मुस्ताङलाई पर्यटक थेग्न मुश्किल, बुकिङ गरेर मात्रै मुस्ताङ आउन प्रहरीको अनुरोध

तिहारको भाईटिका लगत्तै मुस्ताङका होटलहरु एकाएक पर्यटकले भरिभराउ भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार शुक्रबार (बेनी—जोमसोम) सडकमार्ग हुँदै मुस्ताङ आएका पर्यटकले यहाँका होटलहरु पुरै भरिभराउ भएको जनाएको छ ।

अक्सर बर्सेनि दसै÷तिहार र छठ पर्वसम्म मुस्ताङमा पारिवारिक तथा युवायुवतीहरुको घुईचो लाग्ने गर्छ । यसवर्ष पनि विगतका वर्ष झै उल्लेख्य संख्यामा आन्तरिक पर्यटकहरुको लर्को लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । तिहारको भाईटिका लगत्तै शुक्रबार (आज) म्याग्दीको तातापानीदेखि मुक्तिनाथसम्मका होटलहरु पूर्ण रुपमा भरिभराउ भईसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

तिहार पर्व सकिए लगत्तै मुस्ताङमा सवारी साधन तथा यात्रुहरुको अकल्पनीय आगमनले ट्राफिक व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई हम्मे हम्मे परेको प्रहरी नायब उपरीक्षक लामाले उल्लेख गर्नुभयो । उहाँका अनुसार आजै मात्रै म्याग्दीको तातोपानीदेखि दाना हुँदै मुस्ताङको घाँसा,लेते, मार्फा,जोमसोम,कागबेनी, मुक्तिनाथ सहित यहाँका होटल रेष्टुरेन्टहरु हाउस भईसकेकाले पर्यटकहरुलाई आवासको व्यवस्थापनमा सहजीकरण गराउन समेत समस्या परेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दसै÷तिहार र छठ पर्व लगायतका विशेष चाडपर्वहरुमा होटलहरु बुकिङ गरेर मात्रै प्रस्थान गरिदिन पर्यटकहरुलाई आग्रह गरेको छ । विषेश चाडपर्वहरुमा पर्यटकहरु होटलहरु बुकिङ नगरी मुस्ताङ आउँदा बाँस बस्नका लागि समस्या हुने भएकाले पर्यटकहरुले यसबारेमा ध्यान दिनुपर्ने प्रहरी नायब उपरीक्षक लामाले बताउँनुभयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले शुक्रबार कति संख्यामा पर्यटक मुस्ताङ भित्रिएका छन् भन्ने जानकारी उपलब्ध गराउन तत्काल नसक्ने अवस्था रहेको जनाएको छ । म्याग्दी र मुस्ताङको सीमाना घाँसामा प्रहरी युनिट पर्यटक ईन्ट्रि गर्न र ट्राफिक व्यवस्थापन मिलाउन व्यस्त रहेकाले पर्यटकको भित्रिएको संख्या एकिन गर्न नसक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक लामाको भनाई छ ।

यता चाडपर्वको बेला होटल बुकिङ नगरी आफ्नै तरिकाले मुस्ताङ भ्रमण गर्न आउँदा पर्यटकहरु होटल र बिचौलियाहरुबाट ठगिन सक्ने अवस्था रहेको बताईएको छ । यहाँका होटलहरु पुरै पर्यटकहरुले भरिभराउ भएपछि गल्ली गल्ली भित्रका साना होटलहरुमा समेत व्यवस्थापन गर्न धौ धौ परेको बताईएको छ ।

 मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले बेनी—जोमसोम सडकमार्गमा संञ्चालित अधिकाँश होटलहरु पर्यटकहरुले भरिभराउ भएको जानकारी दिनुभयो । संघका अध्यक्ष लालचनले म्याग्दी उद्योग वाणिज्य संघसंग समन्वय गरी मुस्ताङमा होटलहरु भरिएकाले पर्यटकहरु म्याग्दीमा रोकिदिन समन्वय गरेको जानकारी दिनुभयो ।‘होटल बुकिङ नगरी आउँदा धेरै पर्यटकहरु अहिले साँझ पनि अलपत्र परेका छन, हामीले समन्वय गरी बाँसको व्यवस्था मिलाउन पहल गरेका छौं,’ अध्यक्ष लालचनले भने,‘ मुस्ताङमा घाँसादेखि मुक्तिनाथसम्म करिव तीनसय होटलहरु छन् , पर्यटकहरु अकल्पनीय रुपमा यहाँका होटलहरु थेग्न नसक्ने अवस्था परेको छ ।’

दसै÷तिहार र छठ पर्वको समयमा लामो सरकारी बिदा हुने भएकाले युवायुवती, परिवारजन, कर्मचारी,बैक तथा बित्तिय संस्था र विदेशीबाट चाडपर्व मनाउन नेपाल आएकाहरु मुस्ताङ भ्रमण गर्ने क्रेज बढेको हो । पछिल्लो समय अन्तराष्ट्रिय मिडियाहरुले घुम्ने पर्ने पर्यटकीय गन्तब्यका रुपमा हिमाली उपत्यका सूचिकृत गरेकाले युवा पुस्ताका क्रेज बढेको हो । राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने बेनी—जोमसोम—कोरला सडक सहज भएसंगै बर्सेनि मुस्ताङमा पर्यटकको संख्या अकल्पनीय रुपमा वृद्धि भईरहेको छ ।

बिहिबार धौलागिरी आईसफल पदमार्ग हुँदै मुस्ताङको मार्फा झरेका विदेशी पर्यटकहरु समेत मार्फाका होटलहरु भरिभराउ हुँदा बाँस बस्ने ठाउँ नपाएको मार्फाका स्थानीय दीपक लालचनले जानकारी दिनुभयो । मार्फामा अलपत्र परेका विदेशी पर्यटकहरुलाई मार्फा गाउँ समाजघरमा लगेर व्यवस्थापन गरेको स्थानीय लालचनको भनाई छ ।

 पृथक भूगोल,मुक्तिनाथ मन्दिर,कोरलानाका, लोमान्थाङ दरबार, कागबेनीधाम, ढुम्बाताल लगायतका पर्यटकीय स्थलहरु अवलोकन भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाई केन्द्र बनेको छ ।

प्रतिक्रिया