जोमसोम—६ महिना गाउँ र ६ महिना गाउँ बाहिर बस्नु पर्ने मुस्ताङको साङ्ता गाउँका नागरिकको विद्यमान दिनचर्या हो । अत्यधिक चिसोका कारण त्यहाँका नागरिक हिउँदमा गाउँ बाहिर र बर्खायाम गाउँमा बसेर अहिलेसम्म थाकथलो धानिरहेका छन् ।
२०२२ सालमा सरकारले पत्ता लगाएको वारागुङ मुक्तिक्षेत्र—५ साङ्ता गाउँको सरकारी सूचिकृत ईतिहाँस ६ दशक मात्र पुगेको छ ।यसैले यो गाउँलाई नेपालकै सबैभन्दा कान्छो गाउँ समेत भन्ने गरिएको छ ।
यो वस्ती मुस्ताङ र डोल्पाको सीमानामा पर्छ । भिरालो सतहमा अवस्थित मुस्ताङको साङ्ता वस्तीमा १३ घरधुरीको मात्र वसोवास छ । गत स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा यहाँ जम्मा ३४ जना मात्र मतदाता थिए ।
भिरालो सतहमा परम्परागत ढुंगा र माटोले बनेका गुजमुच्च एकतले घरहरुले अभाव,अशिक्षा र गरिवी रेखामुुनी रहेको वास्तविक दृष्यलाई छुताछुल्ल पारिदिन्छ । साङ्ता गाउँ एक यस्तो गाउँ हो जहाँ मुस्ताङको ९६ गाउँवस्ती मध्ये अत्यन्तै पीछडिएको गुमनाम वस्तीका रुपमा लिने गरिन्छ । वारागुङ मुक्तिक्षेत्र—५ को एउटै वडामा पर्ने फल्याक र धार्काजुङ गाउँहरुमा विकास लहर पुग्दा यो गाउँमा अझैसम्म पनि बिजुली र सञ्चारको सुविधा पुग्न सकेको छैन । निर्वाचनका बेला बिजुली र संञ्चार,स्वास्थ्य,शिक्षा र सिंचाईको पूर्वाधार ल्याईदिने नेताहरुका ठुला ठुला आश्वासन पनि अहिले उनीहरुका लागि मित्थ्या सावित भईरहेको छ ।
साङ्ता गाउँमा अहिले २ जना नाबालक र ४०÷५० जना युवा र ज्येष्ठ नागरिक छन् । गाउँमा कुनै सूचना प्रवाह गर्नुप¥यो भने टेलिफोन नहुँदा उनीहरुले निकै सास्ती भोग्नु पर्ने अवस्था छ । गाउँमा कुनै बिरामी पर्दा स्वास्थ्य चौकी छैन । गाउँमा बिजुली नपुग्दा बिद्युतीय माध्यमबाट प्राप्त गर्ने सकिने विभिन्न प्रकार सामान्य सेवा सुविधा समेत अहिले सम्म साङ्ता गाउँका नागरिकले पाउँन सकेका छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले मुस्ताङको साङ्ता गाउँमा आफ्नै वडामा पर्ने भएपनि चाहेर पनि विकास गर्न नसकेको बताए । उनले साङ्ता गाउँमा अझै पनि विद्युत र संञ्चार सेवा पुग्न नसकेको जानकारी दिए ।‘हामीले निरन्तर विद्युत र सञ्चार सुविधाका लागि पहल गरिरहेका छौं,तैपनी हाम्रो प्रयास सार्थक हुन सकिरहेको छैन ,वडाध्यक्ष गुरुङले भने, विद्युत प्राधिकरण र नेपाल टेलिकममा यो कुरालाई उठारहेका छौं,तर, उनीहरुबाटै खासै पहल भएको छैन ।
गाउँका सबै घरधुरीले सामान्य खेतीपाती गरेका छन् । केहीले याकचौरी र भेडाच्यांग्रा पालेका छन् । सिजनको बेला यार्सा संकलन गर्छन । सामान्य खेतीपाती र पशुपालन गरी जिविकोपार्जन गर्दैआईरहेका साङ्ता गाउँमा संघीयताले नत विकासले पछ्यायो नत त्यहाँका थाकथलो छाडेर अन्यत्र वस्ती छोडेर जान सक्छन् । जतीसुकै अभाव गरिवीले हेपे पनि उनीहरुका लागि त्यही विकटको गाउँ साङ्ता प्रिय छ । नेपाली शुद्ध र राम्ररी नेपाली भाषा पनि बोल्न नजान्ने साङ्ता गाउँका नागरिकले स्थानीय भाषा मात्र बुझ्दछन् । गाउँमा नयाँ कोही अनुहार आयो भने अशिक्षाका कारण भाषा आदान÷प्रदानमा निकै समस्या हुन्छ ।
साङ्ता गाउँमा अहिले जम्मा २ जना मात्र वालवालिका छन् ।गाउँमा भएका बालबालिकाहरु कतिपय गुम्बा स्कुल र कतिपय डोनर पठाईदिन्छु भनेर अन्यत्र लगेपछि गाउँ नजिकैका एक आधारभुत विद्यालय पनि विद्यार्थी नहुँदा बन्द अवस्था छ ।सीमित खेतीयोग्य जमिनमा साङ्ता गाउँका नागरिकहरुले उवा,जौ,आलु,फापर,मकै र सिमी लगाएर उत्पादन गर्छन ।तर,उनीहरुले उत्पादन गरेको कृषि उपजले बाह्रै महिना थेग्न मुश्किल पर्छ ।
साङ्ता गाउँमा पुग्दा त्यहाँका नागरिकको भेषभुषा र दैनिक निकै कष्ठकर देखिन्छ । गाउमा गरिएको सामान्य कृषि कर्म र पुशपालनले बाह्रै महिना थेग्नुपर्ने बाध्यता उनीहरुमा छ ।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि झन्डै ४० किलोमिटरको दुरीमा रहेको साङ्ता गाउँ भिरालो खोंचमा अवस्थित गाउँ हो । अहिलेको साङ्ता वस्ती स्थान्तरण हुन अघि उनीहरु नजिकैको पारिपट्टी घोक भन्ने स्थानमा बस्थे भन्ने स्थानीयको भनाई छ । त्यहाँ सिचाईको अभाव हुन थालेपछि साङ्तेली गाउँले अहिलेको वस्ती फेरेको हो भन्ने गरिन्छ ।
साङ्ता गाउँका नागरिकको समाजघरको छानो हावाले उडाएर क्षति बनाएपछि अहिलेसम्म उनीहरुले जस्ता फेर्न सकेका छैनन् ।स्थानीय स्तरमा नजिकैको सरकार गाउँपालिका छ । तर, गाउँपालिका पनि त्यो समाजघरको जस्ता फेरिदिन सकेको छैन । गाउँमा योजनाहरु माग गर्न पढेलेखेका नागरिकहरु नहुँदा उनीहरुको आवाज संम्वन्धित निकायमा मुखरित हुन सकिरहेको छैन ।
बुधबार गण्डकी प्रदेश प्रहरी श्रीमती संघको टोली समाजघर छाउने जस्तापाता र स्थानीयलाई न्यानो कपडा ब्ल्याकेट वितरण गर्न साङ्ता पुग्यो । सो अवसरमा उनीहरुले स्वास्थ्य सेवा शिविर पनि चलाए । गण्डकी प्रदेश प्रहरी श्रीमती संघकी सचिव रविना अर्यालले संघको सहयोगमा साङ्ता गाउँको समाजघरको छानो छाउन जस्तापाता र स्थानीयलाई जाडो थेग्न न्यानो कपडा ब्ल्याकेट वितरण गरेको बताईन् । उनले संस्थाले निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्दै पीछडिएको समुदायका साथै बाढीपहिरो ,द्धन्द पीडित र कठिन परिस्थितीमा रहेका समुदायको सेवा सहयोगमा लागि परेको जनाईन् ।
सडक यातायातको सुविधाबाट बञ्चित त्यहाका नागरिकहरु घण्टौ पैदल हिडेर स्वास्थ्य परीक्षण गर्न जोमसोम आईपुग्नु पर्ने समस्यालाई मध्यनजर गर्दै त्यहाँ स्वास्थ्य सेवा शिविर चलाएको हो । स्वास्थ्य सेवासहित राहत कार्यक्रम लिएर साङ्ता गाउँ पुगेको प्रदेश प्रहरी श्रीमतीसंघको टोलीले २४ थान जस्ता पाता र १५ थान न्यानो कपडा ब्ल्याकेट वितरण गरेको हो ।
संघीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ र उपल्लो डोल्पा जा्ड्ने कच्ची सडक साङ्ता गाउँ हुदै याकखर्क सम्मको ट्याक जोडिएको छ । यद्यपी सडक स्तरोन्नतिका क्रममा रहेकाले उपल्लो डोल्पाबाट मुस्ताङ आउजाउ गर्न सहज हुन अझै केहीवर्ष लाग्ने देखिन्छ । समुन्द्री सतहको ४५ सय मिटरको अग्लो उचाईबाट विस्तार गरिएको सडक सम्पन्न हुन सकेमा उपल्लो डोल्पाका नागरिकलाई दैनिक उपभोग्य सामान किनमेल गरी ढुवानी गर्न साङ्ता गाउँको सडक महत्वपूर्ण हुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता