कोरला सडकको समग्र भौतिक प्रगती ८२ प्रतिशत हुँदा ७ अर्ब ५ करोड खर्च

जोमसोम—उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला)सडक आयोजनाको वित्तिय खर्च ७ अर्ब ५ करोड ७ लाख ४८ हजार पुगेको छ । आयोजनाले सडक तथा पुलपुलेसा निर्माणमा चालु आर्थिक वर्ष २०८०—०८१ सम्मका लागि विनियोजन भएको कुल बजेट ८ अर्ब ३८ करोड ७८ लाख ५९ हजार मध्ये उक्त बजेट खर्च गरेको हो । यो समग्र बजेटको ८३ प्रतिशत वित्तिय खर्च  भएको देखिन्छ ।

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना आर्थिक वर्ष २०७३÷०७४ देखि सुरु भएको हो । आयोजना सुरु भएदेखि यता हालसम्म कुल विनियोजित बजेट मध्ये मुल्य समायोजनसहित समावेश भएकाले वित्तिय खर्च भौतिक प्रगतीको अनुपातमा केही बढी देखिन पुगेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले उल्लेख गरे ।  उत्तर÷दक्षिण जोड्ने कोरला सडकको अहिलेसम्मको समग्र भौतिक प्रगती ८२ प्रतिशत र वित्तिय प्रगती ७८ प्रतिशत रहेको उनले बताए ।

उत्तर÷दक्षिण कोरलानाका जोड्ने व्यापारिक मार्ग विस्तारित आयोजनाका लागि चालु आर्थिक वर्षसम्ममा सडक स्तरोन्नतितर्फ ७ अर्ब ३५ करोड ३९ हजार विनियोजन भएकोमा चालु वर्षको बैशाख मशान्तसम्ममा ६ अर्ब ३५ करोड १९ लाख अर्थात ८४ दशमलव ६५ प्रतिशत वित्तिय खर्च भईसकेको छ । यसैगरी रणनीतिक सडक तथा पुलपुलेसा निर्माण र संरक्षणमा चालुवर्षसम्म आईपुग्दा ८८ करोड ४३ लाख विनियोजन भएकोमा ६५ करोड ३८ लाख अर्थात ७३ दशमलव ९३ प्रतिशत वित्तिय खर्च भईसकेको आयोजनाले जनाएको छ । यो खर्च मुल्य समायोजन खर्च अनुसार भएको आयोजनाका सूचना अधिकारी चापागाईले जानकारी दिए ।

बेनी—जोमसोम—कोरला सडक आयोजनाका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा  सडक स्तरोन्नतितर्फ ७० करोड विनियोजन भएकोमा चालु वर्षको १० महिनामा ४५ करोड ६ लाख अर्थात ६४ प्रतिशत वित्तिय खर्च भएको छ । यसैगरी सडक तथा पुलपुलेसा निर्माण तथा संरक्षणमा २ करोड ८२ लाख विनियोजन भएकोमा १ करोड ७७ लाख अर्थात ६३ प्रतिशत खर्च भएको आयोजनाका सूचना अधिकारी चापागाईले बताए ।

यसअघिको आर्थिक वर्षसम्ममा आयोजनाका लागि आर्थिक वर्ष २०७३÷०७४,२०७४÷०७५,२०७५÷०७६, २०७६÷०७७, २०७७÷०७८, २०७८÷०७९ र २०७९÷०८० गरी ७ आर्थिक वर्षमा सडक तथा पुलपुलेसा गरी कुल ७ अर्व ६५ करोड ९६ लाख ५९ हजार विनियोजन भईसकेकोमा  ६ अर्व ५३ करोड ७४ लाख ४८ हजार अर्थात ८५ दशमलव ३४ प्रतिशत बजेट खर्च भएको हो ।जसमध्ये सडकतर्फ अघिल्लो आर्थिक वर्षसम्ममा ६ अर्व ८० करोड ३५ लाख विनियोजन भएकोमा ५ अर्व ९० करोड १३ लाख बजेट खर्च भएको थियो ।  पुल पुलेसातर्फ अघिल्लो आर्थिक वर्षसम्ममा ८५ करोड ६१ लाख विनियोजन भईसकेकोम ६३ करोड ६१ लाख बजेट खर्च भईसकेको थियो ।

भारतीय नाकाबन्दीपछि आर्थिक वर्ष २०७३÷०७४ सालदेखि सुरु भएको उत्तर÷दक्षिण जोड्ने कोरला सडक आयोजनाका लागि ७ वटा खण्ड तय गरिएको थियो । जसअन्तर्गत बेनी—जोमसोम ७४ किमी दुरीको सडक ४ खण्ड र जोमसोम—कोरला ११० किमी सडकखण्डका लागि ७ खण्डमा विभिन्न निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएका थिए । सुरुवाती चरणमा सुरु गरिएको सडकखण्ड मध्ये जोमसोम—कोरला ७ खण्ड मध्ये ६ खण्ड र बेनी—जोमसोम २ खण्ड गरी ६ वटा सडकखण्ड निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भईसकेको छ । गौरवको कोरला सडकखण्ड मध्ये थप नयाँ सडकखण्ड थपिदै गईरहेका छन् ।

आयोजनाका सूचना अधिकारी चापागाईका अनुसार मालढुंगा—बेनी १३ किमी कालोपत्रे सडक, बेनी—गलेश्वर ३ किमी कालोपत्रे सडक, जोमसोम—कागबेनी १३ किमी कालोपत्रे सडक र हालै छुसाङ चैले सडक थप स्तरोन्नतिका योजना प्राथमिकतामा परेका हुन् । जसमध्ये बेनी—गलेश्वर कालोपत्रे निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भईसकेको छ ।

सडकतर्फ जोमसोमदेखि चराङसम्म र छोसेरदेखि कोरलासम्मको सडक आयोजनालाई हस्तान्तरण भईसकेको हो ।तर, निर्माण कम्पनीको वेवास्ता र ढिलासुस्तीले चराङ—छोसेर सडक अन्तिम चरण पुग्दा अलपत्र अवस्थामा रहेको जनाईएको छ ।बेनी—जोमसोम ७४ किमी सडकको तेस्रो खण्ड मुस्ताङको कैकुदेखि खन्तीसम्मको २० किमी कालोपत्र सडक शर्मा गजुरमुखि जेभीले एक वर्ष अगावै आयोजनालाई हस्तान्तरण गरेको थियो ।

कोरला सडकमा निर्माणधिन सडक अन्तर्गत मालढुंगा—बेनी ७८ प्रतिशत  सम्पन्न भएको छ । बेनी—जोमसोम सडकको पहिलो खण्ड बेनीदेखि तातोपानीसम्मको १९ किमी कालोपत्र सडकको शर्मा युनाईटेड जेभीले ९० प्रतिशत, म्याग्दीको तातोपानीदेखि मुस्ताङको कैकुसम्मको १७ किमी कालोपत्र सडक शर्मा गजुरमुखी जेभीले ८५ प्रतिशत र मुस्ताङको खन्तीदेखि जोमसोम पक्कीपुलसम्मको १८ किमी कालोपत्र सडक  पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ८० प्रतिशत भौतिक प्रगती सम्पन्न गरेको आयोजनाले उल्लेख गरेको छ ।

पुल पुसेसा निर्माण तथा संरक्षण तर्फ आश्यकता अनुसार नयाँ योजनापनि थपिदै छन् ।कोरला सडक आयोजना अन्तर्गत पुल पुलेसातर्फ उपल्लो मुस्ताङको लोमान्थाङदेखि कोरलानाकासम्मको लोमान्थाङ खोला,किम्लिङ खोला,नाम्डोक खोला र भर्मा खोला पुल गरी ४ वटा पुल हालै सम्पन्न भईसकेर आयोजनालाई हस्तान्तरण भईसकेको छ । जिम्मेवारी सरेर आयोजनालाई  अख्तियारी दिईएको जोमसोम—कोरला सडकको पान्डाखोला पुल पनि केही वर्ष अघि सम्पन्न भईसकेको थियो ।

यसैगरी बेनी—जोमसोम सडक अन्तर्गत निर्माणधिन राहुघाट खोला पुल,घट्टे खोला पुल,छाक्ताङ खोला पुल र लेते खोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भएको हो । यसैगरी आयोजना मार्फत रुप्से बेलिब्रिज,तातोपानी बेलिब्रिज र बेनीमा स्थान्तरण गरिएको बेलिब्रिज समेत सम्पन्न भएको छ । योसंगै पुलपुलेसातर्फ ९ वटा पक्की पुल र ३ वटा बेलिब्रिज गरी १२ वटा पुल निर्माणको काम सम्पन्न भएका आयोजनका सूचना अधिकारी चापागाईले जानकारी दिए । उनका अनुसार  जोमसोम—कोरला सडकखण्डमा निर्माणधिन चराङ खोला पुल,घमी खोला पुल ,छुसाङ खोला पुल ,मार्फा खोला पुल निर्माणधिन अवस्थामा छन् ।

 मुस्ताङ प्रवेश गर्ने सबैभन्दा अप्ठ्यारो र जोखिमयुक्त सडक काभ्रेभीर सडक पछिल्लो समय निकैनै सहज बन्दै जान थालेको छ ।नेपाली सेनाले अप्ठ्यारो स्थानको चट्टान फोरर ट्रयाक ओपन गरेको काभ्रेभीर सडकलाई आयोजनाले थप स्तरोन्नति गरेपछि यो स्थानको यात्रा सुरक्षित बन्दै जान थालेको हो । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभे्रभीर सडकमा यात्रा गर्दा पर्यटकको आङ जिरिङ गथ्र्यो । आयोजना अन्तर्गत सडक स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखिले  रककटिङ गरी सडक चौडा गरेको र त्यहाँ १६ सय मिटर आरसीसी ढलान गरी सकेकाले बेनी हुँदै मुस्ताङ यात्रा सहज बनेको हो । यद्यपी त्यहाँको कतिपय भाँसिएको सडकमा आरसीसी वाल उठाएर माटो फिलिङ गरी सडक चौडा गर्ने काम भईरहेको आयोजनाका सूचना अधिकारी चापागाईले बताए ।‘काभ्रेभीरमा सुरुवाती ठेक्का गर्दा १६ सय मिटरको आरसीसी सडक तोकिएको थियो,त्यो पुरा भईसक्यो,सूचना अधिकारी चापागाईले भने,‘ अझै करिव ५ सय मिटर आरसीसी सडक विस्तार गर्नुपर्ने देखिन्छ, यसका लागि स्टमेट र भिओ प्रक्रिया गर्ने गृहकार्य भईरहेको छ ।

बर्सेनि कालिगण्डकी नदीको कटानले काभ्रेभीर सडकको संरचनामा क्षति पू¥याउने भएकाले सडक तलको कालिगण्डकी नदीलाई च्यानलिङ गर्ने कार्य भईरहेको जानकारी दिए ।


प्रतिक्रिया