घमी सेटलाईट फार्मलाई ८०१ रोपनी जग्गा

जोमसोम ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड—२ घमीमा सेटलाईट कृषि फार्म स्थापनाका लागि ८०१ रोपनी जग्गा प्राप्त भएको छ ।  यहाँको उत्पादन हुने शीतोष्ण फलफूल तथा स्याउको भविष्य कालान्तरसम्म जिवित राख्न सकिने गरी घमीमा सेटलाईट कृषि फार्मको अवधारणा अघि सारिएको थियो । त्यहाँका लागि जग्गा प्राप्ति भएसंगै सेटलाईट कृषि फार्मको गुरुयोजना अघि बढाउने समेत बाटो खुलेको छ ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्वन्धि कार्यनीति २०७९ मा व्यवस्था भएअनुरुप मुस्ताङको घमीमा  सेटलाईट फार्म स्थापनाका लागि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा जग्गा प्राप्ति भएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।

केन्द्रले सेटलाईट फार्म स्थापनाका लागि विभिन्न सरोकारवाला निकायसंग दुईवर्षअघिबाट प्रक्रिया अघि बढाएकोमा शुक्रबार मात्रै केन्द्रको नाममा जग्गा प्राप्ति प्रक्रिया टुुंगिएको केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो ।

घमीमा स्थापना गरिने सेटलाईट फार्मका लागि प्राप्त जग्गा केन्द्रको नाममा रहेको र केन्द्रको शाखा अन्तर्गत घमीमा सेटलाईट कृषि फार्म स्थापना हुने जनाईएको छ । मालपोत कार्यालय मुस्ताङका प्रमुख सुर्य शर्मा अर्यालले केन्द्र प्रमुख पद्मनाथ आत्रेयलाई सेटलाईट फार्मका लागि लालपूर्जा हस्तान्तरण गरेको मालपोत कार्यालय मुस्ताङले जनाएको छ ।

जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रमा उत्पादन हुने स्याउ लगायत शीतोष्ण फलफूल प्रजातीहरुले माथि माथि उचाईको स्थानमा बसाई सार्दै गरिएको अवस्थामा यहाँको स्याउ खेतीलाई दीर्घकालसम्म बचाई राख्न माथिल्लो मुस्ताङको घमीमा सेटलाईट फार्मको स्थापना गर्ने योजना रहेको हो । यहाँ उत्पादन हुने ३५ प्रजातीका स्याउ लगायत शीतोष्ण फलफूल अन्तर्गत ओखर,कागजी बदाम,आरु, आरुबखडा,खुर्पानी,स्वीट चेरी र अंगुर लगायतका फलफूल जातहरुको संरक्षण गरी सयौं वर्षसम्म स्याउको राजधानीका रुपमा स्थापित गराईराख्न चुनौती रहेकाले माथिल्लो भूभागमा सेटलाईट फार्मको अवधारण बनेको केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो । तत्काल जग्गा प्राप्ति टुंगिएकाले चाँडै घमीमा केन्द्रको शाखाको रुपमा सेटलाईट फार्म स्थापना गरी  विभिन्न प्रजातीका विरुवाहरुको सुरक्षितका साथ स्थान्तरण गरिने लक्ष्य रहेको केन्द्र प्रमुख आत्रेयले जनाउँनुभयो ।

यसैगरी तल्लो मुस्ताङ र माथिल्लो क्षेत्रमा स्याउ लगायतका विरुवा रोपण गर्ने तालिका फरक फरक भएकाले केन्द्रमा उत्पादन हुने विरुवा माथिल्लो क्षेत्रका कृषकहरुलाई अनुकुल हुँदैन । यसकारण सेटलाईट फार्म स्थापना भई उक्त स्थानमा विरुवा उत्पादन भएको अवस्थामा त्यहाँका किसानका सबै समस्याहरु निराकरण हुने विश्वास गरिएको छ ।

यसैगरी यहाँको तल्लो मुस्ताङमा पछिल्लो समय धेरै पानी पर्न थालेका र माथिल्लो मुस्ताङमा जलवायु अनुकुलनता अपनाउँदै तरकारीको बीउ उत्पादनको दृष्टिकोणबाट पनि अन्त्यन्तै सम्भावना रहेको केन्द्र प्रमुख आत्रेयको भनाई छ । उपल्लो मुस्ताङमा सयौं हेक्टर जमिन बाँझा रहेको र त्यहाँ सिचाईको व्यवस्थापन गर्न सकेमा प्रसस्तै स्याउ फलाउन सकिनेछ ।


प्रतिक्रिया