मुस्ताङ, ७, असार ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको विशेष पहलमा उपल्लो मुस्ताङको घमीमा शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्याटलाईट कृषि फार्म स्थापना हुने भएको छ । केन्द्रमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीको संरक्षण तथा प्रर्वद्धनका साथै बाली स्थान्तरण गर्ने उद्देश्यले उपल्लो मुस्ताङको घमीमा स्याटलाईट कृषि फार्म स्थापना गर्ने तयारी गरिएको हो ।
यसका लागि शीतोष्ण बागवानी विकास केन्द्रले जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पु¥याएको कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । त्यहाँ केन्द्रको शाखा फार्म स्थापनाका लागि आठ सय एक रोपनी क्षेत्रफल जग्गा नेपाल सरकारको नाममा दर्ज भईसकेको र अब केही महिना भित्रै उक्त जग्गा बागवानी केन्द्रको नाममा दर्ता प्रक्रिया टुंग्याईने केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ लगायतका शीतोष्ण फलफूल तथा तरकारी बालीले बिस्तारै माथि माथि उकालो बसाई सर्दै गईरहेकाले उपल्लो मुस्ताङको घमीमा बागवानीको स्याटलाईट कृषि फार्म स्थापना गर्नुपर्ने परिस्थिती निर्माण भएको केन्द्र प्रमुख आत्रेयको भनाई छ ।
मुस्ताङको तल्लो भेकमा उत्पादन हुने स्याउ, ओखर, आरु, आरु बखडा, खुर्पानी, कागजी बदाम, अङ्गुर लगायतका फलफूलहरु जलवायु परिवर्तनको असरका कारण बसाई सर्दै जान थालेको छ । यीनै शीतोष्ण फलफूल तथा तरकारी बालीहरुलाई संरक्षण गर्न उपल्लो मुस्ताङमा स्याटलाईट फार्म स्थापना गर्ने तयारी गरिएको हो ।
उपल्लो मुस्ताङमा बागवानी केन्द्रको शाखा फार्म विस्तार भएमा उपल्लो मुस्ताङका किसानलाई ठुलो टेवा पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । “उपल्लो मुस्ताङका किसानलाई फलफूल तथा तरकारीको बीउ र बिरुवा ढुवानी गर्न निकै समस्या छ, ढुवानी खर्च पनि महंगो पर्न जान्छ,“ अध्यक्ष बिष्टले भन्नुभयो, “माथिनै बागवानीका शाखा स्थापना भएपछि उपल्लो भेंकका किसानले सजिलै बिरुवा पाउनसक्ने अवस्था हुन्छ, यो हामीहरुका लागि निकै अवसर र खुसीको कुरा पनि हो ।’’ उपल्लो मुस्ताङमा फार्म स्थापना गर्न पालिका र स्थानीय समुदायले जग्गा प्राप्तिका लागि बागवानी केन्द्रलाई निरन्तर सहजीकरण गरिरहेको बताउँनुभयो ।
उपल्लो मुस्ताङमा केन्द्रको नाममा जग्गा प्राप्ति प्रक्रिया टुंगिने बिक्तिकै कार्यालय स्थापना र फार्म विस्तार गर्ने प्रक्रिया अघि बढाईने बागवानी विकास केन्द्रले जनाएको छ । उपल्लो मुस्ताङको घमीमा फार्मका लागि ३ वटा कित्ता रहेको र त्यहाँ विभिन्न फलफूल तथा तरकारीका बीउ तथा बिरुवा उत्पादन गर्न विभिन्न ब्लकहरु निर्माण गरिने जनाईएको छ ।
बागवानी विकास केन्द्र मार्फाले बर्सेनि किसानलाई पुस र माघ महिनामा स्याउ लगायतका फलफूलहरु बिरुवा वितरण गर्ने गर्छ । तर ,त्यससमय उपल्लो मुस्ताङका किसान जाडो छल्न बेसी झर्ने भएकाले त्यहाँ चैत÷बैशाख महिनामा मात्रै स्याउका बिरुवा रोपण गर्ने गरिन्छ । उक्त समस्यालाई समाधान गर्न पनि उपल्लो मुस्ताङमा स्थापना हुने सेटलाईट फार्मले योगदान पु¥याउने बागवानी विकास केन्द्रको भनाई छ ।
उपल्लो मुस्ताङमा ठुलो मात्रामा कृषि क्षेत्र विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको र मुस्ताङलाई अबको सयौं बर्षसम्म पनि स्याउकै राजधानी भनेर चिनाउनको लागि पनि उपल्लो मुस्ताङमा स्थापना हुने फार्मले त्यहाँका किसानलाई थप उत्प्रेरित गराउने विश्वास केन्द्रले लिएको छ ।
आजभन्दा करिव तीस पैंतिस वर्ष अघि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते र कुञ्जो क्षेत्रमा राम्रो स्याउ उत्पादन हुने गथ्र्यो तर, जलवायु परिवर्तनका कारण अहिले उक्त स्थानमा स्याउ खेती हुन छोडेको पनि वर्षौवर्ष भईसकेको छ । जलवायु परिवर्तन र बढ्दो तापमानका कारण उक्त स्थानमा स्याउको सट्टामा समशीतोष्ण हावापानीमा हुने किबीफलको उत्पादन हुन थालेको छ ।
मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र वि.स. २०२३ सालमा स्थापना भएको हो । फार्म स्थापना भए पश्चात मुस्ताङमा व्यवसायिक स्याउ खेती प्रारम्भ भएको केन्द्रको भनाई छ । मार्फाको बागवानी विकास केन्द्रले मुस्ताङका स्थानीय किसानलाई फलफूल तथा तरकारीको गुणस्तरीय बीउ र विरुवाहरु उत्पादन गरी बिक्री वितरण गर्ने गर्दछ ।
हाल शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको कुल १९६ रोपनि जग्गा रहेको छ जस्मा मार्फामा १७५ रोपनी, घाँसामा २० रोपनी र जोमसोममा १ रोपनी जग्गा छ । केन्द्रले मार्फामा ४ वटा ब्लकहरुमा फलफूलको बिरुवा तथा तरकारीको बीउ का साथसाथै ताजा फलफूल तथा तरकारी उत्पादन गर्दै आईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली