कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

उत्तर÷दक्षिण जोड्ने कालिगण्डकी करिडोर अन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गको उत्कृष्ट नमूना गन्तब्य बनाउने सरकारको लक्ष्य रहेको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेल (गनेश)ले बताउँनु भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आईतबार बिहान यहाँ आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन सम्वन्धी   छलफल तथा अन्तरक्रियाँमा मन्त्री पौडेलले यस्तो बताउँनु भएको हो ।

 मन्त्री पौडेलले कालिगण्डकी करिडोर अन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडक जतिसक्दो छिटो स्तरोन्नति गरी पर्यटकीय राजमार्गको उत्कृष्ठ नमूना गन्तव्यको रुपमा विकशित गर्ने सरकारको योजना रहेको खुलासा गर्नुभयो । आर्थिक समृद्धीको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरला राजमार्ग सडकलाई पर्यटन राजमार्गको स्थापित गरिने उल्लेख गर्नुभयो ।

 उच्च हिमाली क्षेत्रमा हिमाली हाईवे सडकको कन्सेप्टमा रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको मन्त्री पौडेलको भनाई छ । यसका लागि मुस्ताङ—डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री पौडेलले जानकारी दिनुभयो । मुस्ताङ जिल्ला रहस्यीमय अथाह सम्पदाले भरिपूर्ण पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै यहाँ आएका सबै खाले पर्यटकको सम्मान र सत्कार गर्ने अभ्यासको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । नेपालमा उच्च, मध्यम र निम्न स्तरका पर्यटकहरु घुम्न आउने भएकाले सबैखालका पर्यटकहरुले सबै स्तरका व्यवसायीहरुलाई फाईदा पुग्ने मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

 मुस्ताङमा साहाकारी होटल तथा रेष्टुरेन्टहरुको सम्भाव्यता अध्ययनका लागि मुस्ताङ आएको बताउँदै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री पोडेलले मुस्ताङ जिल्ला र बेनी—जोमसोम—कोरला सडकमार्गका केही स्थानमा साहाकारी भोजनालय संञ्चालन गर्नुपर्ने आवश्यक देखिएको बताउँनुभयो । मुक्तिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकहरुले साकाहारी होटल र रेष्टरेन्ट नहुँदा आफैले खानेकुरा र बन्दोवस्तीका सामान लिएर आउँदा फोहोर व्यवस्थापन चुनौति बनेको मन्त्री पौडेलले खुलाउनुभयो ।

 जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित पर्यटनसंग सम्वन्धी बहुसरोकारवालाहरुको छलफल तथा अन्तरक्रियाँमा मन्त्री पौडेलले उच्च उचाईको मुक्तिनाथ क्षेत्रमा लेंक लागेर पर्यटकहरु बिरामी हुने समस्या जटिल बन्दै गईरहेकाले यसको समाधानका लागि पर्यटक टाईम कार्ड लागु गर्न सरोकारवाला निकायलाई सुझाउनु भएको छ । एकैदिन बेसीबाट मुक्तिनाथ पुगेर फर्किने भएकाले लेंक लाग्ने समस्या जटिल बनेको उल्लेख गर्दै मन्त्री पौडेलले  मुस्ताङका विभिन्न स्थानमा पर्यटकहरुलाई होल्डिङ गर्न पर्यटक टाईम कार्ड आवश्यकता रहेको मन्त्री पौडेलको भनाई छ ।

 मुस्ताङमा पर्यटक आवागमन संख्या बर्सेनि वृद्धि भईरहेको उल्लेख गर्दै मन्त्री पौडेलले अब  यहाँको पर्यटक स्थलको प्रर्वद्धन तथा नयाँ गन्तब्यहरुको प्रचार÷प्रसार गरी पर्यटकको बसाई लम्याउन सकेमा यहाँको पर्यटन क्षेत्रलाई निकै ठुलो फाईदा पुग्ने मन्त्री पौडेलले बताउँनुभयो ।‘मुस्ताङलाई कम्तिमा तीन दिन बस्नुपर्ने बनाउनुपर्छ, यसका लागि प्याकेज बनाएर अघि बढ्नु होला, मन्त्री पौडेलले भन्नुभयो,‘ यसरी प्याकेज बनाएर सेवा प्रवाह गरेर मुक्तिनाथ मन्दिरलाई अन्तिम गन्तव्य बनाउँनुपर्छ ।  मन्त्री पौडेलले भारतीय पर्यटकसहित अन्य विदेशी पर्यटकहरुले मुस्ताङ घुम्न प्रथप्रर्दशक (गाईड) चाहिने अनिवार्यता लागु गर्न सुझाउनुभयो । 

 मन्त्री पौडेलले उपल्लो मुस्ताङको लोमान्थाङ र त्यसआसपासका क्षेत्रहरुलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने गरी सरकारले गृहकार्य थालेको बताउँनुभयो । पर्खालले घेरिएको लोमान्थाङ दरबार आसपासका क्षेत्र धार्मिक र ऐतिहाँँसिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण रहेकाले लोमान्थाङ क्षेत्रलाई विश्व पर्यटनको सूचिमा सूचिकृत गर्ने योजना रहेको बताउँनुभयो ।

 हिन्दु तथा बौद्धमार्गीहरुको धार्मिक साझा तिर्थस्थललाई थप व्यवस्थित र परिस्कृत गरिदै लैजानु पर्ने बताउँनुभयो । ‘ मुक्तिनाथमा हालको व्यवस्थापन सन्तोषजनक देखिदैन,धेरै सुधार गर्नुपर्ने मैले महशुस गरेको छु , मन्त्री पौडेलले भन्नुभयो ‘ चेन्जिङ रुमलाई फराकिलो र व्यवस्थापन गर्न सकेमा मुक्तिनाथमा रोजगारी र मुक्तिनाथको आम्दानी वृद्धि गर्न सकिन्छ ।’’ देवीदेवता र भारतीय स्वामीका साथै बौद्ध धर्मका प्रख्यात भिक्षु ईकाईकावागुचीले भ्रमण गरेको मुस्ताङ जिल्लालाई वातावरणमैत्री र स्वच्छता कायम राख्न सचेत भएर लाग्नुपर्ने सुझाउनु भयो ।

 मुक्तिनाथको बृहत्तर विकासमा सरकारको प्राथमिकतामा रहेको उल्लेख गदै मन्त्री पौडेलले मुक्तिनाथ विकास समितिको हालको संरचना प्रभावकारी नदेखि त्यसको पूनगर्ठन गर्न सरकारले सहयोग गर्ने बताउँनुभयो । मुक्तिनाथको संस्थागत सुधारका लागि यहाँको नागरिक समाज,स्थानीय सरकार, उद्योग वाणिज्य संघले  सहमति गरेमा मुक्तिनाथको  पुनगर्ठन गर्ने तर्फ सरकारले अग्रसरता दिने बताउँनुभयो ।

 बर्सेनि लाखौ लाख पर्यटकहरुले मुस्ताङ जिल्लामा भ्रमण गर्ने भएकाले पर्यटक व्यवस्थापन चुनौति देखिएको र यसको समाधान र व्यवस्थापनका लागि सरकार प्रतिवद्ध रहेको मन्त्री पौडेलले बताउँनुभयो ।  सरकारले पर्यटक प्रहरीको व्यवस्थापनका लागि छुट्टै विभाग रुपमा विकास गर्न थालिसकेको उल्लेख गर्दै झन्डै पन्ध्र सय भन्दा बढी पर्यटक प्रहरीको जनशक्ति सिर्जना गर्ने तयारी भईरहेको उल्लेख गर्नुभयो । पर्यटक प्रहरी अपुग भएको भए माग गरेमा तुरुन्तै त्यसको व्यवस्थापन गर्न सरकार तयार रहेको मन्त्री पौडेलको भनाई छ । सरकारले पर्यटन प्रहरीको अवधाराण तयार गरिसकेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

 मुस्ताङमा पर्यटन वृद्धिसंगै फोहोर व्यवस्थापन चुनौति बन्दै गईरहेको औल्याउँदै मन्त्री पौडेलले स्थानीय सरकार र सरोकारवालाहरुले फोहोर व्यवस्थापनका लागि ठोस प्रस्ताव र योजना ल्याएमा सरकारले सहयोग पु¥याउने जनाउँनुभयो । 

 जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना भएको पर्यटन विकास सम्वन्धी छलफल झन्डै दुई घण्टा चलेको थियो । छलफलमा यहाँका विभिन्न पर्यटन सम्वन्धी संघसंस्था र व्यवसायीहरुले पर्यटन क्षेत्रका संम्भावना,समस्या र चुनौतिहरुका बिषयमा मन्त्री पौडेलको ध्यानाकर्ष गराएका थिए ।

प्रतिक्रिया