मुस्ताङमा राष्ट्रिय आर्थिक गणना सम्पन्न: आर्थिक गतिविधिमा उल्लेख्य वृद्धिसँगै प्रतिष्ठानहरूको संख्या दोब्बर बढी

 मुस्ताङ २०८३ आषाढ ७ गते
देशभर सञ्चालन भइरहेको 'राष्ट्रिय आर्थिक गणना, २०८२' अन्तर्गत मुस्ताङ जिल्लाको सम्पूर्ण स्थलगत (फिल्ड) तथ्याङ्क संकलन कार्य आज मिति २०८३ साल आषाढ ७ गते सफलतापूर्वक सम्पन्न भएको छ। फिल्ड कार्य सकिएसँगै जिल्ला आर्थिक गणना कार्यालय, जोमसोमले गणनालाई सफल बनाउन सहयोग गर्ने जिल्लास्थित सम्पूर्ण सरोकारवाला, उत्तरदाता, जनप्रतिनिधि, समन्वय समिति, पत्रकार तथा कर्मचारीहरूमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ।
७ वर्षमा अभूतपूर्व वृद्धि: प्रतिष्ठान संख्या २०५.१६ प्रतिशत पुग्यो
जिल्ला आर्थिक गणना कार्यालय, मुस्ताङका प्रमुख एवं आर्थिक गणना अधिकारी सुदिप पौडेलले उपलब्ध गराउनुभएको अन्तिम विवरण अनुसार, विगत २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनाको तुलनामा यस पटक मुस्ताङ जिल्लामा आर्थिक प्रतिष्ठानहरूको संख्यामा अभूतपूर्व वृद्धि देखिएको छ।
कार्यालय प्रमुख पौडेलले उपलब्ध गराउनुभएको तथ्याङ्क अनुसार मुस्ताङमा हालसम्म कुल १ हजार ५ सय ९० वटा आर्थिक प्रतिष्ठानहरू सञ्चालनमा रहेको पाइएको छ। यो संख्या २०७५ सालको पहिलो आर्थिक गणनाको तुलनामा २०५.१६ प्रतिशत हो। अर्थात्, विगत ७ वर्षको अवधिमा मुस्ताङ जिल्लामा प्रतिष्ठानहरूको संख्यामा उल्लेख्य वृद्धि भई दोब्बरभन्दा बढी पुगेको छ। २०७५ सालको गणनामा मुस्ताङमा कुल प्रतिष्ठान संख्या ७ सय ७५ मात्र रहेको थियो, जसमा यस पटक ८ सय १५ प्रतिष्ठान थपिएका छन्।
लोमन्थाङमा तीव्र वृद्धि, घरपझोङमा सबैभन्दा बढी प्रतिष्ठान
यस पटकको गणनामा जिल्लाका विभिन्न स्थानीय तहहरूमध्ये लोमन्थाङ गाउँपालिकामा सबैभन्दा उच्च वृद्धि दर देखिएको छ। अनुमानित १०८ प्रतिष्ठानको तुलनामा त्यहाँ कुल ३०० प्रतिष्ठानहरू गणना गरिएका छन्, जुन अनुमानभन्दा १९२ ले बढी हो। अर्कोतर्फ, भौगोलिक र प्रशासनिक सुगमताका कारण घरपझोङ गाउँपालिका कुल ५ सय ६१ प्रतिष्ठानसहित जिल्लाकै सबैभन्दा धेरै आर्थिक गतिविधि हुने स्थानीय तहका रूपमा स्थापित भएको छ।
तथ्याङ्क अनुसार सबैभन्दा कम वृद्धि लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा देखिएको छ, जहाँ अनुमानित १११ प्रतिष्ठानको तुलनामा १२१ प्रतिष्ठान मात्र फेला परेका छन्, जुन अनुमानभन्दा १० ले मात्र बढी हो। मुस्ताङ जिल्लाभर अनुमानित १ हजार ३ प्रतिष्ठानको अपेक्षा गरिएकोमा वास्तविक गणनामा ५ सय ८७ बढी अर्थात् कुल १ हजार ५ सय ९० प्रतिष्ठान फेला परेका हुन्।
मुख्य सूचक तथा विशेषताहरू:
  • कुल गणना गरिएका प्रतिष्ठानहरू: ,५९० (जसमा १५७७ कागजी प्रश्नावली र १३ ई-सेन्सस (E Census) मार्फत)
  • बन्द अवस्थामा रहेका प्रतिष्ठानहरू: गणना अवधिमा जिल्लाभर ६७ वटा प्रतिष्ठानहरू पुर्णरुपमा बन्द अवस्थामा भेटिएका थिए।
  • वृद्धि दर: २०७५ को तुलनामा २०५.१६% को ऐतिहासिक वृद्धि (दोब्बरभन्दा बढी)।
स्थानीय तहगत समष्टिगत विवरण:
१. लो-घेकर दामोदरकुण्ड गाउँपालिका: कुल १२१ प्रतिष्ठान (अनुमानभन्दा १० बढी)
२. घरपझोङ गाउँपालिका: कुल ५६१ प्रतिष्ठान (अनुमानभन्दा १३८ बढी)
३. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: कुल ३२६ प्रतिष्ठान (अनुमानभन्दा १२४ बढी)
४. लोमन्थाङ गाउँपालिका: कुल ३०० प्रतिष्ठान (अनुमानभन्दा १९२ बढी)
५. थासाङ गाउँपालिका: कुल २८२ प्रतिष्ठान (अनुमानभन्दा १२३ बढी)
 
होटल तथा पर्यटन क्षेत्रको बाहुल्यता र सडक पूर्वाधारको प्रभाव
आर्थिक गणना अधिकारी सुदिप पौडेलका अनुसार पछिल्लो समय राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक खण्ड सहज भएसँगै मुस्ताङमा पर्यटकीय क्षेत्रहरू तीव्र रूपमा चलायमान भएका छन्। यसै पूर्वाधार विकासका कारण जिल्लामा होटलहरूको सङ्ख्या अपेक्षाकृत रूपमा वृद्धि भएको राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्कले देखाएको छ। जिल्लामा सञ्चालित अन्य आर्थिक प्रतिष्ठानहरू समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्यटन क्षेत्रसँगै लक्षित रहेको गणना अधिकारी पौडेलले जानकारी दिनुभयो।
जिल्ला आर्थिक गणना कार्यालयका अनुसार डिजिटल प्रणाली (E Census) र कागजी प्रश्नावली (Paper Reported) दुवै माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको यो प्राप्त तथ्याङ्कले मुस्ताङमा तीव्र रूपमा पर्यटन, व्यापार तथा स्थानीय उद्यमशीलताको विकास भइरहेको सङ्केत गर्दछ।
१० जनाको टोलीद्वारा गणना सम्पन्न; सहयोगी सबैमा धन्यवाद
मुस्ताङ जिल्लामा यो ऐतिहासिक कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि जिल्ला आर्थिक गणना अधिकारी, सहायक आर्थिक गणना अधिकारी, लेखापाल, सुपरिवेक्षक, ५ जना गणक र १ जना सहयोगी गरी कुल १० जनाको टोली फिल्डमा अहोरात्र खटिएको थियो।
फिल्ड कार्य सफलतापूर्वक सम्पन्न भएको सुखद अवसरमा कार्यालयले भौगोलिक विकटता र प्रतिकूल मौसमका बावजुद खटिने कर्मचारीहरू, सही विवरण दिने आदरणीय उत्तरदाता (उद्योगी तथा व्यवसायी), जनप्रतिनिधिहरू, जिल्ला तथा स्थानीय तहका समन्वय एवं सहजीकरण समिति, पत्रकार तथा आम सञ्चारमाध्यमप्रति विशेष धन्यवाद प्रकट गरेको छ।
सबै क्षेत्रको सामूहिक प्रयास र सहयोग बिना यो वृहत् कार्य सम्पन्न हुन सम्भव नहुने बताउँदै कार्यालयले फिल्ड कार्य सकिएसँगै अब यस तथ्याङ्कको अन्तिम प्रशोधन र विश्लेषण राष्ट्रिय तथ्याङ्क कार्यालय, आर्थिक गणना शाखाबाट गरिने जनाएको छ।
 

प्रतिक्रिया