मुस्ताङ आएका पर्यटकको नजरमा मुस्ताङको कोशेली

फोटो क्याप्सन ः मुस्ताङको पुथाङ एअरपोर्ट जोमसोम कोशेली घरमा पर्यटकको क्रेज । तस्विर : सुन्दरकुमार थकाली ।


जोमसोम—धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङ कृषि र पर्यटनको प्रसिद्ध हब बन्दै जान थालेको छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजना सहज हुदै जान थालेपछि मुस्ताङको आर्थिक समृद्धिको मुख्य आधार कृषि र पर्यटन बन्न थालेको हो ।

मुस्ताङमा बर्सेनि लाखौं पर्यटक मुस्ताङ  भित्रिदै गर्दा यहाँको पर्यटन व्यवसायले मात्रै होईन, यहाँको कृषि उत्पादनले पनि राम्रो बजार पाएको छ । मुस्ताङ भन्ने बिक्तिकै पर्यटकले यहाँ स्याउ,खुर्पानी,ओखर आदी फलफूललाई झट्ट सम्झने गर्छन । त्यसो मुस्ताङमा स्याउ तथा अन्य शितोष्ण हावापानीमा उत्पादन हुने फलफूलले बनेका विभिन्न परिकार निर्माण हुन्छन् । मुक्तिनाथ दर्शनका साथै मुस्ताङ जिल्लाको भ्रमण गर्ने पर्यटकले फर्किदा यहाँको कृषि उत्पादन कोशेलीको रुपमा लैजाने गर्छन । 

स्याउ लगायतका फलफूलबाट जिल्लाका कृषकको प्रत्यक्ष आम्दानी छदैछ त्यसका अलावा यहाँको कृषि उत्पादन बिक्री गर्न बसेका कोशेली घरले पनि गतिलो आम्दानी गर्न थालेका छन्् । मुस्ताङको सदरमुकाम जोमसोम,पुथाङ एयरपोर्ट,मुक्तिनाथ,मार्फा,कागबेनी लगायतका स्थानमा बग्रेल्ती कोशेली घरहरु संञ्चालनमा छन् । यसका अलावा राष्ट्रिय राजमार्ग सडकको फुटपाथमा समेत कतिपयले मुस्ताङको उत्पादन बिक्री गर्न बस्छन् ।

 मुस्ताङका कोशेलीघरमा पर्यटकको क्रेज बर्सेनि वृद्धि हुँदै जान थालेको छ । हिमाली जिल्लाको शितोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारी र याकच्याग्राको सुकुटी स्वादिलो र पोषिलो हुन्छ । यसै भएर पनि मुस्ताङका उत्पादनमा पर्यटकको आर्कषण बढेको हो । मुस्ताङ  भ्रमण गरेका पर्यटकले यहाँबाट केही न केही स्थानीय उत्पादन कोशेलीको रुपमा लैजाने गरेको पुथाङ एअरपोर्टमा मुस्ताङ कोशेली घर एण्ड सप्लायर्स चलाएर बसेका स्थानीय रामलाल बिकले जानकारी दिए । विक आन्तरिक पर्यटकलाई स्याउ तौलदै गरेका थिए । उनको कोशेली घरमा नेपाली पर्यटक स्थानीय उत्पादन खरित्न झुम्मिएका थिए । कोशेली घरका संञ्चालक विक भन्छन्‘ मुस्ताङ आउने पर्यटकले यहाँको उत्पादन किनेर लैजान्छन्,  कोशेली घर चलाएर राम्रै आम्दानी भएको छ । हामीले प्रायगरी यहाँकै उत्पादनलाई प्राथमिकता दिएर कोशेली घर चलाएका छौं।’ उनले मुस्ताङका कृषकको बगैचामा पुगेर फलफूल र अन्य सामाग्री खरिद गर्ने गरेको बताए । उनले कृषि उत्पादन जुटाउन भने निकै गारो हुने संञ्चालक विकको भनाई छ ।

 मुस्ताङको जोमसोम,पुथाङ एरपोर्ट र मार्फामा दर्जनौ कोशेली घरहरु खोलिएका छन् । यहाँका कोशेली घरहरुले स्याउ,स्याउको सुकुटी, स्याउको जुस, जाम,ब्रान्डी ,ओखर ,खुर्पानी,वाईन,साईडर लगायतका कोशेलीहरु बिक्री गर्ने गरेको पुथाङ एअरपोर्ट स्थित सरोज फलफूल तथा किराना पसल चलाएकी बलदेवी फगामीले उल्लेख गरिन् । उनले सिजनको समय दशैं ,तिहार र चैते दशैको समयमा पर्यटकहरुले यहाँको कोशेली लैजाने गरेको बताईन् । 

मुस्ताङका कोशेली घरहरुमा मुख्य रुपमा बिक्री हुने यहाँको स्याउ नै हो । मुस्ताङमा उत्पादित स्याउ मध्ये करिव २० प्रतिशत स्याउ जिल्लामै खपत हुन्छ । यसवर्ष मुस्ताङमा ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा ९२ करोडको स्याउ आम्दानी भएको प्रक्षेपण कृषि ज्ञान केन्द्रले गरेको छ । यो वर्ष स्थानीय जातका लोकल स्याउ ६ हजार ८० मेट्रिक टन र ईटालीबाट आयात गरिएको उच्चघनत्वको हाईब्रिट स्याउ  १ हजार २५० मेट्रिक टन फलेको थियो । सडक सहज भएसंगै यहाँ उत्पादित कृषि उत्पादनको बजारिकण समस्या कुनै समस्या छैन । यसैका कारण कृषि क्षेत्रमा यहाँका कृषकहरुको आर्कषण बढेको छ ।

 मुस्ताङका कोशेली घरहरुमा मुख्यतया स्याउ र स्याउबाट बनेका विभिन्न परिकार बिक्री गर्न राखिने गरिएको छ । यसका अलावा टिमुरको छोप, याकको पुच्छर, छुर्पी, फापरको पिठो र सिमीको दाल ,बोडीको दाल र जिम्मु आदी बिक्री गर्ने गरिन्छ । कतिपय कोशेली घरमा याकचौरीको सुकुटी मासु समेत बिक्री गर्न राखिएको छ ।

 मुस्ताङमा एक दर्जन बढी फलफूल प्रशोधन केन्द्र (डिस्टिलरी संञ्चालनमा छन् । मुस्ताङमा  संञ्चालनमा रहेका फूलफूल प्रशोधन उद्योगहरुले विभिन्न परिकारहरु तयार गरी बिक्री गर्छन् ।



प्रतिक्रिया