भन्सार छलीको आशंका गरी नियन्त्रणमा लिएका गाडीको आधिकारिक जानकारी छैन : भन्सार प्रमुख बिदुर चुडाल

 सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशंकमा मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा बिद्युतीय सवारी साधन नियन्त्रणमा लिईएको घटनाप्रति मुस्ताङ भन्सार कार्यालयलाई आधिकारिक जानकारी प्राप्त नभएको भन्सार प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो ।

 मुस्ताङको लोमान्थाङ हुँदै पोखरा झर्दै गरेका बिद्युतीय सवारीसाधनलाई जोमसोम,पर्वतको कुस्मा र कास्कीको हेम्जा लगायतका स्थानमा गएराति सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाचार बाहिरिएको थियो ।

सो घटनापछि यहाँ स्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले  पछिल्लो पटक कोरलानाकाबाट भित्रिएका ६४९ वटा बिद्युतीय सवारी साधनको मात्रै भन्सार जाँचपास भएको र त्यसपछि जाँचपास नभएको जानकारी दिनुभयो ।   कोरलाबाट पोखरा झर्दै गरेका बिद्युतीय सवारी साधन कसले,किन ,कसरी र के कारणले रोकेको हो भन्ने कुरा भन्सार कार्यालयलाई  आधिकारिक जानकारी नभएको प्रमुख चुडालले बताउँनुभयो ।

 ‘सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको भन्ने सुन्नमा आएको र यस बिषयलाई नोटिसमा राखिएको,भन्सार प्रमुख चुडालले भन्नुभयो ,‘ यसबारेमा विभागमा पनि जानकारी गरिएको छ, बाँकी कुरा रोक्ने निकायलाई सोध्दा उपयुक्त होला ।’

 कोरला नाका हुँदै बेसी झरेका बिद्युतीय सवारीको संख्या र हामीले जाँचपास गरेका बिद्युतीय सवारी साधनको संख्या नमिलेको भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो । भन्सार प्रमुख चुडालले भन्सार जाँचपास हुन बाँकी रहेका बिद्युतीय सवारी पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हुनसक्ने बताउनुभयो । नियन्त्रणमा रोकिएका बिद्युतीय सवारीका बारेमा कसैले पनि जानकारी नगराएको भन्सार प्रमुख चुडालको भनाई छ ।


प्रतिक्रिया