मुक्तिनाथ मन्दिरमा ४७ लाख ९० हजार भेटी संकलन

फाईल फोटो


जोमसोम—  हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा  ४७ लाख ९० हजार ९५२ रुपैया चन्दा भेटी रकम संकलन भएको हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा चार पटक मुक्तिनाथमा राखिएको ५ वटा भेटी चन्दा बाकसको रकम गणना गर्दा उक्त रकम संकलन भएको मुक्तिनाथ विकास समितिले जनाएको छ ।

समितिका सदस्य सचिव मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार  चालु वर्ष मुक्तिनाथको भेटी बाकसको रकम चार पटकसम्म गणना भएको जानकारी दिनुभयो । सदस्य सचिव अर्यालले चालु वर्षको  मंसिर ११ गते, चैत १४ गते, चैत १८ गते र बैशाख ८ गतेका दिनमा मुक्तिनाथमा राखिएको भेटी बाँकसको चन्दा भेटी रकम गणना गरिएको हो ।

 मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी चार पटकसम्म गणना गर्दा नेपाली रुपैया २६ लाख ७७ हजार ५९० र १३ लाख १८ हजार ३०८ भारतीय रुपैया संकलन भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

भक्तजनद्वारा चढाएको भेटी रकम पछिल्लो पटक २०८१ साल मंसिर महिनामा गणना गर्दा नेपाली रुपैया ९ लाख २१ हजार ८३० र भारतीय रुपैया ८ लाख २५ हजार ६२० गरी २२ लाख ४५ हजार ३७८ रुपैया संकलन भएको छ । २०८१ सालको चैत १४ गते भेटी गणना गर्दा नेपाली रुपैया ७ लाख २५ हजार र भारतीय रुपैया २ लाख ८४ हजार १८८ गरी ११ लाख ८१ हजार ७५ रुपैया जम्मा भएको हो ।

 यसैगरी २०८१ सालकै चैत्र १८ गते गणना गर्दा नेपाली रुपैया ३ लाख ५५ हजार ६० र भारतीय रुपैया २१ हजार ८६० गरी ३ लाख ९० हजार १०३ रुपैया संकलन भएको छ । यस्तै, २०८२ सालको बैशाख ८ गते मुक्तिनाथको भेटी बाँकस गणना गर्दा ६ लाख ७५ हजार १९५ रुपैया र १ लाख ८६ हजार ६४० रुपैया भारतीय गरी ९ लाख ७४ हजार ३९६ रुपैया संकलन भएको समितिका सदस्य सचिव अर्यालले उल्लेख गर्नुभयो ।

यसैगरी मुक्तिनाथ विकास समितिको नाममा भक्तजनहरुले रसिद काँटेर नगद दान गरेको रकम  गतवर्षको असारमा करिव ८६ लाख र चालु वर्ष करिव ५० लाख रकम समिति कोषमा जम्मा भएको मुक्तिनाथ विकास समितिका चन्दा संकलन गर्ने कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो ।

मुक्तिनाथ विकास समितिले मन्दिरमा जम्मा हुने भेटी रकम मध्ये भारतीय र अन्य विदेशी मुद्धा सटही र व्यवस्थापनमा समस्या पर्ने गरेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो । भारतीय र अन्य विदेशी मुद्धामा समितिको नाममा रहेको बैंकमा जम्मा गर्न अप्ठ्यारो परेकाले निकै ठुलो विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन भएको सदस्य सचिव अर्यालके भनाई छ । पछिल्लो पटक गणना भएको भारतीय र अन्य विदेशी मुद्धा मालपोत कार्यालय प्रमुख एवं सदस्य सचिव अर्यालको जिम्मा राखिएको छ ।

मुक्तिनाथ विकास समितिले गत आव २०८०÷०८१ मा लेखा परीक्षण गराउँदा समितिको कोषमा ९ करोड ११ लाख रकम मौज्याद रहेको जनाईएको छ । समितिले मुत्तिनाथमा भक्तजनहरुबाट संकलित रकम  जिल्लाका ५ वटा बैंकमा जम्मा गर्ने गरेको सदस्य सचिव अर्यालले उल्लेख गर्नुभयो ।

मुक्तिनाथ विकास समिति अनौपचारिक रुपमा गठन भएको धेरै वर्ष पुगेपनि औपचारिक रुपमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी २०६४ सालमा औपाचारिक रुपमा संस्थागत हिसाबले गठन भएको थियो । समिति गठन भएको १७ वर्ष बितिसक्दा समेत भक्तजनबाट उठेको रकमले कर्मचारीलाई तलब भत्ता खुवाउने र रसिद छपाईका कामहरु बाहेक अन्य कुनै कार्य गर्न सकिरहेको छैन ।

 मुक्तिनाथ विकास समिति गठन भएको १७ वर्षसम्म समितिको एउटा पनि साधारण सभा बैठक बसेन । मुक्तिनाथ विकास समिति लामो समयसम्म निस्क्रिय हुँदा मुक्तिनाथमा भक्तजनहरुले चढाएको भेटी रकम सुदपयोगमा ल्याउन कानुनी जटिलताहरु उत्पन्न भएको थियो ।

समितिलाई गतिशील र चलायमान बनाएर मुक्तिनाथको समग्र विकासमा काम अघि बढाउने गरी गत मसिर १६ गते मुक्तिनाथ विकास समिति पुर्नगठन गरिएको थियो । मुक्तिनाथ विकास समितिको साधारण सभाले (पहिलो विधान सशोधन) २०८१ को दफा १३ बमोजिम प्रमृख जिल्ला अधिकारीको अध्यक्षतामा समिति पुनर्गठन गरिएको थियो । संघीय सरचनामा रहेर पुनर्गठन गरिएको कार्यसमितिमा ३१ सदस्य छन । समिति पुनर्गठन भएसंगै मुक्तिनाथ विकास कोषको रकम चलायमान हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया