बर्खायाममा पनि थामिएन मुक्तिनाथमा पर्यटक

बर्खायाममा पनि थामिएन मुक्तिनाथमा पर्यटक

जोमसोम ।

योबेला मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको उपस्थिती निकै कम हुने समय हो । मनसुन सुरु भईसकेपछि बर्सेनि यहाँको मुक्तिनाथ दर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या ज्यादै नगण्य हुन्थ्यो ।तर, त्यो यसपालि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको संख्यालाई मनसुनले छेकेको छैन ।

 यतिबेला मुस्ताङमा पोखरा—जोमसोम उडान भर्ने साना जहाजहरुले मनसुनकै कारण उडान स्थागित गरिसकेका छन् । किनकी योबेला मुस्ताङमा पर्यटकको उपस्थिती निकै कम हुन्छ भन्ने निजी वायुसेवा कम्पनीहरुको बुझाई छ । यसैका कारण बर्सेनि यहाँ योसमय हवाई उडान स्थगन गर्ने गरिन्छ । बर्सेनि मनसुन सुरु भएपछि राष्ट्रिय गौरवको निर्माणधिन सडकको हालत पनि उक्तिकै जोखिम हुन्छ । कोरला सडकको म्याग्दी खण्डका  दर्जनौ स्थानमा बाढी ,पहिरो र नदी कटानले सडक अवरुद्ध हुने गथ्र्यो ।

यसैका कारण पनि मुस्ताङमा मुक्तिनाथ दर्शन गर्ने पर्यटक निकै कम हुन्थे । तर, यसपालिको सिजनमा म्याग्दी खण्डमा एक पटक मात्रै सडक अवरुद्ध भएको छ । अपेक्षित वर्षा नभएको र सडकको अवस्था पनि सहज भईरहेकाले यहाँ पर्यटकहरुको उपस्थितमा मनसुनले बाधा नपु¥याएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदी बताउँनु हुन्छ । 

मुस्ताङमा मुख्यतया बर्सेनि असोज,कार्तिक र मंसिर  त्यसपछि फागुन,चैत्र,बैशाख र जेठ महिनामा मुक्तिनाथ दर्शन गर्न आन्तरिक तथा बाहय पर्यटक आउँछन् । तर,यसपालि बेमौसममा समेत  आन्तरिक तथा बाह्य पर्यटक मुक्तिनाथ दर्शन गर्न आउँदा यहाँका पर्यटन व्यवसायीलाई भने निकै ठुलो राहत मिलेको छ ।

 अफसिजनमा पनि यतिबेला मुक्तिनाथ मन्दिरमा उल्लेख्य संख्यामा भारतीय तथा नेपाली दर्शनार्थी यहाँ आउने गरेको समितिका कर्मचारी सुवेदीको भनाई छ । उनले पर्यटकीय बमौसममा पनि यहाँ दैनिक पाँच सय भन्दा बढी भारतीय र नेपाली पर्यटक आउँने गरेको उल्लेख गर्नुभयो ।‘ यतिबेलाको समय पुरै खासमा अफसिजनको समय हो,यो समय यहाँ मन्दिरमा सुनसान जस्तै हुन्थ्यो,’ कर्मचारी सुवेदीले भन्नुभयो,‘तर, यसपालि खै कारणले हो यहाँ दर्शन गर्न आउने पर्यटक थामिएको छैन, मन्दिरमा अहिले पनि सिजनकै जस्तो दर्शनाथको भीडभाँड हुने गरेको छ ।’

पर्यटक अफसिजनको समयमा सत्तरी प्रतिशत भारतीय र तीस प्रतिशत नेपाली दर्शनार्थीले मुक्तिनाथको दर्शन गर्ने गरेको समितिका कर्मचारी सुवेदीले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया