घरपझोङसहित मुस्ताङका ४ पालिकामा ‘पूर्ण खोप सुनिश्चिता’ घोषणा

जोमसोम—  हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकासहित जिल्लाका चार स्थानीय तहमा  ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप गाउँपालिकाका हाम्रो प्रतिवद्धता’ नारासहित मुस्ताङका चार स्थानीयले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकासहित लोमान्थाङ,लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका तथ्याङ्क अधिकृत राजन पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङका पाँच पालिका मध्ये चार पालिकाले पूर्ण खोप घोषणा गरेको र केहीदिनमा वारागुङ मुक्तिक्षेत्रले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको तथ्यांक अधिकृत पहारीले बताउँनुभयो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले मंगलबार (आज) एक कार्यक्रम गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कर्णबहादुर थकालीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष मोहनसिह लालचन मार्फत घरपझोङलाई पूर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा अधिकृत थकालीको भनाई छ । पूर्ण खोप घोषणा गर्दै पालिका अध्यक्ष मोहनसिंह लालचनले सबैको सामुहिक प्रयासले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको बताउँनुभयो ।

पूर्ण खोप सुनिश्चितताले मात्रै सबै काम सकियो भन्ने नहुँने उल्लेख गर्दै यसको निरन्तरता र दिगोपना राख्न चुनौती रहेको बताउँनुभयो । गाउँपालिका उपाध्यक्ष जमुना थकालीले गाउँपालिकाले तयारी गरेको बालमैत्री स्थानीय शासनको सूचकहरु मध्ये खोप कार्यक्रम महत्वपूर्ण सुचक भएकाले यसको दिगोपना अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा. मनिष कोईरालाले बालबालिकालाई स्वस्थ्य राख्नका लागि शारिरीक ,मानसिक र अन्य वृद्धि विकासमा खोप अनिवार्य रहेको बताउँनुभयो । बालबालिका स्वस्थ्य रहेमा मात्रै सक्षम नागरिक बन्नसक्ने चिकित्सक डा. कोईरालाको भनाई छ ।

राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्र पाउँनुपर्ने सबै खोपको मात्रा सबै बालबालिकाको पहुँचमा पुग्नुपर्ने एवं पछि तालिकामा अन्य खोपहरु थप्न पर्ने भएमा समेत लिएको अवस्था पुरा गरेमा मात्रै पूर्ण खोप घोषणा गर्न पाईन्छ । राष्ट्रिय खोप तालिका अनुसार १६ देखि २३ महिना उमेरका ३५ जना बालबालिका मध्ये ३५ जनालाईनै पूर्ण खोप लगाईएको घरपझोङ स्वास्थ्य शाखाले जनाएको छ । बालिकालाई खोप तालिका अनुसार तोकिएको उमेर अवधि भित्र ११ प्रकारका खोप लगाईनु पर्ने स्वास्थ्य शाखा अधिकृत कर्णबहादुर थकालीले जानकारी दिनुभयो ।

यसैगरी मुस्ताङको थासाङ गाउँपालिकाले १६ महिनादेखि २३ महिना उमेर समुहका ४४ जना बालबालिकालाई पूर्ण खोप लगाएको छ । थासाङले  १५ महिना उमेर मुनिका  ३४ बालबालिकालाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । लोघेकर दामोदरकुण्डले १६ देखि २३ महिनासम्मका  ११ जनालाई पूर्ण खोप लगाएर घोषणा गरेका छ । लोमान्थाङ गाउँपालिकाले जन्मेदेखि १५ महिना मुनिका  १४ जना बालबालिकालाई खोप लगाएको छ भने १६ देखि २३ महिनासम्मका १० जना बालकालिकालाइ पूर्ण खोप लगाईएको छ ।

मुस्ताङका पाँच पालिकाका २५ वटा वडामध्ये चार पालिकामा २० वटा वडाहरुको वडास्तरीय खोप समन्वय समितिले पूर्ण खोप घोषणा गरेपछि मुस्ताङका चार पालिकामा पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो ।


प्रतिक्रिया