जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा मंगलबार ईलेक्ट्रोनिक भ्यान दुर्घटना भएको छ । मुक्तिनाथ दर्शन गरी फर्किएर जोमसोमतर्फ आउँदै गरेको तिर्थालु सवार बा.प. ०१—०२९ च ७४४६ नम्बरको ईलेक्ट्रोनिक भ्यान कागबेनी सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
चितवनबाट चालकसहित १२ जना यात्रु लिएर मुक्तिनाथ दर्शनका लागि आएको भ्यान मुक्तिनाथबाट फर्किएर जोमसोमतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकको छेवैमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक मिलनबहादुर बिकले जानकारी दिए । भ्यानमा ६ पुरुष र ६ महिला सवार थिए । दुर्घटनापछि सामान्य घाईते भएका यात्रुहरुलाई मुस्ताङ अस्पताल जोमसोममा सामान्य उपचारपछि साँझ ५ बजेर ३० मिनेट जाँदा डिस्चार्ज गरिएको प्रहरी निरीक्षक बिकले उल्लेख गरे ।
यसअघि घटनाको विवरण संकलन गर्न प्रहरी निरीक्षक बिकसहित ७ जनाको टोली कागबेनीमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।