जोमसोममा-
हिमाली जिल्ला मुस्ताङमा आकस्मिक बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र घरपझोङ गाउँपालिकाको संयुक्त आयोजनामा बिहिबार मुस्ताङ सदरमुकाम जोमसोममा बजार आकस्मिक छड्के अनुगमन गरिएको हो ।
पर्यटकीययामको बेलामा जिल्ला भित्रिने पर्यटक तथा स्थानीय नागरिकहरुको स्वास्थ्य रक्षाका लागि प्रशासन र पालिकाको संयुक्त टोलीले जोमसोम बजारका कुल २१ वटा खाद्य तथा मासु पसलहरुमा आकस्मिक छड्के बजार अनुगमन गरिएको हो । स्वच्छ,स्वस्थ र गुणस्तरीय खाद्य तथा पेय पदार्थ उपयोग गर्न पाउँने उपभोक्ता अधिकारी संविधानलेनै सुनिश्चित गरेको छ । यसै उद्देश्यका साथ मुस्ताङमा प्रशासन र पालिकाको अगुवाईमा बजार अनुगमन गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले जानकारी दिनुभयो ।
अनुगमनमा पर्यटन तथा नागरिक उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय,कृषि ज्ञान केन्द्र मुस्ताङ, भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र मुस्ताङ, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ मुस्ताङ र नागरिक समाज मुस्ताङ लगायतको संयुक्त टोलीले जोमसोम बजारमा आकस्मिक छड्के बजार अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी परियारले बताउँनुभयो ।
मुस्ताङका सहायक प्रजिअ नन्दराम परियार र घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकालीको नेतृत्वमा मुस्ताङको जोमसोममा २१ वटा खाद्य ,तरकारी तथा मासुपसलमा आकस्मिक छड्के बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका ४३ प्रकारका अखाद्य पदार्थ बरामद गरी सरोकारवाला निकायहरुको उपस्थितमा खाल्डो खनी नष्ट गरिएको घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकालीले बताउनुभयो ।
मुस्ताङका सहायक प्रजिअ नन्दराम परियारले उत्पादन भएका खाद्य तथा पेय पदार्थको गुणस्तर पहिचान गर्ने, उत्पादन मिति र अवधि हेर्ने र बिक्रेतबाट कैफियत देखिएमा जफत गरी नष्ट गर्ने उद्देश्यले बजार अनुगमन गरिएको उल्लेख गर्नुभयो । अनुगमनका क्रममा व्यवसायीबाट कमजोरी देखिएमा सचेत गराउने र पटक÷पटक कमजोरी दोहोरिएमा कानुन बमोजिमको कारवाही प्रक्रिया अघि बढाउने गरी बजार अनुगमन भएको सहायक प्रजिअ परियारको भनाई छ ।
बजार अनुगमनका क्रममा व्यवसायीहरुले पसलहरुमा साईनबोर्ड राखेको÷नराखेको, व्यवसाय दर्ता तथा नवीकरण, मूल्य सूचि राखेको वा नराखेको, लगबुक रजिस्ट्रार राखेको÷नराखेको, खरिद बिल तथा उपभोक्तालाई दिइने बिल, सरसफाइ, मदिराको मूल्य अभिवृद्धि करको प्रमाणपत्र दर्ता तथा नवीकरण गरे÷नगरेको, स्वदेशी तथा विदेशी र स्थानीय मदिराको पेय पदार्थमा अन्तशुल्क स्टिकर राखेको वा नराखेको, खाद्य सामग्रीको लेबल चेकजाँच, नापतौल चेकजाँच र व्यवसायले पान वा भ्याट बिल प्रयोग गरेको वा नगरेको लगायतको अनुगमन गरेको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
अनुगमनका क्रममा व्यवसायीको पसलमा भेटिएका अखाद्य तथा पेय पदार्थ जोमसोम स्थित कालिगण्डकी नदी छेउमा खाल्डो खनी पुरेको छ । टोलीले व्वसायीलाई आफ्नो पेशा, व्यवसाय सञ्चालन गर्न चाहिने आवश्यक कागजात राख्न, नवीकरण गर्न, सरसफाइ र बिल प्रयोग गर्न समेत सुझाएको छ ।