बर्खायामको भेल जस्तो मुस्ताङको पर्यटन
यसवर्षको तिहार पर्व भाईटिका सकिएलगत्तै हिमालपारीको जिल्ला मुस्ताङमा अनपेक्षित बढ्दो पर्यटक आगमन संख्याले यहाँको पर्यटन व्यवस्थापनमा निकै चुनौति थपियो । बर्खायामको भेल जस्तै मुस्ताङमा एकैसाथ पर्यटकहरु मुस्ताङ ओईरिदा यहाँको पर्यटन व्यवस्थापन अस्तव्यस्त बनेको हो ।
विगतका वर्षहरुमा पनि दसैं तिहार र छठ पर्व लगायतमा यहाँ आन्तरिक पर्यटकको आगमन उल्लेख्य रुपमा हुने गथ्र्यो । यसवर्ष युवाहरुको जेनजी आन्दोलनले उत्पन्न परिस्थिती र प्रतिकुल मौसमका कारण यहाँका पर्यटन व्यवसाय खासै चलायमान हुँदैन भन्ने लख काटिएको थियो । पर्यटकहरु मुस्ताङ घुम्न आएपनि विगतका वर्षहरु जस्तो खासै चहलपहल हुँदैन भन्ने यहाँका पर्यटन व्यवसायहरुले पूर्वानुमान गरेका थिए । देशको विषम परिस्थिती र सबै क्षेत्रको व्यवसाय धरासयी भईरहेको हुँदा नेपालीहरुको कमाई नहुँने र कमाई नहुँने भएपछि घुमफिर गर्ने योजनाहरु पनि रोकिने बुझाई यहाँका पर्यटन व्यवसायीहरुले गरेका थिए ।
तर, यहाँ पर्यटन व्यवसायीले गरेको पूर्वानुमान गलत सावित भईदियो । बिहिबारको तिहारको भाईटिका सकिएलगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटकको बाढीनै आयो, जनु आईतबार बिहानसम्म कायमै छ । यहाँका पर्यटन व्यवसायीहरुले यो कल्पनासम्म पनि गरेका थिएनन् ।
यहाँ हिमताल र हिमनदी पग्लेर बाढी आएको थिएन , नत बर्खायामको नियमित हुने भेलबाढीनै थियो । यो त मुस्ताङको सडक विकासले ल्याईदिएको पर्यटन क्षेत्रको नयाँ उभार थियो । त्यसो त मुस्ताङ जिल्लाका ७ प्रदेशका ७५३ वटै स्थानीय तहका पर्यटकीय गन्तब्य मध्ये अंग्रस्थानमा पर्छ । अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले मुस्ताङ उपत्यकालाई घुम्नै पर्ने सूचिमा पारेपछि मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ आयामनै थपिदियो ।
शुक्रबारदेखि राष्ट्रिय गौरवको निर्माणधिन (बेनी—जोमसोम—कोरला) सडकमार्गमा सवारी साधनका लस्करले सडकमार्ग पुरै ढाकियो । म्याग्दी खण्डमा आधाजसो सडक कालोपत्र भएको छ भने आधा जसो सडक ग्राभेल छ । म्याग्दी र मुस्ताङको सीमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्र भईसकेको छ । कागबेनीदेखि कोरलानाकासम्मको सडक ग्राभेल भएपनि सवारी साधनका लागि आवतजावतमा निकै सहज भईसकेको छ । कोरला सडकको अधिकाँश शाखानदीहरुमा पुलपुलेसाहरु निर्माण भईसकेकाले पोखरा—काठमान्डौं लगायतका सहरबाट मुस्ताङ आउजाउ गर्न कुनै समस्या छैन ।
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्गको तीब्र गतिको विकासले पर्यटकको ध्यान मुस्ताङतर्फ केन्द्रित भईरहेको छ । बडा दसै ,चैत दसै औसी र महत्वपूर्ण चाडपर्वहरुमा आन्तरिक पर्यटकहरुका लागि घुमफिरको केन्द्र मुस्ताङ बनेको हो । यसैका खातिर तिहारको भाईटिका सकेर मुस्ताङ हानिएका पर्यटकको चापले बेनी—जोमसोम सडकमार्ग र मुस्ताङको ट्राफिक व्यवस्थापन गर्नमा सुरक्षा निकायलाई निकै हम्मेहम्मे प¥यो । बेनी—जोमसोम सडकमार्गको म्याग्दीखण्डका केही स्थान र काभ्रेभीर लगायतका सडकमा सवारी साधनको लस्करले पर्यटकहरुलाई गन्तब्यतर्फ प्रस्थान गर्न घण्टौं समय लाग्यो । म्याग्दी र मुस्ताङको सीमाना प्रहरी चौकी घाँसामा मुस्ताङ भित्रिने सवारी साधन र पर्यटक यात्रुको विवरण संकलन गर्ने गरिन्छ । मुस्ताङ भित्रिएका सवारी साधन र यात्रुहरुको विवरण संकलन गर्नमा त्यहाँ डिउँटीमा खटिएका प्रहरीहरुलाई निकै गारो प¥यो । मुस्ताङ प्रहरीका अनुसार यो अहिलेसम्मकै ठुलोसंख्यामा सीमित समयमा सवारी साधन र यात्रु पर्यटकहरु मुस्ताङ भित्रिएको दावी गरिएको छ । भाईटिकापछि औसत ८ हजारको संख्यामा पर्यटकहरु मुस्ताङ भित्रिएको बताईएको छ ।
बर्खायामको भेल जस्तै मुस्ताङमा पर्यटकहरु एकैसाथ आईरिदा पर्वतको कुश्मादेखि मुस्ताङको कोरलानाकासम्मका होटलहरु पर्यटकहरुले भरिभराउ भए । यहाँ आएका पर्यटक मध्ये ९९ प्रतिशत आन्तरिक र एक प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएको पाईएको छ । मुस्ताङ घुम्न आईपुगेका पर्यटकहरु कतिपयले पहिल्यै होटल बुकिङ गरेर आईपुगेका थिए । कतिपय पर्यटकहरु होटलहरु बुकिङ नगरी आफ्नै तरिकाले मुस्ताङ घुम्न आउँदा पर्यटन व्यवस्थापनमा समस्या र चुनौतिहरु देखा परेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिनुभयो । अध्यक्ष लालचनले तिहारपछि मुस्ताङका होटलहरु बिहानैदेखि भरिभराउ भएकाले पर्यटकहरुलाई बाँसस्थानको समस्या देखिएको बताउँनुभयो ।
त्यसो त मुस्ताङमा यतिका संख्यामा पर्यटकहरु एकैसाथ ओईरिन्छ भन्ने नत यहाँ आईपुगेका पर्यटकहरुले कल्पना गरेका थिए । नत यहाँका स्थानीय प्रशासन,प्रहरी ,जनप्रतिनिधि र पर्यटनसंग सम्वद्ध संघसंस्थाहरुले नै कल्पना गरेका थिए । आखिर भईदियो त्यस्तै । तिहार सकेर मुस्ताङमा घुम्न र रमाईलो गर्न आएका कतिपय पर्यटकहरुको बसाई सुखद रहेन । खल्तीमा पैसा भएर पनि यहाँ आईपुगेका पर्यटकहरु न राम्ररी सुत्ने बाँस सुविधा पाए ,नत राम्ररी खान खाने सुविधा पाए ।
काठमान्डौंबाट मोटरसाईकल चढेर मुस्ताङ घुम्न आईपुगेर मन श्रेष्ठसहित चारजनाको टोली कोरलानाका जाने योजना बनाएर शनिबार जोमसोम आईपुगे । बिहान १० बजे जोमसोम आईपुगेका उनीहरु होटलमा कोठा खोज्न भौतारिए । यतिन्जेलसम्म मुस्ताङका होटलहरु पर्यटकहरुले खचाखच भरिएको थियो । जोमसोम, कागबेनी,मार्फा लगायतका स्थानमा होटल खोज्दा समेत बाँस बस्ने होटलहरु भटिएन । मुस्ताङमा घुम्न र रमाउन आएका उनीहरुमा बाँस नपाउने देखिएपनि निराश बने । दुईचार पैसा बढी तिरौला बरु हामीलाई होटल खोजिदिन प¥यो भने स्थानीय पत्रकार मनिता थकाली समक्ष अनुरोध गरे । स्थानीय पत्रकार थकालीले सामाजिक संञ्जालमा होटल नपाएको र कहीकतै खाली भएमा सूचना दिनुहोला भनी सामाजिक सञ्जालमा पोस्ट गरिएपछि एक सामान्य स्तरको होटलमा जसोतसो व्यवस्था मिलाईएको थियोे ।
यसैगरी पोखराबाट झन्डै चालिस जना विद्यार्थीहरु लिएर मुस्ताङ घुम्न आएको टोली समेत साँझ जोमसोममा बाँस नपाउँदा बिचल्लीमा परे । यो त प्रतिनिधिमूलक घटना थियो । मुस्ताङमा होटलहरुमा बास नपाएपछि कतिपर्यटक पर्यटकहरु सवारी साधनमा रात कटाए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले तिहारपछि ठुलो संख्यामा पर्यटकहरु मुस्ताङ ओईरिदा होटलहरु व्यवस्थापनमा समस्या परेको बताउँनुभयो । डिएसपी लामाका अनुसार बुकिङ नगरी मुस्ताङ आएका पर्यटकहरुले बाँस नपाउँदा यहाँका धर्मशाला, समाजघर र होमस्टे लगायतमा लगेर राखिएको बताउँनुभयो ।
यसैगरी होटल बुकिङ नगरी उपल्लो मुस्ताङको भ्रमण गर्न गएका एक बस टोलीलाई लोमान्थाङ स्थित आमा समुहको भवन लगेर राखिएको डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । कोरलानाका अवलोकन गरी जोमसोम फर्किदै गरेको अर्को एक गाडी बिच माटोमै बिगिएपछि बिचल्लीमा परेका पर्यटकहरुलाई छुसाङ स्थित स्थानीयहरुको घरघरमा लगेर राखिएको डिएसपी लामाको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ र यहाँका सरोकारवाला निकायहरुले दसै तिहार र छठ पर्वको बेलामा मुस्ताङ घुम्न आउँदा अनिवार्य होटल बुकिङ गरेर मात्रै आउन पर्यटकहरुलाई सुझाएको छ । होटल बुकिङ नगरी आउँदा बाँस नपाईने र होटल र बिचौलियाहरुबाट ठगिनसक्ने भएकाले मुस्ताङ भ्रमण गर्दा होटल बुकिङ गरेमात्रै यात्रा सहज हुने जनाएको छ । मुस्ताङमा पर्यटकको चाप बढेपछि यहाँका कतिपय होटलहरु मनोमानी रुपमा पर्यटकहरुलाई खान र बस्नमा चर्को मूल्य लिएको गुनासो समेत गरिएको छ । पर्यटकहरुले मुस्ताङ महङ्गो भएको र व्यवसायीहरुले पर्यटकहरुलाई मनोमानी पैसा असुल्ने गरेको गुनासो लेखेर सामाजिक संञ्चाजमा समेत सार्वजनिक गर्ने गरेको पाईएको छ ।
मुस्ताङ उद्योग वाणिज्य संघले पर्यटकहरुलाई जथाभावी पैसा नलिन र उपयुक्त सेवा सुविधा र सुहाउँदो पैसा लिन समेत आग्रह गरेको छ । पर्यटकहरु सधैंका पाहुना भएकाले व्यवसाय एकपटकको मात्रै नभई सधैंका लागि भएकाले मुस्ताङको बदनाम हुने गरी व्यवसाय संञ्चालन नगर्न अनुरोध गरेको छ । मुस्ताङमा संञ्चालित होटलहरु ८ हजार पर्यटक थेग्न नसकिएपछि विषेश चाडपर्वको बेला बैकल्पिक व्यवस्था अपनाउन पर्ने आवाज उठ्न थालेको छ । यहाँका गाउँ गाउँमा समुदायहरुको समाजघर र सार्वजनिक भवनहरु खाली हुने भएकाले पर्यटकहरुलाई अप्ठ्यारो पर्दा त्यहा राख्ने व्यवस्था मिलाउँन सकेमा पर्यटकहरुलाई परेको पिरमर्का समाधान गर्न सकिने अवस्था रहेको सरोकारवालाहरुको भनाई छ ।
मुस्ताङका पाच स्थानीय तहमा साना ठुला गरी ३२५ वटा होटलहरु संञ्चालनमा रहेको प्रहरीले जनाएको छ । एक वर्ष अघिको यो तथ्यांकमा केही नयाँ होटलहरु थपिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । यहाँको लोमान्थाङ गाउँपालिकामा २० ,लोघेकर दामोदरकुण्डमा ३०,वारागुङ मुक्तिक्षेत्रमा ६३ ,घरपझोङ गाउँपालिकामा १६३ र थासाङ गाउँपालिकामा ४९ वटा होटलहरु संञ्चालनमा रहेको डिएसपी छिरिङ किप्पा लामाले बताउँनुभयो । यहाँ संञ्चालनमा रहेका होटलहरु मध्ये ९० प्रतिशत राष्ट्रिय राजमार्ग रहेको र १० प्रतिशत होटल राजमार्ग भन्दा बाहिर रहेको जनाईएको छ ।
सामान्य अवस्था पर्यटक व्यवस्थापनमा खासै अप्ठ्यारो नपर्ने भएपनि मुख्य चाडपर्वहरुमा यहाँका होटलहरुको संख्या अपुग हुने भएकाले पर्यटकहरु मुस्ताङ भ्रमण गर्न आउँदा यहाँको वस्तुस्थिती बुझेर मात्रै आउन प्रहरीले अनुरोध गरेको छ ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शन पहिलो प्राथमिकतामा पर्छ । यहाँ आईपुगेका पर्यटकहरुले मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरलानाका,लोमान्थाङ दरबार,छोसेर गुफा, चिउँसी गुफा,चराङ गुम्बा, मराङ गुम्बा,कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गरेको पाईएको छ । धार्मिक,सांस्कृतिक र जैविक विविधिता भरिपूर्ण मुस्ताङको पृथक भूगोल अवलोकन गरेर पर्यटकहरु यहाँबाट फर्किने गरेको पाईएको छ । यहाँ बर्सेनि ८ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले तिहारको भाईटिकापछि मुस्ताङमा पर्यटकको चाप नरोकिएको जनाएको छ । म्याग्दी र मुस्ताङ सीमानामा पर्यटकको विवरण संकलन गर्न तीन जना जनशक्ति खटिएको जनाएको छ । आईतबार पनि मुक्तिनाथमा दर्शनार्थीको संख्या बाक्लो रहेको त्यहाँ कार्यरत समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । यहाँ दर्शन तथा स्वास्थ्य सुरक्षा र अन्य सुरक्षा व्यवस्थापका आवश्यक जनशक्ति परिचालन भईरहेको बताउँनुभयो ।
दसै तिहार लगायतका चाडपर्वको लामो बिदा अवसरमा स्कुल कलेजका बिद्यार्थी, युवातन्नेरी,कर्मचारी ,बैंक तथा वित्तिय संस्था र चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरु मुस्ताङ घुम्न आएका बताईएको छ । मुस्ताङमा चिसो बढेकाले पर्यटकहरु बिरामी परेर अस्पताल भर्ना हुनेको संख्या बढेपनि हालसम्म कसैको ज्यान नगएको मुस्ताङ स्थित प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डन डा.समिक्षा कडेलले जानकारी दिनुभयो । तिहारपछि करिव दुई हजार पर्यटकहरुले अस्पतालबाट स्वास्थ्य सेवा लिएर फर्किएको जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली