मुस्ताङमा निर्वाचन प्रहरीलाई पोशाक

जोमसोम ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि खटिने यहाँ स्थित निर्वाचन प्रहरीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालले अलग÷अलग पोशाक वितरण गरेको छ ।

यसअघि घोषित निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले यहाँ खुल्ला दरखास्त आह्वान गरेको थियो । नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट मुस्ताङको निर्वाचन सुरक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । तीन पटकसम्म आवेदन माग गरिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई चाहिने आवश्यक माग संख्या ३१२ जना निर्वाचन प्रहरी छनौट गरिएको थियो ।

 यहाँ छनौट भएका निर्वाचन प्रहरीहरुलाई गत माघ १८ देखि २८ गतेसम्म निर्वाचन अनुशिक्षण प्रशिक्षण तालिम चलाईएको थियो । यसरी तालिम पुरा गरेका निर्वाचन प्रहरीलाई पोशाक उपलब्ध नहुँदा कार्यस्थलमा खटाईएको थिएन । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक नवराज न्यौपानेले सोमबारदेखि निर्वाचन प्रहरीलाई पोशाक वितरण गरिएको बताउँनुभयो । सबै निर्वाचनमा खटिने निर्वाचन प्रहरीहरुलाई साईज नमिलेका कारण पोशाक व्यवस्थापन गर्न एक दुई लाग्ने र त्यसपछि निर्वाचन मतदान स्थलको कार्यक्षेत्रमा पठाईने कार्यतालिका रहेको प्रहरी निरीक्षक न्यौपानेको भनाई छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि ज्याकेट,टोपी,पाईन्ट, जुत्ता लगायतका पोशाक वितरण गरिएको प्रहरी निरीक्षक न्यौपानेको भनाई छ ।

 मुस्ताङमा निर्वाचन  सुरक्षाका लागि जिल्ला बाहिरका ८० प्रतिशत व्यक्तिहरुले आवेदन दिएका थिए । यहाँ स्थानीय व्यक्तिहरु २० प्रतिशत मात्रै निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएका थिए । 

निर्वाचन सुरक्षाका लागि मुस्ताङसहित म्याग्दी,बाग्लुङ,पर्वत,स्याङ्जा, गोर्खा,लमजुङ, रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लाहरुबाट निर्वाचन प्रहरीहरुमा भर्ना हुन मुस्ताङ आईपुगेका थिए । घोषित निर्वाचन प्रहरीमा भनाई भई तालिम पुरा गरी नियुक्ति पाएका निर्वाचन प्रहरीलाई योग्यता,दक्षता र शारिरीक अवस्था हेरेर मतदान स्थल सुरक्षार्थ कार्यविभाजन भईसकेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।

 मतदान स्थलमा खटिएका निर्वाचन प्रहरीहरुलाई केहीदिनपछि जिल्लाका पाँच स्थानीय तहका ३९ वटै मतदान स्थलहरुको सुरक्षाका लागि परिचालित गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


प्रतिक्रिया