जोमसोम— हिमाली जिल्ला मुस्ताङमा बाह्र महिनाको अवधिमा ४ लाख २५ हजार ९६४ जना पर्यटक भित्रिएका छन् । २०८० को बैशाखदेखि चैत महिनाको अन्तिमसम्म बेनी—जोमसोम सडकमार्ग तथा पोखरा—जोमसोम हवाईमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको रेकर्डका लागि म्याग्दी र मुस्ताङको सीमाना घाँसा प्रहरी चौकीको चेकपोस्ट र हवाईमार्ग हुँदै मुस्ताङ आउनेका लागि जोमसोम नागरिक उड्यन कार्यालयमा कार्यरत सुरक्षाकर्मीले दिनहु पर्यटकको अभिलेख राख्ने गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले बताए । प्रहरीले राख्ने गरेको तथ्यांकमा राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको अभिलेख एक्यापले मात्र राख्ने गरिएको हुँदा प्रहरीको तथ्यांकमा उल्लेख नभएको प्रहरी निरीक्षक विकको भनाई छ ।
विस २०८० को बाह्र महिनामा बेनी—जोमसोम सडकमार्ग हुँदै ४ लाख १४ हजार २८० जना र पोखरा—जोमसोम हवाईमार्ग हुँदै ११ हजार ६८४ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बेनी—जोमसोम सडकमार्ग हुँदै ३ लाख ३५ हजार ४६६ जना नेपाली आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए भने पोखरा—जोमसोम हवाईमार्ग हुँदै १ हजार ८७९ जना नेपाली आन्तरिक पर्यटक मुस्ताङ भित्रिएका थिए । यो अभिलेख अनुसार २०८० को बाह्र महिनामा कुल ३ लाख ३७ हजार ३४५ जना नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
यसैगरी २०८० सालमा सार्क र अन्य मुलुकका गरी कुल ८८ हजार ६१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । जसमध्ये बेनी—जोमसोम सडकमार्ग हुँदै ७८ हजार ८१४ जना र पोखरा—जोमसोम हवाईमार्ग हुँदै ९ हजार ८०५ जना सार्क तथा अन्य मुलुकका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।
मुस्ताङमा विदेशी पर्यटक भित्रिदै गर्दा सबैभन्दा धेरै सार्क मुलुकका पर्यटकको आगमन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकको भनाई छ । प्रहरी रेकर्डमा सार्क मुलुकका ७२ हजार ७५६ जनाले सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका थिए । यसैगरी हवाईमार्ग हुँदै ८ हजार ५५ जना सार्क मुलुकका पर्यटक भित्रिएका थिए ।
यसैगरी सार्कबाहेक अन्य मुलुकका ६ हजार ५८ जना विदेशी पर्यटकले बेनी—जोमसोम सडकमार्ग हुँदै र १ हजार ७५० जना अन्य मुलुकका विदेश पर्यटक पोखरा—जोमसोम हवाईमार्ग हुँदै मुस्ताङ भित्रिएका थिए ।
मुस्ताङमा अधिकाँश नेपाली आन्तरिक तथा भारतीय पर्यटक तथा दर्शनार्थीहरुले मुक्तिनाथको दर्शन गर्ने र कागबेनीधाममा दिवंगत पितृको नाममा श्राद्ध तथा पिण्डदान गरेर फर्किने गरेका छन् । मुस्ताङ भ्रमणमा आउने युवायुवतीहरु भने उपल्लो मुस्ताङको भ्रमण गरी फर्किने गरेको पाईएको छ । मुस्ताङ भित्रिने सार्क तथा विदेश पर्यटकहरु मुक्तिनाथ क्षेत्र र कागबेनी घुमेर फर्किने गर्छन् ।
उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र भ्रमण गर्नका लागि सार्क तथा अन्य मुलुकका विदेशी पर्यटकले नेपाल सरकार अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर शुल्क तिरेपछि मात्र प्रवेशआज्ञा दिने गरिएको छ । उपल्लो मुस्ताङ घुम्न गएका पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनु पर्ने हुन्छ ।
उपल्लो मुस्ताङ भ्रमणका लागि चर्को रोयल्टी शुल्क तिर्नुपर्ने भएका कारण केही भिआईपी पर्यटक बाहेक अधिकाँश विदेशी पर्यटक तल्लो मुस्ताङबाटै फर्किने गर्छन । उपल्लो मुस्ताङीले माथिल्लो क्षेत्रको पर्यटन विकास गर्न निषेधआज्ञा फुकुवा गर्नु पर्ने वा नभए पर्यटन रोयल्टी शुल्क घटाउन सरकारसंग पटक÷पटक माग राख्दै आईरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली