जोमसोम— मुस्ताङका उच्चलेंक तथा पाटनमा बैशाखको पहिलो सातादेखि यार्सागुम्बा संकलन सुरु भएको छ । मुस्ताङको थासाङ—१ टुकुचे , थासाङ—२ कोवाङ र घरपझोङ—४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरुले यार्सागुम्बा संकलन फुकुवा गरेका हुन् ।
यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति (सीएमसी)ले यार्सा संकलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवृेदन पेश गरेका थिए । सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधिनमा रहेर तोकिएको शर्त पालना गर्ने गरी निवदेन पेश गरेका सरक्षण व्यवस्थापन समितिहरुलाई यार्सागुम्बा संकलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । हालसम्म मुस्ताङका तीन वटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा संकलन अनुमति पत्र लिइसकेको र अरु समिति पनि क्रमशः अनुमतिका लागि आउने क्रममा रहेको बताउँनुभयो ।
मुस्ताङको थासाङ ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेंक तथा पाटनमा बहुमूल्य जटीबुटी यार्सागुम्बा पाईने गर्छ । मुस्ताङको थासाङ स्थित कोवाङ र टुकुचेको उच्चलेंक तथा पाटनमा बैशाखको पहिलो सातादेखि यार्सा संकलन सुरु भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिनुभयो ।
थासाङको कोवाङलेमा यार्सा संकलनका लागि स्थानीयलाई तीन हजार र जिल्लाबाहिरका नागरिकहरुलाई छ हजार रुपैया शुल्क तोकिएको संरक्षण व्यवस्थापन समिति अध्यक्ष जीवन थकालीले बताउँनुभयो । अहिलेसम्म स्थानीय २२ जना र जिल्ला बाहिरका एक सय गरी कुल एक सय २२ जनाले यार्सा संकलन अनुमति पत्र लिईसकेको उहाँले जानकारी दिनुभयो । कोवाङ समिति अन्तर्गत मुली खर्क, मार्चे लेंक, लगायतका आधा दर्जन पाटनमा यार्सा संकलन गर्ने सुविधा रहेको अध्यक्ष थकालीको भनाई छ ।
यसैगरी थासाङको टुकुचेमा पनि धमाधम यार्सासंकलन पूजी वितरण भईरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेका सचिव दीपसागर थकालीले उल्लेख गर्नुभयो । टुकुचे समितिबाट ३ बैशाखबाट यार्सा पूर्जी वितरण भईरहेकोमा अहिलेसम्म ५५ जना भन्दा बढी यार्सा संकलन गर्न लेंकतर्फ प्रस्थान गरिसकेको सचिव थकालीले जानकारी दिनुभयो । थासाङको कोवाङ समितिले स्थानीयलाई एक हजार र अन्य व्यक्तिाई तीन हजार शुल्क उठाउने गरेको सचिव थकालीले बताउँनुभयो । थासाङको टुकुचे समितिबाट पूर्जी लिएकाले मार्चे लेंक, बतासे लेंक चिउदो खर्क र धम्पुस लेंकमा यार्सा संकलन गर्न पाउँने सचिव थकालीको भनाई छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि सोमबारदेखि यार्सासंकलन सुरु भएको संरक्षण व्यवस्थापन समिति जोमसोमका सचिव पवन गुरुङले जानकारी दिनुभयो । एक्यापको अनुमतिमा समिति मार्फत पहिलोदिन ४० जनालाई यार्सासंकलन अनुमति पत्र वितरण गरिएको सचिव गुरुङको भनाई छ । जोमसोम सरक्षण व्यवस्थापन समितिले संकलनलाई स्थानीय कुरिया दर्ता भएकोलाई चार हुजार र कुरिया दर्ता नभएको र अन्यलाई ६ हजार रुपैया यार्सा संकलन शुल्क लिने गरेको सचिव गुरुङले उल्लेख गर्नुभयो । यार्सा संकलन पास वितरण एक हप्तासम्म रहने सचिव गुरुले जनाउँनुभयो ।
मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिकामा यार्सागुम्बा संकलन सुरु हुँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यार्सा संकलनकार्य सुरु भईनसकेको मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिनुभयो । मुक्तिनाथ समितिले अझै यार्सा संकलनका लागि एक्यापसंग पूर्व स्वीकृति समेत लिएको छैन ।
समितिका सचिव लाक्पाटसी गुरुङले यार्सा संकलन पूर्जी वितरणका लागि चाँडैनै समितिकोब बैठक बसेर निर्णय लिईने जानकारी दिनुभयो । ‘ हामी कहा अन्यत्रको भन्दा केही ढिलो सुरु हुन्छ, यसको कारण उच्चलेंक र पाटनमा हिउँ जमेको छ’, सचिव गुरुङले भने , सम्भवत जेठको दोस्रो साता यार्सा संकलन फुकुवा गर्ने कुरा छ, हामी त्यही अनुसारको सुविधा दिने गरी अघि बढ्छौं ।’
मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले आफ्नो मातहतमा पर्ने मुक्तिनाथ लेंक, रिसम्वा लेंक ,नेर लेंक र लुप्रा लेंक लगायतमा यार्सा संकलन पूर्जी दिने गरेको सचिव गुरुङको भनाई छ । गत वर्षसमितिले एक जेठदेखि यार्सा संकलन अनुमति दिएको र यो वर्ष केही ढिला हुनसक्ने बताउँनुभयो । मुक्तिनाथ सरक्षण व्यवस्थापन समितिले गतवर्ष स्थानीयलाई २ हजार र अन्यलाई ७ हजार शुल्क लिएको सचिव गुरुङले जानकारी दिनुभयो ।
यस्तै, मुस्ताङका अन्य लेंकमा पनि आशिंक रुपमा यार्सा संकलन हुने गरेको छ । एक्यापको अनुमतिमा सम्वन्धि समितिले संकलन गरेको यार्सा संकलन शुल्क समितिले सामाजिक कार्यका लागि खर्च गर्न पाउँने अधिकार छ ।
मुस्ताङमा एक्यापले १५ असारसम्म उच्चलेंक र पाटनमा यार्सासंकलन गर्न पाउँने गरी सम्वन्धित सरक्षण व्यवस्थापन समितिलाई अनुमति प्रदान गरेको हो । यार्सा संकलन अवधिभर संम्भावित सुरक्षा जोखिम र दुर्घटना न्यूनिकरण गर्न सुरक्षा निकायसंग समन्वय र सहकार्य गर्ने र संकलकलाई सचेत बनाउँने, वन्यजन्तु तथा अन्य बनपैदावारहरुको संरक्षणका लागि चोरी शिकारी र अवैध गतिविधि हुन नदिने, बन डेढेलो हुनबाट रोक्ने र उच्चलेंक र पाटनमा फोहोर प्रदुषण गर्न नपाईने गरी संकलकलाई सचेत गराईएको छ ।
एक्याप ,डिभिजन वन कार्यालय,संरक्षण व्यवस्थापन समिति ,सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरुले सम्वन्धित स्थानमा नियमित यार्सा संकलन क्षेत्रमा पुगेर अनुगमन गर्ने निर्णय गरिएको छ ।