उपल्लो मुस्ताङमा नागरिकता वितरण सेवा सुरुवात

जोमसोम ।

यहाँको ईलाका प्रशासन कार्यालय लोमान्थाङले सोमबारदेखि उपल्लो मुस्ताङका स्थानीय नागरिकहरुका लागि नागरिकता वितरण सेवा सुरुवात गरेको छ । उपल्लो मुस्ताङको ईलाका प्रशासन कार्यालयमा आजैबाट पहिलो पटक नागरिकहरुलाई नागरिकता वितरण तथा प्रतिलिपी उपलब्ध गराउने सेवा प्रारम्भ गराईएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

यसअघि त्यहाँका स्थानीय नागरिकहरुले सम्वन्धित गाउँपालिकाको वडा कार्यालयको सिफारिस पत्र लिएर मुस्ताङ सदरमुकाम जोमसोम धाउनु पर्ने बाध्यता थियो । यहाँ जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा ईलाका प्रशासन कार्यालयबाटै नागरिकताको प्रमाणपत्र तथा प्रतिलिन पाउँने व्यवस्था गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले जानकारी दिनुभयो ।

यहाँको ईलाका प्रशासन कार्यालयमा लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छयुमी बिष्ट र शाखा अधिकृत बमबहादुर नेपालीबाट संयुक्त रुपमा पहिलो पटक नागरिकता वितरण सम्वन्धि सेवा प्रारम्भ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले बताउँनुभयो ।

 उपल्लो मुस्ताङ स्थित ईलाका प्रशासन कार्यालयबाट सेवा प्रारम्भ भएको पहिलोदिन एक जनालाई नयाँ नागरिकता प्रमाणपत्र र अर्को चार जनालाई नागरिकताको प्रतिलिपी उपलब्ध गराई सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी परियारको भनाई छ 

यहाँको उपल्लो मुस्ताङको ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण सेवा सुरुवात भएकाले यसले यहाँका नागरिकहरुका लागि निकै ठुलो राहत पुगेको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छयुमी बिष्टले उल्लेख गर्नुभयो । यहाँको यसप्रकारको सेवाले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका नागरिकहरुलाई जोमसोम पुगेर सेवा लिने बाध्यताको अन्त्य भएको बताउँनुभयो 

यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले यहाको ईलाका प्रशासनको नागरिकता वितरणको सेवाले समयको बचत, आर्थिक भार कम र सानोतिनो कामको झन्झट सास्ती व्यवहोर्नु पर्ने अवस्थाको अन्त्य भएको बताउँनुभयो । यसप्रकारको सेवा बाह्रै महिना निरन्तर सुचारु हुनुपर्ने अध्यक्ष बिष्टको भनाई छ ।


प्रतिक्रिया