फोटोको तस्विर ः मुस्ताङको कागबेनीमा स्नान गर्दा चिप्लिएर खोलाले बगाएकी महिलालाई सेनाले उद्दार गरेपछि टिका लगाएर धन्यवाद दिदै महिला भक्तजन ।
जोमसोम- दिवंगत पितृ उद्दारका लागि प्रसिद्ध पवित्र धार्मिक स्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित तिर्थालु स्नानस्थल जोखिमपूर्ण हुँदा त्यहाँ श्राद्ध गर्न जाने धार्मिक तिर्थालु भक्तजनलाई संम्भावित दुर्घटनाको जोखिम बढेको छ ।
कागबेनी श्राद्ध स्थलको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय स्तरमा कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र त्यहाँका स्थानीय नागरिकहरुले सीमित स्रोतसाधनका बाबजुद त्यहाँ श्राद्ध गर्न जाने तिर्थालु भक्तजनलाई सहज व्यवस्थापन गर्ने प्रयास गरेपनि पनि त्यो पर्याप्त हुन सकिरहेको छैन ।
मुस्ताङको पवित्र धार्मिक श्राद्धस्थल सांघुरो हुँदा त्यहाँ श्राद्ध गर्न पुग्ने भक्तजनलाई पुजापाठ तथा स्नान गर्नमा निकै समस्या र चुनौती हुने गरेको पाईएको छ । वि.स. २०८० साल साउन २८ गतेको कागखोला बाढीले त्यसअघिको साविकको पुरै भौतिक संरचनामा क्षति पु¥याएको थियो । त्यसबेलाको बाढीले स्थानीय नागरिक बंैक तथा वित्तिय संस्था, कागबेनी श्राद्धस्थल लगायत त्यहाँको खेतीयोग्य जग्गाहरुमा करोडौंको भौतिक क्षति पुगेको थियो । जिल्लाका स्थानीय नागरिक,सरोकारवाला र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिको पहलमा अर्थ संकलन गरी कागखोला धारलाई च्यानलाईजिङ गरिएको थियो । तर, कागखोलाको धारलाई नियन्त्रणमा राखिएको भएपनि कागबेनी श्राद्धस्थलको भौतिक संरचना अझै दिगो रुपमा व्यवस्थापन हुन सकिरहेको छैन ।
मुस्ताङको कागबेनी धार्मिक श्राद्धस्थलमा स्नान गर्ने क्रममा शनिबार म्याग्दीको बेनी नगरपालिका—९ का ५३ वर्षीया सिता शर्मालाई कालिगण्डकी नदीले बगायो । कागखोला र कालिगण्डकी नदीको दोभानमा पितृलाई सम्झदै स्नान गर्दैगर्दा अचानक चिप्लिएर करिव ६० मिटर तल खोलाले बगायो । चिप्लिएर खोलाले बगाएपछि उनको उद्दारको लागि गएका एक व्यक्तिलाई समेत कालिगण्डकी नदीले केही तलसम्म बगायो । स्नान गर्दागर्दै चिप्लिएर कालिगण्डकी नदीले बगाएपनि नेपाली सेनाले सकुशल उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले कागबेनीमा स्नान गर्दागर्दै खोलाले बगाएको एक महिलाको सकुशल उद्दार भएको जानकारी दिए ।
मुस्ताङको पवित्र धार्मिक स्थल कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा तीनै वटा तहका सरकारले चाँसो नदिएको कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापनि समितिकी अध्यक्ष लक्ष्मी गुरुङले दुःखेसो गर्नुभयो । कागबेनीमा बाढीले क्षति तुल्याएको पवित्र पावन भूमीमा सरकारले संरक्षण तथा व्यवस्थापनकार्यमा अग्रसरता देखाउन आवश्यक रहेको बताउँनुभयो ।‘ अहिलेसम्म स्थानीय स्तरमा समिति र स्थानीयबासीले मात्रै यसको जेनतेन कामचलाउको रुपमा अस्थायी व्यवस्थापन र संरक्षण गर्दैआईरहेका छौं, हामीसंग सीमित स्रोतसाधनले यहाँको सरक्षण तथा व्यवस्थापनकार्य सम्भव छैन ,’ समितिकी अध्यक्ष गुरुङले थप्नुभयो,‘ कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनकार्यमा सरकारले मेघा प्रोजेक्ट रुपमा योजना अघि बढाउन बान्छनीय छ, हाम्रो तहमा लाखौ भक्तजन आउने यस स्थानको व्यवस्थापन कुनै सम्भव देखिदैन ।’ समिति अध्यक्ष गुरुङले कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिले भक्तजनबाट दान भएको सीमित खर्चले कामचलाउको रुपमा श्राद्ध स्थल र स्नान स्थल सुधार गर्देआईरहेको जनाउँनुभयो ।
मुस्ताङको पवित्र धार्मिक श्राद्धस्थललाई दिर्घकालिन रुपमा भरपर्दो ढंगले संरक्षण तथा व्यवस्थापन गर्न कालिगण्डकी नदी र कागखोलालाई बृहत आरसीसी तटबन्धनको आवश्यक रहेको श्राद्धस्थल सरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । बर्सेनि बर्खायाममा कागखोला र कलिगण्डकी नदीले धार परिवर्तन गर्ने गर्दा यहाँको श्राद्धस्थल र स्नान स्थलको भौतिक सरचनामा क्षति पुग्ने गरेको समितिको भनाई छ । समितिले कागबेनीधाममा श्राद्ध गर्न आउने तिर्थालु भक्तजनहरुले श्राद्ध र स्नान गर्दा आफै सावधानी रहेर धार्मिक कार्य गर्न समेत अनुरोध गरेको छ ।
मुस्ताङको कागबेनीधामलाई केही फराकिलो सहज तुल्याउन समितिले खडा गरेका एक दर्जन बढी व्यवसायिक अस्थायी टहराहरुलाई केही पर स्थान्तरण गरिसकेको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो । त्यहाँ नेपाली सेनाले चेन्जिङ रुम र गाउँपालिकाले शौचालय निर्माण गर्दै गरेको उहाँको भनाई छ । कागबेनीधामको सरक्षण तथा व्यवस्थापनकार्यमा सरकारले अहिलेसम्म पनि बजेट विनियोजन गर्न नसकेको अध्यक्ष गुरुङले बताईन् ।
बर्सेनि बडा दशै र चैते दशै औसी नुहाउन लाखौ श्रद्धालु भक्तजनहरु दिवंगत पितृ उद्दारका लागि मुस्ताङको कागबेनी आउने गर्छन । यसवर्षको चैते दशैको औसी नजिकिदै गर्दा समेत तीनै वटा तहको सरकारले कागबेनी श्राद्ध स्थल तथा स्नान गर्ने ठाउँलाई व्यवस्थापन गर्न नसक्दा श्रद्धालु तिर्थालु भक्तजनहरुले यसपटक पनि जोखिम मोलेर श्राद्ध र स्नान गर्नु पर्ने अवस्था रहेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा कागभुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागखोलामा स्नान गरेको भन्ने धार्मिक किंवदन्ती छ । यसैका कारण देशभरबाट बर्सेनि लाखौंको संख्यामा श्रद्धालु तिर्थालु भक्तजनहरु यहाँ आएर पितृको नाममा श्राद्ध गर्ने,तर्पण दिने र कालिगण्डकी दोभानमा स्नान गरी पवित्र हुने गर्दा दिवंगत पितृ खुसी भई आर्शिवाद दिने धार्मिक विश्वास रहीआएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली