उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ । इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखा टोलीले एम्बुलेन्समार्फत उद्धार गरेको हो ।

समून्द्री सतहको झन्डै चार हजार मिटरको अग्लो उचाइमा अवस्थित उपल्लो मुस्ताङ भ्रमण गर्न पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याले बिरामी परेपछि गाउँपालिकाको समन्वयमा तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोम मुस्ताङमा पुर्‍याउने गरी उद्धार गरिएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए ।

लोमान्थाङ गाउँपालिकाले इटालिनयन पुरुष नागरिक पिन्टोको उद्धारका लागि अक्सिजनको व्यवस्थासहित दुईजना पालिका स्वास्थ्यकर्मीसँगै राखेर एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोममा पुर्‍याएर भर्ना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गरे ।

उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा ५०० डलर खर्च गरेर १० दिनको प्रवेशाज्ञा लिई त्यहाँ पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याका कारण श्वासप्रश्वासमा समस्या र टाउको दुख्ने समस्या देखिएकाले तत्कालै गाउँपालिकाकै एम्बुुलेन्समार्फत उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई लेक लाग्ने समस्याले बिरामी परेको यो नै पहिलो घटना भएको उनको भनाइ छ ।

रासस


प्रतिक्रिया