२६ को अघिल्लो मे महिनामा पैसठ्ठी हजार ९९४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यसरी भित्रिएका पर्यटक मध्ये सार्क राष्ट्रतर्फ एकसठ्ठी हजार ७९८ जना र अन्य राष्ट्रबाट चार हजार १९६ जना विदेशी पर्यटक थिए ।

 एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२५ को जुन महिनामा कुल २० हजार ८६८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।  सोमहिनामा सार्क राष्ट्रबाट १९ हजार ६४९ र अन्य मुलुकबाट एक हजार २०९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।

 एक्याप प्रमुख गुप्तका अनुसार सन् २०२५ को जुन महिनाको तुलनामा सन् २०२६ को जुन महिनामा मात्रै मुस्ताङ जिल्लामा  ५९ हजार ३९५ जना अथार्त (२८४.७५) प्रतिशत विदेशी पर्यटकको आगमन वृद्धि भएको उल्लेख गर्नुभयो ।

 सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिना अवधिमा दुई लाख २२ हजार ९९२ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जसमध्ये सार्कतर्फ दुई लाख ८ हजार ११ जना र अन्य राष्ट्रतर्फ चौध हजार ९८१ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्याप प्रमुख गुप्तको भनाई छ । 

यसअघि सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिना अवधिमा अन्ठानब्बे हजार ४८१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । एक्याप कार्यालयको तथ्यांक अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ जुनसम्मको ६ महिना अवधिमा  एक लाख २४ हजार ५११ जना अर्थात (१२६.४३) प्रतिशतले मुस्ताङमा पर्यटकको आगमन संख्या वृद्धि भएको  हो ।

 एक्याप जोमसोम कार्यालयको तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको पुरै बाह्र महिना अवधिमा कुल एक लाख ६१ हजार १४२ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । सन् २०२५ को बाह्र महिनाको तुलनामा सन् २०२६को  जुनसम्मको ६ महिना अवधिमै गतवर्षको लक्ष्य पुरा गरी थप ६१ हजार ८५१ अर्थात (३८.३८) प्रतिशतले विदेशी पर्यटकको आगमन संख्या वृद्धि भएको छ ।

 यसवर्ष सन् २०२६ मा भारतीय विदेशी पर्यटकको मुस्ताङ आगमन अत्यधिक रुपमा वृद्धि भएको हो । मुस्ताङ भित्रिएका विदेशी पर्यटक संख्याको अनुपातमा ९५ प्रतिशत बढी भारतीय पर्यटकको रहेको एक्याप चेकपोस्टले प्रविष्ट गरेको तथ्यांकले देखाउँछ । छिमेकी देश भारतमा गर्मी अत्यधिक रुपमा बढेकाले गर्मी छल्न उल्लेख्य संख्यामा भारतीय पर्यटकहरु मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएका एक्याप प्रमुख राजेश गुप्तले बताउँनुभयो ।

 मुस्ताङ भित्रिएका भारतीय पर्यटकहरु मध्ये ५० प्रतिशतले आफ्नै देशबाट नीजि सवारी साधन लिएर मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने गरेका छन् । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएका भारतीय पर्यटकको उपस्थितले मुस्ताङसहित म्याग्दी,बाग्लुङ  र पोखराका होटलहरु पर्यटकले भरिभराउ भएका हुन् । मुस्ताङ आएका अधिकाँश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाईएको छ ।

 यसैगरी अन्य राष्ट्रका विदेशी पर्यटकहरु भने राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिने गरेका छन भने कतिपय अन्य राष्ट्रका विदेशी पर्यटकहरु पोखरा—जोमसोम हवाईमार्ग र बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने गर्छन । एक्याप लोमान्थाङका अनुसार मुस्ताङ भित्रिएका पर्यटकहरु मध्ये तीन प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।


प्रतिक्रिया