अत्यधिक चिसो कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण कार्य ठप्पै भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसंगै मुस्ताङका पाँचै वटै स्थानीय तहमा कार्यान्वयनमा आईरहेका पूर्वाधार विकास निर्माणका कामहरु ठप्प हुन पुगेको हो ।
यहाँ स्थित उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक खण्ड अन्तर्गत खण्डको सडक तथा पूल निर्माण योजनाहरु अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । अत्यधिक चिसोका कारण मजदुरलाई चिसो थेग्दै काम गर्न नसक्ने अवस्था रहेको र विकास निर्माणमा परिचालित उपकरणहरु चिसोका कारण स्टार्ड नहुने लगायतका समस्याका कारण पुस अगावै कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको आयोजना प्रमुख शर्माको भनाई छ ।
राष्ट्रिय गौरवको कोरला सडक खण्ड अन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका कामहरु चैत्र महिनापछि पुनः संञ्चालनमा आउने आयोजना प्रमुख शर्माको भनाई छ । आयोजना प्रमुख शर्माका अनुसार कोरला सडक अन्तर्गत चालु आ.व.मा ठेक्का सम्झौता भएको (कागबेनी—छुसाङ) ९ दशमलव ८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी—छुसाङ सडक कालोपत्र गर्न आयोजनाले २८ करोड ८७ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।
आयोजना अन्तर्गत वि.स. २०७५ सालमा ठेक्का सम्झौता भएको कोरलानाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड ईमोटल जेभी कन्ट्रक्सनले ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाईएको यहाँको घमी खोला पुल निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण पुल निर्माणमा विलम्व भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । यहाँ एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहेपनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाई छ ।
यसैगरी कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी—जोमसोम—कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका—२ कोवाङदेखि घरपझोङ—४ जोमसोम सम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ । वि.स. २०७३÷०७४ सालदेखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भएपनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पुरा हुन सकेको छैन । यद्यपी यहाँको सडकमा करिव ५ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । निर्माण कम्पनीले अस्थितर तरिकाले काम गरेको भएपनि पुस अगावै निर्माणको काम चिसोका कारण जनाउँदै काम ठप्प पारेको आयोजनाको भनाई छ ।
यसैगरी कोरला सडक अन्तर्गत थासाङ गाउँपालिकामा निर्माणधिन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो ।
अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौं संघीय,प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजनाहरु ठप्प भएका हुन् । मुस्ताङ स्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ वटा र चालु वर्ष थपिएका १३ वटा नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवईन्जिनीयर जगदीश जोशीले जानकारी दिनुभयो । सवईन्जिनीयर जोशीका अनुसार घरपझोङ—२ मार्फा स्थित आलबारी जाने सडकमा कटिङको काम भईरहेको भएपनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकाँश योजना चिसोका कारण स्थगित गर्नुपरेको बताउँनुभयो । पुराना बहुवर्षीय योजनाहरु विभिन्न कारणले अवरुद्ध भएको र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ नयाँ योजनाहरु मध्ये तीन वटा बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपयको ठेक्का प्रक्रियामा रहेका छन् । ठेक्का सम्झौता भई सुरु भएका नया ँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवईन्जिनीयर जोशीको भनाई छ ।
मुस्ताङमा अत्यधिक चिसो बढेसंगै खानेपानी,जलश्रोत तथा सिंचाई सवडिभिजन कार्यालय,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप),एकिकृत सेवा कार्यालय लगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न संघसंस्थाहरुको भौतिक पूर्वाधार निर्माण लगायतका कामहरु चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्य अन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दा बढी साना ठुला पूर्वाधार योजनाहरु कार्यान्वयनमा रहेका छन् । तर ,यि सबै योजनाहरु अत्यधिक चिसोका कारण ठप्प बनेका छन् ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र संम्भावित हिमपातको जोखिमले विकास निर्माण कामहरु चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताउँनुभयो । हिउँदयाममा यहाँका नागरिक पुरै जाडो छल्न बेसी झर्छन, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ, अध्यक्ष गुरुङले भन्नुभयो,‘ चिसो घटेपछि बैशाख महिनामा मात्रे विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वंय प्रभावित हुन्छन् ।’
चिसोका कारण यहाँको घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा संञ्चालित सबै विकास योजना ठप्प बनेको बताईएको छ । अत्यधिक चिसो बढेसंगै माथिल्लो मुस्ताङको तापक्रम माईनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माईनस १० डिग्रीमा झरेको छ ।
मुस्ताङमा अत्यधिक चिसो बढेका कारण माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकाँश सरकारी कार्यालयका कर्मचारीहरु पनि जिल्लामा बस्न छाडिसकेका छन् । चिसोका कारण विकास निर्माणका काम ठप्प हुने र सेवाग्राहीहरु समेत बेसी झर्ने भएकाले यहाँका सरकारी कार्यालयहरु सुनसान बनेका छन् । यहाँका सरकारी कार्यालयहरुमा सीमित कर्मचारीलाई कार्यालय कुर्न लगाएर स्थानीय जनप्रतिनिधि र कर्मचारी जाडो छल्न बेसी झरेका छन् ।
तर, मुस्ताङमा चिसो अत्यधिक बढेपनि यहाँका तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु सम्वन्धित कार्यस्थलमा रहेर शान्ति सुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहिन जस्तै अवस्थामा रहेपनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकहरुको रित्तो घर गाउँ कुरेर बसेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली