तीन गाउँले थकालीको त्युङ्लामा थकाली गितको दोहोरी


जोमसोम— मुस्ताङका तीन गाउँले थकाली समुदायहरुको महान पर्व ‘त्युङ्ला’ शुक्रबारदेखि सुरु भएको छ । मुस्ताङमा बसोबास गर्ने तीन गाउँले थकालीहरुको महान पर्व त्युङ्ला तिब्बतीयन पात्रो अनुसार त्युङ्लाको छेव चौध तिथीदेखि तेस्रो महिनाको छेव एकसम्म विभिन्न धार्मिक क्रियाकलाप गरी मनाईने प्रचलन छ ।

मुस्ताङको घरपझोङ—१ चिमाङ, घरपझोङ—३ स्याङ र घरपझोङ—५ ठिनीमा बसोबास गर्ने तीन गाउँले थकाली समुदायको महत्वपूर्ण पर्वको रुपमा रहेको त्युङ्ला पर्व मुस्ताङबाट बसाईसराई गरी अन्य जिल्लाका गएका र अस्थायी बसोबास गरेका तीन गाउँले थकालीहरुले पनि आ—आफ्नो ठाउँमा यो पर्व मनाउँने गरेको पाईएको छ । मुस्ताङको ठिनी,स्याङ र चिमाङ गाउँमा तिन गाउँले थकालीहरुले एकआपसमा भेला भई ‘त्युङ्ला’ पर्व मनाउँने गर्छन् ।

तीन गाउँले थकाली समुदायका प्रत्येक घरधुरीले त्युङ्ला पर्व नजिकिदै गर्दा आ—आफ्ना घरआगन चिटिक्क सिंगार्ने  र घरभित्र रहेका भाडा वर्तन धोई पखाली सफा बनाएर राख्ने गरिन्छ । ‘त्युङ्ला’ पर्वमा देश विदेशमा बसोबास गर्ने तीन गाउँले थकालीहरु पर्व मनाउँन गाउँ फर्किन्छन् ।

त्युङ्लाको शाब्दिक अर्थ तिब्बतीयन पात्रो अनुसार दोश्रो महिना हो । बर्सेनि दोस्रो महिनामा पर्व मनाईने भएकाले यसलाई तीन गाउँले थकाली समुदायले ‘त्युङ्ला’ पर्व भनेर मान्ने गरिएको हो । त्युङ्ला पर्वको सुरुवाती दिन तिब्बती पात्रो अनुसार छेव चौधमा तिन गाउँले थकाली समुदायले तारो हान्ने खेलको काठको धसा थाप्ने कार्य सम्पन्न गरे । तारो हान्ने खेलको धसा थाप्ने दिन छेव चौध तिथिमा ठिनी,स्याङ  र चिमाङ गाउँका तीन गाउँले थकाली समुदायले आफुहरुले मान्ने विभिन्न देवी देवताहरुलाई थकाली गीत गाउँदै बोलाएर तारोको धसामा प्राणप्रतिस्ठान सम्पन्न गरे ।
यसरी धसामा देवी देवतालाई प्राणप्रतिस्ठान गर्न थकाली समुदायका धरो पाङ्चा ९केटा० र उईमेन ९केटी०हरुले थकाली भाषामा गीत गाउँदै देवीदेवतालाई आमन्त्रण गर्ने गर्छन् । धसालाई थकाली सांस्कृतिक प्रचलन अनुसार धार्मिक विधि अपनाएर पुजाआजा गर्छन् । यसरी धसालाई पुजा गर्ने र धसामा देवीदेवताहरुलाई प्राणप्रतिस्ठान गरिसकेपछि मात्र तीन गाउँले थकाली समुदायले तारो हान्ने खेलको औपचारिक रुपमा सुरुवात गर्ने प्रचलन छ ।  पर्वको पाँचौंदिन तीन गाउँले थकालीहरुले तारोको धसामा प्राणप्रतिस्ठान गरिएका देवीदेवतालाई खुसी पार्न  छ्याङ रक्सी ,उवा र खानेकुरा चढाउने चलन रहेको ठिनी गाउँका स्थानीय आमप्रसाद थकालीले जानकारी दिए ।
तीन गाउँले थकाली समुदायले त्युङ्ला पर्वको अवसरमा तीनदिनसम्म आफ्ना दिवंगत पितृहरुलाई खुसी पार्न बिहान र बेलुकीको समयमा पितृ  पुजा गर्ने गरिन्छ । उनीहरुले पितृ पुजासंगै कुल पुजा अर्थात ९खिमी छेवा० पुजा गर्ने प्रचलन रहेको स्थानीय आमप्रसाद थकालीको भनाई छ । 
 त्युङ्ला पर्व तीन गाउँले थकालीहरुको एक मात्र महान पर्व भएकाले पर्वलाई तीन गाउँले थकालीले हर्षउल्लासले मनाउँने ठिनी गाउँका मुखिया संञ्जय थकालीले जानकारी दिए । ‘त्युङ्ला पर्वको पितृ तथा कुल पुजा गर्ने तिथिमा बिवाह गरेर कर्म घर गएका चेलीहरु माईती भेट्न आउँछन्, यसरी आउँदा उनीहरुले फलफुल,रोटी,खानेकुरा ,छ्याङ रक्सी ९फुभ्याङ० लिएर आउँछन्,’ मुखिया थकालीले भने,‘ अंशबण्डा भई अलग्गै छुट्टिएर बसेका भाईहरु पनि पितृलाई चढाउँने विभिन्न खानेकुरा लिएर मुल घरमा जान्छन् । माईती भेट्न आएका चेलीले लिएर आएका खानेकुरा र छुट्टिएर बसेका भाईहरुले ल्याएका प्रसादहरु सबै दिवंगत पितृलाई चढाईने गरिन्छ ।’
त्युङ्ला पर्वमा माईतीघर आएका चेलीहरु र भाईहरुलाई मुल घर र माईती पक्षले आर्शिवाद र दक्षिणा दिएर बिदा गर्छन् । छेव चौधको सुरुवाती ३ दिनसम्म पितृ पुजा गर्ने र पितृलाई चढाईएका खानेकुरा पितृ पुजा सकिएपछि पितृहरुको अस्तु राखेको ठाउँ ९फु छेव०मा लगेर बिर्सजन गर्ने गरिन्छ ।
 तिब्बती पात्रोको त्युङ्ला महिनाको छेव चौधदेखि तेस्रो महिनाको छेव एकसम्म मनाईने त्युङ्ला पर्व दुई सातासम्म चल्ने ठिनी गाउँका स्थानीय आईतबहादुर थकालीले उल्लेख गरे । त्युङ्ला पर्वको तिथि २२ मा तीन गाउँले थकालीहरुले आफ्नो खेतबारीमा पुगेर प्रकृति पुजा गर्ने गर्छन । यसरी प्रकृति पुजा गर्नुअघि तीन गाउँले थकाली समुदायका धरो पाङ्चा ९केटा० र उईमेन ९केटी०हरुले थकाली भाषामा प्रकृतिको गीत गाउँदै खेतबारीमा पुग्छन् । खेतबारीमा पुगेपछि अन्नबाली सप्रियोस,रोगकिरा नलागोस,असिना नपरोस ,उत्पादन राम्रो होस् भन्ने कामना गर्दै खेतबारीको मध्यभागमा धोपी गाँडेर प्रसाद चढाई पुजापाठ गर्ने गर्छन् ।
यसैगरी त्युङ्लाकै अवसरमा प्रकृति पुजा गरेको भोलीपल्ट थकाली गित गाउँदै खेतबारी ९स्हिनकोर० घुम्ने गरिन्छ । यसरी खेतबारी घुमेको पर्सीपल्ट तिथि २५ मा नाङ्खोर अर्थात गाउँ भित्र मात्र थकाली गीत गाउँदै परिक्रमा गर्ने गरिन्छ । यसरी गाउँ परिक्रमा गरिसकेपछि तीन गाउँले थकाली समुदायका ज्येष्ठ नागरिकहरुले गाउँ परिक्रमा गर्ने टोलीलाई आर्शिवाद दिन्छन् ।उईमेन९केटी०हरुले पनि थकाली गीतबाट आर्शिवाद दिन्छन् ।
त्युङ्ला पर्वको पाँचौ दिन तिथि १८ मा पितृ पुजा बिर्सजनसंगै तीन गाउँले थकाली समुदायका महिला र पुरुषहरुले थकाली भाषामा दोहोरी गाए । हिमाली जिल्ला मुस्ताङमा फूल्ने विभिन्न फूलहरुको नाम,महत्व,परिचय र फूलको प्रयोग लगायतका बिषयमा प्रश्नोउत्तर शैलीमा थकाली भाषामा दोहोरी गित गाएका हुन् । सदिंयौ वर्षदेखि परम्परागत रुपमा मनाईने गरिएको तीन गाउँले थकाली संस्कृतिलाई संरक्षण,संम्वद्धन र जर्गेना गर्न तीन गाउँले थकालीहरु निकै अग्रसर रहेको देखिन्छ । भाषा र संस्कृति लोप हुनसक्ने भन्दै थकाली कलासंस्कृति र मौलिकतालाई पुस्तान्तरण गर्न आवश्यक रहेको घरपझोङ—५ का वडाध्यक्ष प्रदिप थकालीले उल्लेख गरे ।
मुस्ताङमा तिन गाउँले थकाली समुदायले त्युङ्ला पर्व मनाए झै अन्य थकालीहरुले तोरन्ल्ह र तेरमी पर्वको रुपमा यसप्रकारको पर्व मनाउँने प्रचलन छ ।

फोटो क्याप्सन ः गोलागार भई त्युङ्ला पर्वको अवसरमा थकाली भाषामा दोहोरी खेल्दै तिन गाउँले थकाली पुरुष तथा महिलाहरु । तस्विर ःसुन्दरकुमार थकाली


प्रतिक्रिया