मुस्ताङको घरपझोङमा ‘आमा’ सम्झिने ‘मातृचक्र’



जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिका जोमसोममा आमाको यादलाई ताजा गराउने ढुंगै ढुंगाले निर्माण गरिएको मातृचक्र अवस्थित छ । सन् २००८ मा  अष्ट्रेलियाका मूर्तिकार एन्ड्रयु रोजर्सले  निर्माण गरेको‘ रिदम अफ लाईफ’ अर्थात भुलभुलैया (जिवन रेखा) विन्डिङ पाथलाई घरपझोङ गाउँपालिकाले केही महिना अघि मात्रै आमा सम्झिने मातृचक्र नामले नामाकरण गरेको हो ।

 जोमसोम स्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्म नजिकै दक्षिणतर्फ सख्खर माटो रुपि पहाडको फेंदमा अष्ट्रिेलियन मूर्तिकार रोजर्सले रिदम अफ लाईफ नामका २ वटा  विन्डिङ पाथ ल्यान्ड आर्ट निर्माण गरेका थिए । मुस्ताङको जोमसोम स्थित जनहित युवाक्लवको समन्वयमा सयौं स्थानीय नागरिकहरु परिचालन गरी रोजर्सले उक्त ल्यान्ड आर्ट कला प्रस्तुत गरेका थिए । मूर्तिकार रोजर्सका विश्वका धेरैजसो राष्ट्रका यसप्रकारका मौलिक कलात्मक विन्डिङ ल्यान्ड आर्ट निर्माण गरिसकेका छन् । मुस्ताङको जोमसोममा झन्डै २ महिनासम्म अवधि खर्चिएर रोजर्सले २ वटा पृथक पृथक प्रकारका विन्डिङ पाथ चक्र  निर्माण गरेका थिए । उक्त भूकला चक्र निर्माण गरेपछि मूर्तिकार रोजर्सले हेलिकोप्टरबाट समेत त्यसको श्रव्यदृष्य फोटो तथा भिडियो कैंद गरेका थिए । रोजर्सले जोमसोममा उक्त पूर्वाधार निर्माण गरेपछि कुनै पनि निकायलाई हस्तान्तरण नगरी त्यसै छाडेका थिए ।

 रिदम अफ लाईफ एउटा गोलाकार र अर्को केही भिन्न प्रकारको ल्यान्ड आर्ट थियो । सन् २००८ मा निर्माण गरिएको रिदम अफ लाईफ सरक्षणको अभावमा एक पुरै जीर्ण बनेर मासिएको छ । अर्को गोलाकार ढुंगैढुंगाले बनेको रिदम अफ लाईफ पनि भग्नावशेष अवस्थामा पुगेको थियो । जोमसोम बजारबाट अवलोकन गर्दा निकै आर्कषक र मनमोहक देखिने रिदम अफ लाईफ भूकला वाल सरक्षणविहिन बनेपछि त्यसको सरक्षण,सम्वद्धन र प्रर्वद्धनमा अध्यक्ष लालचनको अगुवाईमा सिंगो घरपझोङ गाउँपालिका जुटेको छ । मूर्तिकार रोजर्सले निर्माण गरेको जोमसोममा अवस्थित भूकलात्मक पर्खाललाई १६ वर्षपछि घरपझोङ गाउँपालिकाले सरक्षणको पहल थालेको हो ।

 लाखौं रुपैया खर्चिएर विदेशी मूर्तिकला कलाकारले निर्माण गरेर त्यसै छाडेको भूकला रिदम अफ लाईफको वाल मर्मत तथा स्तरोन्नति र आवश्यक रंगरोगनका लागि घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो व्यक्तिगत तलब भत्ता खर्चिएर जिर्णोद्धार गरेका हुन् । गाउँपालिका अध्यक्षले लालचनले सरक्षणको अभावमा जीर्ण हुदै गईरहेको रिदम अफ लाईफलाई स्तरोन्नति गरी पर्यटकीय गन्तब्यको रुपमा पूनर्रजिवित गर्ने प्रयास गरेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पालिका अध्यक्ष ज्युको निजी खर्चले ढुंगैढुंगाको चक्र वाललाई मर्मत सम्भार तथा रंगरोगन गरी चिटिक्क पारिएको बताए । 

 रोजर्सले निर्माण गरेको रिदम अफ लाईफलाई घरपझोङ गाउँपालिकाले आमा सम्झाउने ‘मातृचक्र’को नामले पर्यटकहरु माँझ परिचित गराउन खोजेको हो । अहिले गाउँपालिकाका प्रमुखको निजी खर्चमा मातृचक्रको भित्र र बाहिर पुरै रंगरोगन गरिएको छ । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले रिदम अफ लाईफ चक्रलाई मातृचक्रको नाम दिएका छन् । मुस्ताङ आउने पर्यटकले उक्त मातृचक्र भित्र एक पटक परिक्रममा गरेमा आमा प्रतिको श्रद्धा र भक्ति भाव पूरा हुने गरी धार्मिक तथा आध्यामिक आस्थाको केन्द्र बनाउने पहल गरेको हो ।

‘जब म भगवान शब्द सुन्छु,मेरो आँखामा तिमै्र तस्विर आउँछ आमा,संसारमा हरेक चिज गुमाएपछि अर्कोपटक पनि पाउँन सकिन्छ, तर जन्मदिने आमा कहिल्यै पाउन सकिंदैन, आमा हुनेहरु कहिल्यै गरिव हुँदैनन जस्ता थुप्रै आमा प्रति श्रद्धाभाव प्रकट गरिएको श्लोगन लेखिएका होडिङ बोर्डहरु टाँस गरिएको छ । मातृचक्र भित्र प्रवेश गरेर एक फन्को लगाएमा आमाप्रतिको सबै कर्तव्य र दायित्व अनि आमाप्रतिको श्रद्धाभाव पुरा हुने उल्लेख गरिएको छ । ढुंगाढुंगाले निर्माण गरिएको रिदम अफ लाईफ उर्फ मातृचक्रको कुनै पनि ढुंगामा आमा शब्द लेखेर छोडेमा आमाप्रतिको श्रद्धाभाव प्रकट हुने जनाईएको छ ।


 घरपझोङ गाउँपालिका अध्यक्षद्वारा स्तरोन्नति,रंगरोगन र आवश्यक संरक्षण गरी आमा सम्झिने मातृचक्र नामले नामाकरण गरिएपछि मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेको पाईएको छ । आमालाई श्रद्धाभाव प्रकट गर्दै मातृचक्र परिक्रमा गरेर पृथक प्रकारको अनुभुती लिन दैनिक दर्जनौ पर्यटक त्यहाँ पुग्ने गरेका छन । बेनी—जोमसोम मुख्य सडकबाट नजिकै ३ सय मिटर दुरीमा अवस्थित आमा सम्झिने मातृचक्रले भावी दिनमा थप पर्यटक प्रवद्धनमा ठुलो योगदान पू¥याउने विश्वाश व्यक्त गरिएको छ । मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक एक पटक जोमसोमको आमा सम्झिने मातृचक्रमा पुग्ने गरेको पाईएको छ ।

  घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंंह लालचनले पर्यटन प्रर्वद्धनका लागि आमा सम्झाउने मातृचक्रले महत्वपूर्ण योगदान दिने दाबी गरे । ‘वर्षौवर्ष सम्म सरक्षणको अभावमा जीर्ण बनेको सम्पतीको अव्यस्त सम्पतीलाई हामीले सरक्षणको प्रयास गरेका हौं, कसले बनायो, किन बनायो भन्नु भन्दा पनि यसको दीगो व्यवस्थापन र संरक्षण महत्वपूर्ण पाटो हो,अध्यक्ष लालचनले भने,‘सार्वजनिक सम्पतीको रक्षा गर्ने दायित्व स्थानीय तहको हो, हामीले यसलाई नयाँ नाम दिएर पर्यटनसँग जोड्ने प्रयास गरेका हौं ।’

 पर्यटक लोभ्याउने घरपझोङ ‘मातृचक्रमा एक फन्को परिक्रमा लगाउन करिव ३० मिनेटदेखि ४५ मिनेट समय लाग्छ ।  करिव ५० मिटर क्षेत्रफलमा गोलाकार मातृचक्र फेरो लगाउँदा अनौठो महशुस हुन्छ ।  गोलाकार मातृचक्र भित्र ढुंगैढुंगाको पर्खाल निर्माण गरेर चक्र घुम्ने  माटो निर्माण गरिएको हो । सुरुमा जुन स्थानबाट चत्र भित्र प्रवेश गरिन्छ ,चक्र परिक्रमा गर्दा सोही स्थानबाट बाहिरने भएकाले पनि घरपझोङ मातृचक्र पर्यटकका लागि अनौठो  महशुस हुन्छ ।



प्रतिक्रिया