विगत ७ वर्षदेखि भाडामा कार्यालय संञ्चालन गर्दै आईरहेको मुस्ताङको थासाङ गाउँपालिकाले प्रशासकीय भवन बनाउँन सुरु गरेको छ । यहाँको पालिकामा केन्द्र सम्वन्धि बिवादले पालिकाको प्रशासकीय भवन निर्माण प्रभावित बनेको थियो ।
थासाङ गाउँपालिकाको केन्द्र सम्वन्धि विवादको रिट सर्वोच्च अदालतले खारेज गरेसंगै यहाँको पालिकाको प्रशासकी भवन निर्माणको बाटो खुलेको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो ।‘ संघीयताको ७ वर्षसम्म यहाँको केन्द्र कोवाङमा घर भाडामा कार्यालय संञ्चालन गर्दैआईरहेका छौं, हामी कहाँ केन्द्र विवादको मुद्ध सर्वोच्चमा परेको थियो,’ अध्यक्ष गौचनले भन्नुभयो,‘ अहिले त्यो मुद्धा सर्वोच्चले खारेज गरिसकेको छ ,यसका कारण यहाँको पालिकाका प्रशासकीय भवन निर्माणमा जुटिसकेका छौं ।’
थासाङ गाउँपालिकाको केन्द्र सुरुआती चरणबाट मुस्ताङको कोवाङमा कायम छ । यहाँ गाउँपालिकाको भट्टचन समाजघरलाई वार्षिक भाडा बुझाउने गरी कार्यालय संञ्चालन हुँदैआईरहेको छ । हाल केन्द्र विवाद समाधान भएसंगै यहाँको पालिकाका लागि कार्यालय भवन निर्माण गर्ने बाटो खुलेको थासाङ—२ का वडाध्यक्ष गौतश शेरचनले जानकारी दिनुभयो । वडाध्यक्ष शेरचनले यहाँको पालिकालाई प्रशासकीय भवन निर्माण गर्न थासाङ—२ स्थानीयहरु दुरेन्द्र शेरचन,विष्णुप्रसाद शेरचन,प्रविण गौचन र राम थकाली लगायतले करिव ६ रोपनी भन्दा बढी जग्गा निःशुल्क दान गरेको बताउँनुभयो ।
थासाङ गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यहाँको प्रशासकीय भवन निर्माणको प्रक्रिया सुरु गरेको गाउँपालिकाका ईन्जिनीयर त्रिलोचन गिरिले जानकारी दिनुभयो । गाउँपालिकाको ४० प्रतिशत र संघीय सहरी विकास मन्त्रालय,स्थानीय पूर्वाधार आयोजना(डोलीडार)को ६० प्रतिशत लागत साझेदारीमा प्रशासकीय भवन निर्माण गरिने ईन्जिनीयर गिरिले उल्लेख गर्नुभयो ।
गाउँपालिकाले निर्माण गर्ने साँढे तीन तलाको प्रशासकीय भवनको कुल लागत अनुमान ११ करोड ५३ लाख रहेकोमा ८ करोड ४९ लाखमा शर्मा एण्ड अनिश आशिष जेभी पोखराले ठेक्का सम्झौता गरेको ईन्जिनीयर गिरिले जनाउँनुभयो ।
यहाँको पालिका प्रशासकीय भवन निर्माणका लागि बाईस महिनामा सम्पन्न गर्ने गरी चालु वर्षको ६ जेठमा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको हो । सम्झौता म्याद अनुसार वि.स. २०८३ सालको ३० फागुनमा सम्पन्न हुनुपर्नेछ ।
यहाँको पालिका प्रशासकीय भवन निर्माणका लागि निर्माण कम्पनीले ठेक्का मोबिलाईजेसन वापत डोलीडारबाट २५ लाख र गाउँपालिकाबाट ४३ लाख गरी ६८ लाख रकम पेश्की लगेको ईन्जिनीयर गिरिले जानकारी दिनुभयो । प्रशासकीय भवन निर्माणका लागि डोलीडारले ५ करोड ४० लाख र अन्य बजेट गाउँपालिकाले व्यवहोर्ने गरी लागत साझेदारी गरिने उहाँको भनाई छ । यसका लागि आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले २ करोड बजेट विनियोजन गरेको ईन्जिनीयर गिरिले स्पष्ट पार्नुभयो ।
थासाङ गाउँपालिकाले जग्गादाताले दान गरेको जग्गामा प्रशासकीय भवन निर्माण गर्न जग्गा सम्झाउँनेदेखि जग्गाको लेवल मिलाउने लगायतका काम गरिहेको जनाएको छ । गाउँपालिकाले प्रशासकीय भवनमा ३० वटा कोठाहरु निर्माण हुने जनाएको छ । जसमा प्रशासनिक कक्ष,कर्मचारी आवास कोठा, बैठक कक्ष,सभाहल,विषयगत शाखा कक्ष, अपाङमैत्री पूर्वाधार,स्तनपान कक्ष र सवारी पार्किङ लगायतका भौतिक संरचना निर्माण गरिने बताइएको छ ।
यसअघि मुस्ताङका पाँच पालिका मध्ये थासाङ गाउँपालिका बाहेक सबै पालिकाले आफ्नो प्रशासकीय भवन निर्माण गरिसकेका छन् । पालिका भवन बनेपछि गाउँपालिकाको प्रशासनिक कार्यसम्पादनका साथै गाउँपालिकाको आर्थिक भारलाई समेत कम गर्ने जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली