मुस्ताङ—डोल्पा सडक अनुगमन


जोमसोम—  कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जोड्ने (मुस्ताङ—डोल्पा) सडक अनुगमन बिहिबार गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत संघीय सडक डिभिजन कार्यालय बाग्लुङद्वारा निर्माणधिन मुस्ताङ—डोल्पा सडकको स्थलगत अनुगमन गरिएको हो ।

 सडकको अहिलेसम्म झन्डै ३५ किलोमिटर सडक ट्याक ओपन भईसकेको छ । उक्त सडकको गतवर्ष सम्पन्न भएको सडकखण्डको भौतिक प्रगती र चालु आर्थिक वर्षमा गरिने नयाँ ट्याकका लागि डिभिजन सडक कार्यालय बाग्लुङले स्थलगत अवलोकन गरेको हो । डिभिजन सडक कार्यालय बाग्लुङबाट  सुपरभाईजर एबिन्द्र पराजुली, सवईन्जिनीयर प्रतिक तिवारी र ल्याब टेक्निसियन चन्द्रसिंह बोहोरा र वारागुङ मुक्तिmक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङ लगायतको टोलीले मुस्ताङ डोल्पा सडकको अनुगमन गरेको हो ।

 चालु वर्ष सडक डिभिजन कार्यालय बाग्लुङले ७ औं खण्डको (मुस्ताङ—डोल्पा) सडकमा चट्टान फोरेर नयाँ ट्याक खोल्नका लागि निर्माण कम्पनीलाई कार्यस्थलमा पठाईसकेको छ । उक्त सडकको भेरुलदेखि याकखर्कतर्फ नयाँ ट्याक खोल्ने योजना रहेको छ ।

मुस्ताङ—डोल्पा सडक अन्तर्गत मुस्ताङतर्फको भेरुलबाट भिरालो सतहको चट्टान काटेर नयां ट्याक खोल्न र पहिलो पन्छ्याउनका लागि चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन भएकोमा ५२ प्रतिशत बिलो छोडेर ४७ लाख ३८ हजार लागतमा काङ्ग्री निर्माण सेवा प्रालिसंग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बाग्लुङका ईन्जिनीयर सागर भण्डारीले बताउँनुभयो ।

 चालु वर्षको ठेक्का सम्झौता अनुसार सम्वन्धित निर्माण कम्पनीले सिमावर्ती क्षेत्रको भुरुलदेखि उपल्लो डोल्पाको याकखर्क जोड्ने सडकमा १६ हजार २ सय घनमिटर चट्टान काटेर नयाँ ट्याक खोल्ने र ४ सय २० घनमिटर पहिरो सफा गर्ने सम्झौता भएको डिभिजन सडक कार्यालयका अर्का ईन्जिनीयर भण्डारीले बताउँनुभयो । उहाँका अनुसार मुस्ताङ—डोल्पा सडक अन्तर्गत चालु वर्षको बजेटले करिव एक हजार एक सय मिटर दुरीमा नयाँ ट्याक खोल्ने लक्ष्य रहेको जनाउँनुभयो । सवईन्जिनीयर प्रतिक तिवारीले हिउँदयामको चिसो,हिमपात र प्रतिकुल मौसमका कारण मुस्ताङ—डोल्पा सडकमा चालु वर्षको काम ढिलो हुन पुगेको बताउँनुभयो ।

सरकारले मुस्ताङ—डोल्पा सडकलाई पर्याप्त बजेट विनियोजन गर्न नसक्दा मुस्ताङ—डोल्पा सडकको ट्याक ओपन गर्न समस्या परेको सवईन्जिनीयर तिवारीको भनाई छ । चालु वर्षको नयां ठेक्का सम्झौता अनुसार सम्वन्धित निर्माण कम्पनी उपकरणसहित कार्यस्थलमा पुगेको सवईन्जिनीयर तिवारीले जानकारी दिनुभयो । ‘यो सालबसाली ठेक्का हो, यसैले द्रुत गतिमा काम अघि बढाउनु पर्नेछ ’, सवईन्जिनीयर तिवारीले भन्नुभयो,‘ चालु वर्षको नयाँ ट्याक खोलेपछि मुस्ताङ—डोल्पा सिमाना याकखर्क जोडिन करिव ४ किलोमटर मात्रै बाँकी रहन्छ ।’

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ पाक्लिङदेखि फल्याक, साङ्ता गाउँ हुँदै मुस्ताङ र डोल्पाको सिमाना याकखर्कसम्म करिव ४० किलोमिटर दुरीसम्म सडक पहुँच जोड्ने गरी डिभिजन कार्यालय बाग्लुङले २०७५ सालदेखि सडक निर्माणको कामलाई निरन्तरता दिदै आईरहेको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले मुस्ताङ—डोल्पा सडकको काम एक÷दुईदिन भित्रै सुरु हुने जानकारी दिनुभयो । डोल्पा सिमाना जोडिन अब करिव ५ किमी मात्रै बाँकी छ’, वडाध्यक्ष गुरुङले थपे, ‘यो वर्षको बजेटले केही माथिसम्म जान्छ ,यो सडकलाई टुक्रे बजेटले काम चल्दैन, ठुलै बजेट विनियोजन गरेर काम सक्नुपर्ने हुन्छ ।’

 समुन्द्री सतहको ४५ मिटरको अग्लो उचाईको स्थानबाट मुस्ताङ—डोल्पा सडक विस्तार हुँदै गरेको छ । सडक डिभिजनले अख्तियारी लिएको मुस्ताङ डोल्पा सडक निर्माण ७ वर्ष बितिसक्दा समेत पुरा हुन नसकेको वडाध्यक्ष गुरुङको भनाई छ । उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न र पोखरा—काठमान्डौं आउजाउ गर्नमा समेत मुस्ताङ—डोल्पा निकै सहज हुने वडाध्यक्ष गुरुङको भनाई छ । 

 उपल्लो डोल्पाका नागरिकहरुले मुस्ताङको जोमसोमबाट घोडा÷खच्चडमा मालसामान बोकाएर मालसामान ढुवानी गर्ने गथ्र्ये । अहिले सडक विस्तार भईरहेकाले विगतको भन्दा मालसामान ढुवानीमा निकैनै सहज भईरहेको वडाध्यक्ष गुरुङको भनाई छ ।


प्रतिक्रिया