मुस्ताङका मतदान केन्द्रमा सडकको पहुँच, तर, हिमपातको डर

जोमसोम ।

आगामी फागुन २१ हुने घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदान स्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ । तर यहाँ हिमपातको डरले निर्वाचन कार्यक्रममा असर पुग्ने होकी भन्ने डर  छ ।

सरकारले घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षाको दृष्टिकोणले तीन भागमा वर्गीकरण गरेको छ । सुरक्षा चुनौतिको रुपमा सरकारले अति संम्वेदनशील, संम्वेदनशील र सामान्य श्रेणीमा मतदान केन्द्र तथा मतदान स्थलहरुलाई वर्गीकरण गरेर सरकारले सुरक्षा प्रवन्ध मिलाउने तयारी गरेको छ ।

मुस्ताङमा घोषित निर्वाचनका लागि यहाँ सबै मतदान केन्द्र तथा मतदान स्थलहरुमा सुरक्षा चुनौति सामान्य रहेपनि हिमपातले मतदान कार्यक्रमलाई असर पु¥याउन सक्ने आँकल गरिएको छ । हिमपात भएको अवस्थामा मतदाताहरु गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्व तयारी समेत थालिएको छ ।

 मुस्ताङका मतदान स्थलहरु सामान्य श्रेणीमा राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  मुस्ताङ आफैमा धार्मिक तथा पर्यटकीय जिल्ला भएको र विगतका निर्वाचनहरुको अभ्यास पनि सामान्य रहेकाले यहाँ सुरक्षा दृष्टिकोणले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कुनै कठिनाई नहुने जिल्ला निर्वाचन कार्यालयले उल्लेख गरेको छ  ।

 सुरक्षा चुनौतिका रुपमा मुस्ताङका पाँच स्थानीय तहका सबै मतदान केन्द्र सामान्य रहेपनि हिमपातले सडक अवरुद्ध हुनसक्ने अवस्था छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ—डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडक अवरुद्ध अवस्थामा छ । मुस्ताङमा फागुन÷चैत्र महिनामा पनि हिमपात भएको विगतका अनुभवहरु छन् । हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सृजना हुनसक्छ ।

  आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका पाँच वटै स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदान स्थलहरुमा सडकको पहुँच पुगेकाले मतदाता  र निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी यातायात आवतजावतमा सहज भएको प्रजिअ अजिता शर्माले जानकारी दिनुभयो । निर्वाचन सफल पार्न मतदान र मतपेटिका सदरमुकाम ढुवानी गर्न सहज भएको मुस्ताङका प्रजिअ शर्माले बताउँनुभयो । निर्वाचन कार्यतालिका अनुसार मतदान गर्ने दिनको केही दिन अगाडी साङ्ता मतदान केन्द्रमा जाने सडकको हिउँ डोजर परिचालन गरी पन्छ्याएर सडक सहज बनाउने योजनामा रहेको प्रजिअ शर्माको भनाई छ ।

 एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा यसअघि पनि ३९ वटै मतदान केन्द्र कायम थियो । यद्यपी यसपालि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका—२ समजुङ मतदा स्थललाई सोही वडाको छोसेर स्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाँभिएको छ । यसैगरी लोघेकर दामोदरकुण्ड—४ ताङ्ग्याका मतदाताकोहरु सहजताका लाग थप अर्को एक मतदान स्थल थपिएको छ । मुस्ताङमा कायम ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल मध्ये थासाङ गाउँपालिकामा ८ वटा, घरपझोङ गाउँपालिकामा ६ वटा, लोघेकर दामोदरकुण्डमा १० वटा, वारागुङ मुक्तिक्षेत्रमा  ९ वटा र लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदान स्थल कायम रहेको छ ।

मुस्ताङका प्रजिअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रहरुमा सडकको पहुँच, विद्युत, टेलिफोन र ईन्टरेनटको सुविधा रहेको जानकारी दिनुभयो ।

यसपटक आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका लागि मुस्ताङमा एघार हजार ३२८ जना मतदाता कायम छन् । जसमध्ये पुरुष मतदाता पाँच हजार ५५९ जना , महिला मतदाताको संख्या पाँच हजार ७६८ जना र अन्य एक जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

 मुस्ताङको घरपझोङमा  दुई हजार ४९२ , थासाङमा दुई हजार ९०८, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता कायम छन् ।

 मुस्ताङमा आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनौट गरी निर्वाचन प्रहरीका लागि अनुशिक्षण तालिम आईतबारदेखि संञ्चालन भईसकेको छ । 

मुस्ताङमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ८ राजनीतिक पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेस,एमाले, नेपाली कम्युनिष्ट पार्टी,रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गानाईजेशन र आम जनता पार्टीका उम्मेदवार रहेको छ । जसमध्ये एकजना मात्रै महिला उम्मेदवारी परेको छ । यहाँ राप्रपाबाट कमला लालचन मात्रै महिलाको तर्फबाट निर्वाचन प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।


प्रतिक्रिया