जोमसोम—नेपाल—चीन उत्तरी कोरलानाकामा चीन पक्षले नेपाली पक्षका लागि टाईमकार्ड लगाएको छ । उपल्लो मुस्ताङ स्थित २ गाउँपालिका तथा अन्यले चीनको तिब्बती भूमी लिग्जेमा जान चीन पक्षको समय कार्यतालिका अनुसार चल्नुपर्ने बाध्यता छ ।
गत कार्तिक २७ गते चीन पक्षले कोरलानाकाको तिब्बती भूमी लिग्जेमा नेपाल पक्षका प्रशासनिक तथा जनप्रतिनिधिहरुको उपस्थितीमा भव्य रुपमा तामझामका साथ कोरलानाका खुल्ला गरिएको उद्घोष गरिएको थियो । नाकाको लिग्जेमा चीन पक्षले नेपाल पक्षका नागरिक तथा व्यापारीहरुलाई लक्षित गरी ब्यापारिक प्रतिष्ठान समेत खडा गरेको छ । त्यहाँ पुगेर किनमेल गर्न नेपाल पक्षका नागरिकलाई सुरुवाती चरणबाटै चीन पक्षले टाईमकार्ड लगाउँदै आईरहेको छ ।
चीनले लगाएको टाईमकार्ड अनुसार प्रत्येक दिन बिहान ९ बजे भित्र चीनको तिब्बती भूमी लिग्जेमा प्रवेश गरिसक्नुपर्छ। उक्त समय भित्र चीनको भूमीमा पसेका नेपाल पक्षका नागरिकहरु दिउँसो ३ बजेपछि मात्रै फर्किन पाउँछन् ।जिल्ला प्रशासनले जारी गरेको सीमापार पासका आधारमा चीन पक्षले नाकामा प्रवेश अनुमती दिने गर्छ । यसरी नाकाको गेटमा पास देखाएर प्रवेश गरेका नेपाल पक्षका नागरिकहरुलाई चिनियाँ अध्यागमनमा कडा चेकजाँच गरी प्रवेश गराईन्छ । बिहान ९ बजे चिनको भूमी लिग्जेमा छिरेका नेपाल पक्षका नागरिकहरु किनमेलको काम सकिएपनि करिव ६ घण्टा बढी त्यही रोकिएर बस्नुपर्ने अवस्था छ । चीन पक्षले प्रत्येक दिन बिहान ९ बजेपछि नेपाल पक्षका नागरिकलाई जिल्ला प्रशासनले वितरण गरेको सीमापार देखाए जान दिदैन । नाकाको चीनको भूमी लिग्जेमा तुरुन्तै सामान किनेर फर्किन चाहने नेपाल पक्षका नागरिकलाई यसप्रकारको टाईमकार्डले निकै असहज तुल्याएको छ ।
नाकामा चीन प्रवेश गर्न चाहने नेपालीका लागि त्यहाँ कार्यरत चिनियाँ सुरक्षा अधिकारीहरुले कडा सुरक्षा चेकजाँच गर्ने गरिएको छ । नाकामा नेपाली नागरिकहरुको विस्तृत चेकजाँच गर्ने गरिएको बताईन्छ । नाका छिर्दा दलाई लामाको लकेट भिरेको वा मोवाईल फोनमा दलाई लामाको फोटो भिडियो देखिएमा त्यस्ता व्यक्तिलाई चीनले भित्र जान दिदैन ।
कोरलानाकामा चीनको भूमी लिग्जेमा उपल्लो मुस्ताङ नागरिकहरुले पनि बिहान ९ बजेदेखि ३बजेसम्म ब्यापार व्यवसाय चलाएर बस्छन् । नाकाको नेपाली भूमी कोरलामा पनि एक दर्जन उपल्लो मुस्ताङीले त्रिपाल टाँगेर ब्यापार व्यवसाय चलाएका छन् । नाकामा सीमापारि पुगेर नेपाल पक्षका नागरिकले आफ्ना क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने गरेको पाईन्छ । नाका अवलोकन गर्ने आन्तरिक पर्यटकहरुले कोरलानाकामा चिनिया सामान किन्न पाईने सुविधा छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका करिव २ हजार ५ सय जना नागरिकलाई चीन जाने सीमापार पास वितरण गरिसकेको छ। तल्लो मुस्ताङका केहीले पनि स्थानीय तहका समन्वयमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले सीमापार पास वितरण गरेको छ ।
कोभिडको समयमा नेपाल —चीन कोरलानाका लगातार ४ वर्षसम्म पूर्ण रुपमा ठप्प थियो । त्यसअघि भने नेपाल—चीनबीचको आपसी सहमतीमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि चीनको तिब्बती भूमीमा अन्तरदेशीय ब्यापार मेला संञ्चालन हुन्थ्यो । उपल्लो मुस्ताङका नागरिकले अन्तरदेशीय ब्यापारक मेलामा पुगेर आफुलाई चाहिने दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरिन्थ्यो । चीन पक्षले कोरलानाकामा नेपाली पक्षका लागि कोरलानाका बाह्रै महिना खुल्ला गरेर केही सहजता भने उपलब्ध गराएको पाईन्छ । नाकामा चीनले टाईमकार्ड नलगाईदिएको भए राम्रो हुने कतिपय मुस्ताङीको भनाई छ ।
कोरलानाका खुलेपछि भने उपल्लो मुस्ताङका नागरिकहरुका लागि बैकल्पिक आयआर्जनको माध्यम बनेको छ । चीनबाट दैनिक उपभोग्य वस्तु खाद्यान्न,लत्ताकपडा र कस्मेटिक सामान ल्याएर बिक्री गर्ने बाटो खुलेको छ । नाका खुलेको एक वर्ष पुग्न लाग्दा समेत नेचुङ भन्सार कार्यालय स्थापित हुन सकेको छैन । भन्सारलाई आवश्यक पर्ने खाद्य क्वारेन्टाईन,पेय क्वारेन्टाईन र पशु क्वारेन्टाईन लगायतका पूर्वाधार सरकारले व्यवस्थापन गर्न नसक्दा राजश्व संकलन समेत प्रभावित बनेको छ । गत कार्तिक २७ देखि असार मशान्तसम्म भन्सार कार्यालयले १ लाख १० हजार राजश्व संकलन गरेको थियो । चालु वर्षको साउन र भदौ महिनामा १ लाख राजश्व संकलन भएपनि असोज महिनामा जम्मा १० हजार मात्रै राजश्व संकलन भएको बताईन्छ ।
सरकारले कोरलानाकामा भन्सार,अध्यागमन ,सुख्खाबन्दरगाह,एकिकृत सुरक्षा पोस्ट लगायतका भौतिक संरचना निर्माण गर्न ५ वर्षअघिनै १ हजार रोपनी जग्गा प्राप्ति गरिसकेको छ । नाकामा जग्गा व्यवस्थापन भएपनि सरकारले त्यहाँ भौतिक पूर्वाधार निर्माण गर्नमा निकै बिलम्व गरिरहेको छ । नाकामा भौतिक संरचना निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सर्वे गरेपनि त्यसको रिपोर्ट फाईनल हुन सकेको छैन ।
नाका छेउ गण्डकी प्रदेश सरकारले सुरक्षाकर्मी तथा अध्यागन कार्यालय राख्न ५० लाख खर्चिएर गत वर्ष जस्ताको छाप्रो निमाण गरेको छ । त्यही जस्ताको छाप्रोमा केहीदिन अघि अध्यागन कार्यालय स्थापना गरिएको छ । नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा लैजाने बताईपनि नाकामा नेपाल सरकारले पूर्वाधार निर्माण सुरु नगर्दा निकै समस्या पर्ने गरेको छ ।
नाकामा वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण नहुदासम्म कोरलानाकामा चौबिसै घण्टा सुरक्षाकर्मी र कर्मचारी बस्न सक्ने अवस्था छैन । नाकामा अध्यागमन कार्यालयका लागि ८ जनाको दरबन्दी सृजना गरिएपनि अझै त्यहाँ कर्मचारी खटाईएको छैन । नेचुङमा रहेको भन्सार कार्यालयमा पनि कर्मचारी बस्दैनन् । कार्यालय सहयोगीकै जिम्मामा भन्सारको अख्तियार दिएर त्यहाँका कर्मचारी सदरमुकाम झर्छन ।
नाकामा भन्सार कार्यालयलाई चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति नहुदा चीनबाट आयात गरिने सामाग्रीहरुको राजश्व संकलनमा समेत कानुनी जटिलता उत्पन्न भएको देखिन्छ ।
१८ कार्तिक २०८१, सोमबार ०३:५६ मा प्रकाशित
443
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता