मुस्ताङको घाँसामा बागवानीको एकाई फार्म स्थापना

चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दैआईरहेको मुस्ताङकोे थासाङ—४ घाँसा स्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाई फार्म स्थापना गरिएको छ ।

 गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी विकास केन्द्रलाई हस्तान्तरण गरेपछि त्यहाँ केन्द्रको फार्म स्थापना सुरु गरिएको हो । म्याग्दी र मुस्ताङको सिमाना घाँसामा केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले २०५८ सालदेखि प्रयोग गरेको थियो ।

तत्कालीन समय सशस्त्र द्धन्दकालीन समयको विशेष परिस्थितीमा नेपाली सेनाको सुरक्षा पोस्ट शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको नाममा रहेको जग्गामा सुरक्षा प्रयोजनका लागि बसेको थियो । म्याग्दी र मुस्ताङको सिमानाकामा जोमसोममा रहेको नेपाली सेनाको सुरक्षा फौज मध्ये एक टुकडीलाई तत्कालीन जिल्ला नाकाको सुरक्षाका लागि व्यवस्थापन गरिएको थियो । यहाँको घाँसा स्थित बेनी—जोमसोम सडकमार्गसंगै जोडिएको केन्द्रको खाली जग्गामा नेपाली सेनाको सुरक्षा पोस्ट राखेर २४ वर्षसम्म सुरक्षा प्रदान गरिएको थियो । 

तर, गत असारमा नेपाली सेनाले देशका विभिन्न स्थानमा रहेका सैनिक सुरक्षा पोस्टहरुलाई आवश्यकता र औचित्यताका आधारमा गाँभ्ने(मर्ज) गर्ने निर्णय गरेअनुसार यहाँको थासाङ—४ स्थित घाँसामा रहेको सैनिक सुरक्षा पोस्ट जिल्लामा मर्ज गरिएको थियो । गत असारमा त्यसबेला यहाँ रहेको ईन्द्रबक्स गणले शीतोष्ण बागवानी विकास केन्द्रको जग्गा केन्द्रलाई लिखित रुपमा हस्तान्तरण गरिदिएको थियो ।

चौबिस वर्षसम्म नेपाली सेना रहेको केन्द्रको आफ्नो जग्गा फिर्ता पाएसंगै केन्द्रले एकाईको रुपमा प्रयोग गर्न प्रक्रिया अघि बढाईसकेको केन्द्रका निमित्त कार्यालय प्रमुख नविन भुसालले जानकारी दिनुभयो। केन्द्रको जग्गामा सेनाले हस्तान्तरण गरिसकेपछि यहाँ नर्सरी तथा बगैचा व्यवस्थापन लगायतका कार्यहरु अघि बढाउन गह्रा सुधार,सिंचाईको व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणका कामहरु अघि बढाईएको केन्द्रका निमित्त प्रमुख भुसालले उल्लेख गर्नुभयो ।

समुन्द्री सतहको दुई हजार मिटरको उचाईमा अवस्थित यहाँको घाँसा स्थित केन्द्रको जग्गामा मध्यम तापक्रममा उत्पादन हुने फलफूल प्रजातीका कलमी विरुवा उत्पादन, तरकारीको नर्सरी स्थापना र मध्यम हावापानीमा उत्पादन हुने फलफूल उत्पादनमा जोड दिईने लक्ष्य रहेको छ । केन्द्रका निमित्त प्रमुख भुसालले यहाँको केन्द्रको जग्गामा सबैभन्दा बढी ओखर र उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) स्याउ खेतीका साथै किवीको फलफूल खेती गर्न उपयुक्त हावापानी रहेकाले यसप्रति केन्द्रले गृहकार्य अघि बढाईरहेको उहाँको भनाई छ ।

 मार्फा स्थित केन्द्रले घाँसामा रहेको आफ्नो नामको जग्गामा  ओखरका कलमी विरुवा उत्पादनmस्वीट चेरी,आरु,आरु बखडा,खुर्पानी,किवी र अंगुर लगायतका फलफूल खेतीलाई अघि बढाईने गरी गह्रा सुधार लगायतका कार्यहरु भईरहेको केन्द्रका निमित्त प्रमुख भुसालको भनाई छ ।यसैगरी घाँसा स्थित केन्द्रको एकाई फार्ममा प्याज,लसुन, बन्दा ,काउली,गाँजर, रायो साग,मुला लगायतका तरकारीहरुको बिउँ तथा तरकारी उत्पादन गर्ने योजना रहेको जनाईएको छ ।

 यसैगरी हिउँदयामको चिसोसंगै शीतोष्ण बागवानी विकास केन्द्रमा रहेका ६ वटा मौरी घारहरुलाई तापक्रम व्यवस्थापनका लागि केन्द्रको घाँसामा स्थान्तरण गरिएको केन्द्रका निमित्त प्रमुख भुसालले जानकारी दिनुभयो । केन्द्रले स्याउ तथा शीतोष्ण फलफूलहरुको उत्पादनको गुणस्तर तथा उत्पादन वृद्धिका लागि मार्फा फार्ममा मौरी पालन गर्दैआईरहेको छ । तापक्रम व्यवस्थापनका लागि होचो स्थानमा झारिएका मौरीका घारलाई चैत÷बैशाख महिनामा साविककै स्थानमा ल्याएर राखिने केन्द्रले जनाएको छ ।

 चौविस वर्षसम्म नेपाली सेना रहेको जग्गालाई नर्सरी तथा फार्म व्यवस्थापनका लागि जग्गाको स्तरोन्नतिकार्य धमाधम भईरहेको केन्द्रले जनाएको छ । त्यहाँ सेनाले प्रयोग गरेको दुई वटा स—साना ढुंगाले छाईएका घर पनि रहेको छ । मार्फा स्थित केन्द्रले घाँसामा रहेको जग्गाको रेखदेख तथा आवश्यक कामकाजका लागि एक पुरुष र एक महिला कामदार कर्मचारीलाई खटाईसकेको छ । त्यहाँको जग्गामा अहिले प्लाज र लसुनका विरुवा उत्पादनका लागि बीउँ छर्ने काम समेत भईसकेको छ ।

 केन्द्रले यहाँको घाँसामा नर्सरी तथा फलफूलहरुको फार्म व्यवस्थापन सुरु गरेपछि स्थानीयबासी उत्साहित भएका छन् । केन्द्रले एकाई फार्म संञ्चालन गरेपछि त्यहाँ मध्यम हावापानीमा उत्पादन हुने विभिन्न फलफूल तथा तरकारीहरुका बेर्ना र विरुवा सहुलियत सहज रुपमा उपलब्ध हुने केन्द्रका निमित्त प्रमुख भुसालको भनाई छ । केन्द्रले तरकारी तथा फलफूलको उत्पादन मात्रै नभई त्यहाँको हावापानीमा उत्पादन हुने उपयुक्त फलफूल तथा तरकारीहरुको प्रविधि प्रशारण गर्न सकिने जनाएको छ ।

 घाँसाका स्थानीय किसान पुनित गौचनले घाँसामा नेपाली सेनाले सुरक्षाका बसेकोमा हाल केन्द्रको फार्म बस्न सुरु गरेको बताउँनु भयो । केन्द्रले यहाँको हावापानीमा विभिन्न प्रजातीका फलफूल तथा तरकारी उत्पादन सुरु गरेपछि यहाँका किसानलाई प्रविधि सिकाई र कृषकहरुको जिवनस्तर उकास्नमा निकै ठुलो योगदान पुग्ने दाबी गर्नुभयो ।


प्रतिक्रिया