लोघेकर दामोदरकुण्डका ६ स्कुलमा विद्यार्थी संख्या न्यून


जोमसोेम—मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका ८ वटा सामुदायिक विद्यालय मध्ये ६ वटा सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या ज्यादै न्युन छ । भौगोलिक रुपले विकट स्थानमा रहेको सो पालिकाका ६ वटा सामुदायिक विद्यालयमा शिक्षक ,बालविकास सहजकर्ता र कार्यालय सहयोगी  गरी १५ जना जनशक्ति कार्यरत छन् ।
 पालिका अन्तर्गत कुनै विद्यालयमा बढीमा १३ जना विद्यार्थी छन् भने कुनै विद्यालयमा जम्मा २ जना मात्र विद्यार्थी रहेको पाईएको छ । भौगोलिक विकटताका कारण विद्यालय  मर्ज गरी पठन÷पाठन संञ्चालन गर्न नसक्ने अवस्था रहँदा ति विद्यालयहरुको शैक्षिक पाठन—पाठन र शैक्षिक गुणस्तर माथि उकास्न समेत समस्या पर्ने गरेको पाईएको छ । 
उत्तरी चिनसंग सीमाना जोडिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ६ वटा सामुदायिक विद्यालयहरुमा प्रत्येकमा (एक—एक) जना गरी ६ जना शिक्षक,३ जना बालविकास सहजकर्ता र ६ जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाकी शिक्षा शाखा हेर्ने प्राविधिक सहायक सुकदेवी गर्बुजाले जानकारी दिईन् ।उनका अनुसार लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्र्तगत चराङ आधारभुतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ४ जना ,मराङ आधारभुतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ७ जना ,ढाक्मर आधारभुतमा बालविकास तहमा ४ जना र विद्यालय तहमा ९ जना र शालिग्राम आधारभुतमा बालविकास तहमा ३ जना र विद्यालय तहमा १ जना विद्यार्थी छन् । यसैगरी यारा आधारभुत विद्यालयमा ५ जना र घारा आधारभुत विद्यालयमा ३ जना विद्यार्थी छन् ।
शिक्षा सहायक गर्बुजाकाले लोघेकरका ६ सामुदायिक विद्यालयमा पढ्ने ४६ जना विद्यार्थीका लागि शिक्षक ,बालविकास सहजकर्ता र कार्यालय सहयोगीका लागि बार्षिक ५२ लाख ७६ हजार सरकारी कोषको रकम खर्च हुँने उल्लेख गरिन् । उनका अनुसार ६ जना शिक्षकको बार्षिक खर्च ३३ लाख ८ हजार, बालविकास सहजकर्ताको बार्षिक खर्च ७ लाख ८ हजार र कार्यालय सहयोगीको बार्षिक खर्च १२ लाख ६० हजार रहेको छ । विद्यार्थी संख्या र शिक्षक तथा कर्मचारीको तलब भत्ताको औषत खर्च हिसाब लगाउँदा एक विद्यार्थी बराबर एक लाख २० हजार बार्षिक खर्च हुन्छ  ।
 आधारभुत तह कक्षा (१—३) सम्म संञ्चालनमा रहेको ६ विद्यालय विद्यालय मध्ये ४ वटा विद्यालयमा बालविकास केन्द्रको कक्षा सञ्चालनमा छ । जसअन्तर्गत ४ वटा विद्यालयको बालविकासमा १७ जना विद्यार्थी छन् भने ६ वटैको कक्षा(१—३)मा जम्मा २९ जना मात्र विद्यार्थी छन् ।  कुनै विद्यालयको कक्षा तहमा विद्यार्थी संख्या शून्य अवस्थामा छ । लोघेकरका विद्यालयहरुमा विद्यार्थी संख्या न्यून भएकाले सबै सामुदायिक विद्यालयहरुलाई मर्ज गरी संञ्चालन गर्ने गाउँपालिकाले निरन्तर पहल गरेको भएपनि सफल हुन नसकेको शिक्षा सहायक गर्बुजाले उल्लेख गरिन् । ‘हामीले न्यून विद्यार्थी रहेका विद्यालयलाई एकै ठाउँमा मर्ज गरी आवासिय कक्षा संञ्चालन गर्न विद्यालय मर्ज गर्ने अवधारणा बनाएका थियौं,यसले विद्यार्थीको शिकाई उपलब्धि ,शिक्षक समायोजन गर्न सकिन्थ्यो,शिक्षा सहायक गर्बुजाले थपिन्,‘ तर,अभिभावकहरु नजिकको विद्यालय मर्ज  गर्न चाहदैनन्,बालवालिकाहरु पनि कम उमेरका हुँने भएकाले व्यवस्थापन गर्न पनि समस्या छ ।’ उनले गापा केन्द्र चराङमा आवासिय सुविधासहित विद्यालय मर्ज गर्न आवश्यक रहेको औल्याईन् । गाउँपालिकाका विद्यालयहरुमा जन्मदर घट्दो ,वैदेशिक पलायन,गुम्बा विद्यालयको प्रभाव र सम्पन्न व्यक्तिले सुगमका विद्यालयमा बालपालिका पढाउन लैजाने लगायतका कारणले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुन पुगेको शाखा सहायक गर्बुजाको भनाई छ ।
चराङ आधारभुत विद्यालयका शिक्षक कमलकान्त न्यौपानेले विद्यार्थी संख्या कम रहेका विद्यालयलाई यथाशिघ्र गाउँपालिकाले मर्ज गरी आवासिय विद्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । उनले हिउँदमा बेसी ल्याउँदा ६ वटा विद्यालयलाई अस्थायी मर्ज गरी पठन÷पाठन गरिएको र यो जस्तै साविकको स्थानमा जाँदा समेत विद्यालय मर्ज हुँने सके शैक्षिक गुणस्तर प्रभावकारी हुँने जनाए ।‘राज्यले ठुलो लगानी गरेको छ,विद्यार्थी कम छ,उनले भने, ५—७ जना विद्यार्थीलाई ३ जना जनशक्ति चाहिदा,फजुल खर्च हुन्छ ।’
 लोघेकर दामोदरकुण्ड गाउँपालिका २ र ३ वडामा सामुदायिक आवासिय विद्यालय छ । घमी आधारभुतमा ८६ जना र जनज्योति आधारभुतमा भने ८४ जना विद्यार्थी रहेको छ । आवासियसहितको सुविधा रहेको विद्यालयमा विद्यार्थी संख्या सन्तोषजनक रहेको छ ।
 त्यसो मुस्ताङका अन्य गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा पनि विद्यार्थी संख्या कम रहेका छन्  । स्थानीयबासीले घरदैलोको विद्यालयहरुलाई अन्यत्र वडामा मर्ज गर्न नचाहने भएकाले विद्यालय मर्ज गर्न समस्या परेको हो ।

 फोटो क्याप्सन 
 जाडो छल्न बेसी स्थान्तरण गरिएका ६ विद्यालयका विद्यार्थी तथा शिक्षक,कर्मचारी । तस्विर ःसुन्दरकुमार थकाली


प्रतिक्रिया