कोरलानाकाबाट भित्रिए सय विद्युतीय सवारी ,पहिलो महिनामा उठ्यो २९ करोड राजश्व

नेपाल—चीन उत्तरी कोरलानाका हुँदै चिनिया बिवाईडी कम्पनीको अटो थ्रि मोडेलको एक सय बिद्युतीय सवारी (ईभी) गाडी नेपाल भित्रिएका छन् । चालु आव २०८३/०८४ को पहिलो साउन महिनामा साईमेक्स ईनले एक सय बिद्युतीय सवारी साधन नेपाल भित्र्याएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

 उपल्लो मुस्ताङको लोमान्थाङ—४ न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयबाट भन्सार चेकजाँच भई पैठारी गरिएका बिद्युतीय सवारीहरु गन्तब्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार साईमेक्स ईन कम्पनीले चीनबाट करिव एक हजार बढी बिद्युतीय सवारी नेपाल भित्र्याउने तयारी योजना राखेको छ । चालु वर्षको पहिलो लटमा साईमेक्स ईनले कोरलानाकाबाट उक्त संख्यामा बिद्युतीय सवारी नेपाल भित्र्याएको भएपनि अब दोस्रो लटमा पैठारी गरिने बिद्युतीय सवारी कुन नाकाबाट भित्रन्छन  भन्ने एकिन जानकारी  प्राप्त भईनसकेको भन्सार प्रमुख चुडालको भनाई छ । कोरलानाका हुँदै गत आव २०८२÷८३ मा करिव तीन हजार बिद्युतीय सवारी नेपाल भित्रिएको भन्सार प्रमुख चुडालको भनाई छ ।

 यसैगरी चालु आवको साउनदेखि हालसम्म दैनिक आठदेखि दश वटा मालवस्तु पैठारी गरिएका मालबाहक कन्टेनरहरुको भन्सार जाँचपास भईरहेको कार्यालयले उल्लेख गरेको छ । मनसुनका कारण तातोपानी नाका पूर्ण रुपमा बन्द भएको र रसुवागढी नाका आशिक रुपमा बन्द भएकाले यहाँको नेपाल—चीन उत्तरी कोरलानाकाबाट मालवस्तु पैठारी गर्ने कन्टेनरहरुको संख्या बढ्दै जान थालेको भन्सार प्रमुख चुडालले बताउँनुभयो ।

 आव २०८३/०८४ को पहिलो साउन महिनामा मुस्ताङ भन्सार कार्यालयले कोरलानाका हुँदै चीनबाट पैठारी गरिएका बिद्युतीय सवारी र मालवस्तु पैठारी वापत २९ करोड रुपैया राजश्व संकलन गरेको भन्सार प्रमुख बिदुर चुडालले उल्लेख गर्नुभयो ।चालु वर्षको साउन महिनामा ५७ वटा मालवस्तु वाहक कन्टेनरको भन्सार जाँचपास भएको जनाईएको छ ।

 मुस्ताङ भन्सार कार्यालयले चालु आवको बाह्र महिनामा नौ अर्ब बढी राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गतवर्षको भदौ ३१ गतेदेखि बैकल्पिक रुपमा सञ्चालन हुँदै आईरहेको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले  ६ अर्ब ९२ करोड रुपैया राजश्व संकलन गरेको थियो । 

 उपल्लो मुस्ताङको कठिन भूगोल ,प्रतिकूल मौसमका बावजुद पर्याप्त भन्सार पूर्वाधार नहुँदा समेत सीमित भन्सार जनशक्तिले भन्सार जाँचपास लगायतको कार्यसम्पादन गर्देआईरहेका छ । बर्सेनि अरबौ रुपैया राजश्व संकलन गर्ने मुस्ताङ भन्सार कार्यालयका लागि सरकारले वातावरणमैत्री भन्सार पूर्वाधार पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न नसक्दा सीमा क्षेत्रमा बसेको भन्सार कार्यालयका कर्मचारीलाई निकै ठुलो समस्या देखिएको छ ।

प्रतिक्रिया