मार्चे लेंक बुगिनमा याकचौरीको रगत पिउँने मेला सुरु

जोमसोम ।

मुस्ताङको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेंकमा याकचौरीको आलो रगत पिउँने मेला सुरु गरिएको छ । मार्चे याक नाक कृषक समुहले बिहिबारदेखि त्यहाँको लेंकमा याकचौरीको आलो रगत पिउँने मेला आयोजना गरेको हो ।

हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याकचौरीको रगत पिउँने मेला सदिंयौं वर्षदेखि चल्दैआईरहेको छ । प्राकृतिक उपचार पद्यती मध्येको एक उपचार पद्यती मानिएको चौरीको आलो रगत पिउँदा मानिसको पेट सम्वन्धि सम्पूर्ण रोगको निधान हुने जनविश्वाश रहिआएको छ ।

समून्द्री सतहको झन्डै चार हजार मिटरको अग्लो उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेंंकमा मार्चे याक नाक कृषक समुहका १० वटा गोठ रहेको समुहका सदस्य सोजन हिराचनले जानकारी दिनुभयो । हिउँदमा बेसी र गर्मीयाममा मार्चे लेंकमा पु¥याएर याक÷चौरी पालन गर्ने प्रचलन रहेको सदस्य हिराचनले बताउँनुभयो । त्यहाको मार्चे लेंकमा १० घरधुरीको करिव  आठ सय भन्दा बढी याकचौरी रहेको जानकारी दिनुभयो । मार्चे लेंकमा थाक सात सय क्षेत्र अन्तर्गत सौरु,सिर्खुम,लार्जुङ,नाउरिकोट र ताक्लुङ लगायतका याकचौरी कृषकहरुको गोठ रहेका छन् ।

 निकै रमणीय स्थानमा रहेको मार्चे लेंक निलगिरी हिमालको फेंदैमा अवस्थित रहेको छ । निकै हरियाली र कोलाहल मुक्त स्थान मार्चे बुगिनमा बर्सेनि साउन महिनामा याकचौरीको आलो रगत खाने मेला लाग्छ । हिउँदयाममा भने बेसी स्थान्तरण गरिएका याकचोरी उच्चलेंकमा स्थान्तरण गर्नु अघि बर्सेनि बैशाख महिनामा थासाङको घट्टे खोलामा याकचौरीको आलो रगत खाने मेला लाग्ने गर्छ ।

बर्खायाममा उच्चलेंकको चरनक्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्चलेंकका याकचौरीले त्यहाँको प्राकृतिक जटिबुटी सेवन गर्ने भएकाले याकचौरीको आलो रगत स्वास्थ्यवद्धक मानिएको हो । उच्चलेंकको चरनक्षेत्रमा त्यहाँ पालन गरिएका याकचौरीले बन्य जटिबुटी यार्सा गुम्बा,पाँच औले, निरमसी,जटामसी,सतुवा ,चिची, भोलु चिया, कुरिलो,तोरा चिची, जिम्बु र बन लसुन लगायत  वनस्पती खाने भएकाले याकचौरीको आलो रगत स्वास्थ्यका लागि फाईदाजनक हुने जनविश्वाश छ । यसरी बन्य जटिबुटी खाएका जिउँदो याकचोरीको रगत खादा मानिसको ग्याष्ट्रिक,गानोगोला,दम,प्रेसर,सुगर र यौन शक्तिको क्षमतामा समेत योगदान पु¥याउने भएकाले जिल्ला भित्र र जिल्ला बाहिरका उल्लेख्य सर्वसाधराण याकचौरीको रगत खान मुस्ताङ आउने गरेको समुहका सदस्य सोजन हिराचनले बताउँनुभयो ।

  त्यसो त मुस्ताङको उच्चलेंकको चिसो हावापानीमा हुर्काईएका याकचौरीको मासु समेत निकै स्वादिलो र पोसिलो हुने गर्छ । मुस्ताङका उच्चलेंकमा पाईने यार्सा गुम्बा,निरमसी,जटामसी र पाँचऔले लगायतका जटिबुटीहरु आयुर्वेद चिकित्साको लागि औषधिको रुपमा प्रयोग गर्ने गरिएको छ । यसैका खातिर यहाँका याकचौरीको रगत खाने मानिसको पेट सम्वन्धि उपचार हुने जनाईन्छ ।

 मुस्ताङको थासाङ स्थित मार्चे बुगिन लेंकमा दश दिनसम्म याकचौरीको आलो रगत खाने मेला चल्ने जनाएको छ । चौरीको आलो रगत खाने मेला संञ्चालन पूर्व बुधबार त्यहाँको मार्चे लेंकमा सामुहिक रुपमा गोठ पुजा गरिएको मार्चे याक नाक कृषक समुहका अध्यक्ष बबुद्ध गौचनले जानकारी दिनुभयो । यसवर्ष याकचौरीको आलो रगत प्रति गिलास दुई सय रुपैयामा बिक्री वितरण गर्ने निर्णय भएको उहाँले बताउँनुभयो । ‘यसवर्ष पनि विगतको जस्तै चौरीको रगत खाने मेलाको सबै व्यवस्थापन गरिसकेका छौं,आ—आफ्ना गोठहरुमा टहरा बनाएर होटल पनि चलाएका छौं,’ अध्यक्ष गौचनले भन्नुभयो, करिव तीन सय जना भन्दा बढी सर्वसाधरणको उपस्थिती हुने अनुमान गरिएको छ, यहा रगतको खानेदेखि याकको मासु समेत खाने व्यवस्था मिलाएका छौं ।’’

 मुस्ताङको मार्चे लेंकसम्म पुग्ने बेनी—जोमसोम मुख्य राजमार्गदेखि कालिगण्डकी पूर्व करिव तीनदेखि पाँच घण्टाको ठाँडो उकालो यात्रा गर्दै पुग्न सकिने समुहका अध्यक्ष गौचनले जानकारी दिनुभयो । मार्चे लेंक जान सौरु र चिमाङबाट पुग्न सकिने दुई वटा गोरेटो बाटो रहेको उहाँले बताउँनुभयो ।


प्रतिक्रिया