जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाका ५ वटै वडा जोड्ने घरपझोङ रिङरोड सडकमा बिच्छ्याईएको कमसल कालोपत्रे एक महिना नपुग्दै उप्किएको छ ।रिङरोड सडक अन्तर्गत जोमसोम—ठिनी ३ किमी दुरीमा कार्तिक महिनामा बिच्छ्याएको कालोपत्रे उप्किएको हो ।
गण्डकी प्रदेश सरकार अन्तर्गत मुस्ताङको जोमसोम,ठिनी,ढुम्बाताल,सम्ले छैरो र चिमाङ लगायतका गाउँहरु जोड्ने ‘एक निर्वाचन क्षेत्र ,एक सडक’२०७६ साल कार्तिक २१ गते बन्दना भगवती जेभी कन्ट्रक्सनले २१ करोड ४३ लाख १३ हजार लागतमा ठेक्का सम्झौता गरेको हो ।सुरुवाती ठेक्का सम्झौता अनुसार घरपझोङ रिङरोड सडक २०७७ माघ महिनामा सकिनु पर्ने थियो । तर, रिङरोड सडक निर्माणमा ठेकेदार कम्पनीको चरम बेवास्ताका कारण ५ पटकसम्म म्याद थप भईसक्दा समेत सम्पन्न हुन सकेको छैन ।
गण्डकी प्रदेस सरकारले तत्कालिन समय घरपझोङ गाउँपालिकाको पर्यटकीय गाउँ ठिनी हुँदै ढुम्बाताल, ढुम्बा गाउँ, छैरो र चिमाङ जोड्ने १० दशमलव ५ किमी सडक योजनाको ठेक्का खुलाएको थियो । ठेक्का सम्झौता अनुसार बन्दना भगवती जेभी कन्ट्रक्सनले रिङरोड सडकको जोमसोम—ढुम्बातालसम्म ड्रेनसहित ८ मिटर चौडा सडकमा ५ किमी प्रिमिक्स कालोपत्रे गर्ने र बाँकी ५ दशमलव ५ किमी दुरीमा ग्राभेल सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ ।
जीर्ण आयोजना अन्तर्गत एक वर्ष म्याद थप पाएको घरपझोङ रिङरोड सडक अन्तर्गत जोमसोम—ठिनी ३ कि.मी.दुरी निर्माण कम्पनीले जसोतसो कालोपत्रे गरेको छ । तर, कम्पनीले गरेको कालोपत्रे कमसल खालको प्रिमिक्स कालोपत्रे भएकाले आधा दर्जन स्थानमा कालोपत्रे उप्क्एिको छ । उक्त रिङरोड सडकको ठिनी गाउँ सम्म विस्तार गरिएको कालोपत्रे गुणस्तरहिन भएको स्थानीय नागरिकको गुनासो छ । उनीहरुले ठेकेदारले काम चलाउ कालोपत्रे गरेको र अनुगमन गर्ने कार्यालयले उपयुक्त ढंगले सडकको अनुगमन नगरेको आरोप लगाएका छन् ।
यता,पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी ईन्जिनीयर घनश्याम रोक्कामगरले कालोपत्रे सडकमा केही समस्या आएको देखिएमा निर्माण कम्पनीले पूनः कालापत्रे गराउने शर्त रहेको जानकारी दिए ।‘ठेकेदारले अनुकुल समयमा काम गरेन,कामलाई ढिला सूचारु ग¥यो, सूचना अधिकारी ई. रोक्कामगरले भने,‘ हामीले काम गर्छु भनेपछि नगर भन्न सकिएन, ठिनी गाउँ सम्म जसोतसो कालोपत्रे गरौ न भनेर गर्न दियौं, चिसोका कारण कालोपत्रे बिग्रिएको हुनसक्छ ।’
सूचना अधिकारी ईन्जिनीयरले घरपझोङ रिङरोड सडकको भौतिक प्रगती ७६ प्रतिशत सम्पन्न भएको जानकारी दिए । उनले रिङरोड सडकका लागि बजेट कम भएकाले सडक निर्माणको काममा ढिलासुस्ती भएको जनाए ।
पूर्वाधार विकास कार्यालयबाट संञ्चालित मुस्ताङको घरपझोङ रिङरोड सडकमा ठेकेदारको चरम वेवास्ताका कारण सडक विस्तारको विकासे काम निकै ढिलो हुन पुगेको हो । पछिल्लो समय सार्वजनिक खरिद नियमावलीको १३ औ संशोधन आएपछि रिङरोड सडकको म्याद एक वर्ष थपिएको छ ।
मुस्ताङको घरपझोङ रिङरोड सडकमा अझै सडकको स्टक्चर ,ड्रेन निर्माण र सडक फिनिसिङका कामहरु बाँकी छन् । रिङरोड सडक सम्पन्न भएको अवस्थामा घरपझोङको ठिनी,ढुम्बा,सम्ले,छैरो र चिमाङ गाउँका कृषि उपजको बजारिकरणमा निकै सघाउ पुग्ने थियो । जोमसोमदेखि ठिनीसम्म ३ किमी कामचलाउ कालोपत्रे सम्पन्न गरेको निर्माण कम्पनी बन्दना भगवती जेभी कन्ट्रक्सनले अहिले बाँकी काम अलपत्र छोडेको छ ।