मुस्ताङ भन्सारमा पूर्वाधार र जनशक्ति अभाव

चीनसंग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाका स्थित लोमान्थाङ —२ न्हेछुङमा मुस्ताङ भन्सार कार्यालयको आवश्यक पूर्वाधार तथा पर्याप्त जनशक्ति नहुँदा राजश्व संकलनमा चुनौती थपिएको छ । पूर्वाधार तथा जनशक्तिको अभाव हुँदा न्हेछुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालय अपेक्षा गरेअनुरुप राजश्व संकलन गर्न नसकेको हो ।

 मुस्ताङ भन्सार कार्यालयमा एक जना शाखा अधिकृतसहित ७ जनाको दरबन्दी छ । कोरलानाका खुलेपछि उल्लेखित भन्सार जनशक्ति ज्यादै न्युन हो । मुस्ताङ भन्सार कार्यालयमा एक जना शाखा अधिकृतसहित दुई जना नायव सुब्बा, एकजना  लेखापाल, एक जना कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगीको दरबन्दी छ । मुस्ताङ भन्सारका लागि ७ जना कर्मचारीको दरबन्दी रहेपछि हाल एक जना नायब सुब्बा ,एक जना लेखापाल र एक जना कार्यालय सहयोगी मात्रै छन् । यस्तै, भन्सारका लागि हालै एक जना कम्प्युटर अपरेटर करारमा भर्ना गरिएको छ । भन्सार विभागले एक जना कार्यालय प्रमुखका रुपमा भन्सार अधिकृत खटाईएको भएपनि कार्यक्षेत्रमा उपस्थित भएका छैनन् । पुरानो साविककै रुपमा कार्यसम्पादन हुने गरी तोकिएको पुरानो दरबन्दीलाई थप्नुपर्ने आवश्यकता तत्काल देखिन्छ । सीमित जनशक्ति हुँदा मुस्ताङ भन्सारमा कार्यसम्पादनमा निकै ठुलो समस्या देखिएको छ ।

नेपाल—चीन उत्तरी कोरलानाका गतवर्षको कार्तिक महिना बाह्रै महिना खुल्ला गरिएको थियो । उपल्लो मुस्ताङका नागरिकलाई लक्षित गरी दैनिक उपभोग्य सामान खरिद बिक्री गर्ने उद्देश्यले आ.व. २०८०÷०८१ को कार्तिक २७ गते निकै तामझामका साथ कोरलानाका औपचारिक कार्यक्रम गरी खुल्ला गरिएको उद्घोष गरिएको थियो । नेपाल—ची कोरलानाका खुल्ला भएको डेढ वर्ष बितिसक्दा समेत भन्सार विभागले आवश्यक जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सकिरहेको छैन । नेपाल—चीन कोरलानाका औपचारिक रुपमा खुलेको ८ महिनापछि गत कार्तिक महिनामा गृह मन्त्रालय अन्तर्गत अध्यामगन विभागले कोरलानाकाको दशगजा क्षेत्रमा अध्यामगन कार्यालय स्थापना गरेको थियो । गृहमन्त्री रमेश लेखकले उक्त अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए । तर, कोरलानाका स्थापना गरिएको अध्यामगन कार्यालयमा पनि जनशक्ति खटनपटन नहुँदा अध्यागमन कार्यालय पनि उद्घाटनमै सीमित बनेको छ ।

मुस्ताङ भन्सार कार्यालय खुलेको डेढ वर्ष बितिसक्दा समेत आवश्यक भौतिक पूर्वाधार व्यस्थापन नहुँदा राजश्व संकलनकार्यमा कानुनी जटिलता विद्यमान रहेको छ । कार्यालयका निमित्त प्रमुख नायब सुब्बा होमबहादुर बिष्टका अनुसार नाका खुलेपनि भन्सारका लागि आवश्यक पूर्वाधार व्यवस्थापन नहुँदा राजश्व संकलनमा समस्या र चुनौती थुपिएको बताउँनुभयो । निमित्त प्रमुख बिष्टले मुस्ताङ भन्सार कार्यालयका लागि न्हेछुङमा खाद्य क्वारेन्टाई, पशु क्वारेन्टाईन र पेय पदार्थ जाँच गर्ने क्वारेन्टाईन नहुँदा आयाति वस्तुको राजश्वक संकलन गर्न बाधा पुगेको छ । हाल मुस्ताङ भन्सार कार्यालय अन्तर्गत न्हेछुङमा प्लान क्वारेन्टाईन मात्रै रहेकाले समस्या सृजना भएको निमित्त प्रमुख बिष्टको भनाई छ । मुस्ताङ भन्सार कार्यालयको जोमसोममा सम्पर्क कार्यालय छ । जोमसोममा रहेको सम्पर्क कार्यालय खारेज गरेर अव भएका सबै कर्मचारीलाई न्हेछुङमै व्यवस्थापन गर्ने तयारी भईरहेको निमित्त प्रमुख बिष्टले जानकारी दिनुभयो ।

मुस्ताङ भन्सार कार्यालयले चालु आ.व.को साउनदेखि माघ मसान्तसम्म एक लाख ९८ हजार राजश्व संकलन गरेको छ । कार्यालयले गत आ.व.को कार्तिक २७ गतेदेखि असार मसान्तसम्म विभिन्न वस्तुहरुमा  ८ लाख ७४ हजार राजश्व संकलन गरेको थियो । भन्सारका निमित्त प्रमुख बिष्टका अनुसार  चालु आर्थिक वर्षको साउनमा ४९ हजार ८४९, भदौमा ४० हजार ७५५, असोजमा १ हजार ७४६, कात्तिकमा ३४ हजार ९३४, र पुस महिनामा ७१ हजार ६२९ रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो । भन्सारको गत आर्थिक वर्षको राजस्व तुलना गर्दा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा २२ दशमलव ७९ प्रतिशत मात्रै राजस्व संकलन भएको हो।

 मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट विभिन्न शीर्षकमा भन्सार राजस्व संकलन गर्ने गरेको छ। जसअन्तर्गत एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर, अन्तः शुल्क आयात, भन्सार महसुल आयात, आयातमा लाग्ने अन्य शुल्क महसुल, भन्सारसम्बन्धी अन्य आय, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम, अन्य प्रशासनिक सेवा शुल्क, बेरुजु, र मूल्य अभिवृद्धि कर (मु.अ. कर) आयात लगायतमा राजस्व संकलन हुन्छ।

सरकारले कोरलानाकालाई उच्च प्राथमिकतामा राखेर भन्सार कार्यालयलाई प्रभावकारी बनाउनुपर्ने लोमान्थाङ—३ ठिङ्गरका स्थानीय कर्मासम्टुक गुरुङले बताए । उपल्लो मुस्ताङका नागरिकले आधारभुत समस्या समाधानका साथै केही आर्यआर्जन गर्नसक्ने ढोका खुल्ला गराउन भन्सार कार्यालयमा आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गर्न अनुरोध गरे ।‘ नाका खुल्यो भनेर निकै हर्षित भयौं, दुईचार पैसा आम्दानी गर्न सकिन्छ भन्ने ठान्यौं,’ स्थानय गुरुङले भने,‘ तर चीनबाट ल्याईएको सामानको भन्सार काट्न पाईएको छैन, मुस्ताङ छोडेर अन्यत्र सामान लैजादा अवैंध ठहरिन्छ, हामीलाई सहज व्यापार गरेर खान भन्सार काट्ने व्यवस्था हुनुपर्छ । उनले भन्सार पूर्वाधार बिना नाका खुलेको कुनै अर्थ नहुने गुरुङले बताउँनुभयो ।

कोरलानाका उपल्लो मुस्ताङका नागरिकले चीनको सीमाना कोरलाको तिब्बती भूमि लिजी बजारमा पुगेर सामान आयात गर्ने गरेका छन्। तर, नाका खुले पनि नेपाल पक्षबाट कुनै पनि सामान निर्यात गर्दा राजस्व भने हालसम्म संकलन हुन नसकेको निमित्त प्रमुख बिष्टले बताए।


कोरलानाका खुला भएको डेढ वर्ष बितिसक्दा हालसम्म करिब ३ हजारको हाराहारीमा उपल्लो मुस्ताङका नागरिकले कोरला सीमापार पास लिएका छन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्थानीय तहको सिफारिसमा तल्लो मुस्ताङका आंशिक नागरिकलाई कोरला प्रस्थान अनुमति पत्र (पास) वितरण गरिसकेको छ। नाकाबाट खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक सामान, तिब्बती वास्तुकला सामग्री, कृषि उपकरण, र किराना सामान आयात हुने गरेको पाइन्छ । 





प्रतिक्रिया