सुरक्षाकर्मीले पन्छ्याए मुक्तिनाथको हिउँ


जोमसोेम—मुक्तिनाथ मन्दिर परिसरमा जमेको हिउँ प्रहरीले पन्छ्याएका छन् ।बिहिबार राति परेको हिमपातले मुक्तिनाथ मन्दिर परिसर हिउँले सेताम्मे बनेको थियो । मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरुको सहजताका लागि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मुक्तिनाथको हिउँ पन्छ्याईएको हो ।


बिहिबार राति उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डसहित मुक्तिनाथ क्षेत्रमा हिमपात भएको थियो । हिउँदयाम सकिएर गर्मीयामको सुरुवाती चरणमा बेमौसमे हिमपात भएको हो । मुक्तिनाथ परिसरमा हिउँ जमेका कारण मुक्तिनाथ दर्शन गर्ने भक्तजनलाई आउजाउमा समस्या परेको थियो । 


ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट प्रहरी सहायक निरीक्षक गिरुप्रसाद पौडेलको कमाण्डमा ९ जनाको प्रहरीले टोलीले दुईदिन खर्चेर मुक्तिनाथ परिसरको हिउँ पन्छ्याएर आवत÷जावतमा सहज बनाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।



प्रहरी टोलीले मुक्तिनाथ जाने रेलिङसहितको सिंढी बाटो,विश्राम स्थल,कुण्ड,१०८ धाराको परिसर लगायतमा हिउँ पन्छ्याउँदै सरसफाई गरेका हुँन् । फागुन लागेसंगै मुक्तिनाथ दर्शन गर्न जाने पर्यटक विस्तारै बढ्न थालेका छन् ।


प्रतिक्रिया