कोरला सडकको तीन पुल अन्तिम चरणमा

जोमसोम 

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङ खण्डमा निर्माणधिन तीन वटा पक्की मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवका सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकामा निर्माणधिन कैकु खोला पुल,सेतो खोला पुल र लार्जुङ खोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

 बेनी—जोमसोम ७४ किलोमिटर सडकको तेस्रो खण्डमा निर्माणधिन तीनवटै मोटरेबल पुल निर्माणको कामको भौतिक प्रगती ८५ प्रतिशत पुगेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिनुभयो । आयोजना प्रमुख झाले मुस्ताङको थासाङमा निर्माणधिन पुलको काम चालु आर्थिक वर्ष असारभित्रै सम्पन्न हुने बताउँनुभयो । आयोजना प्रमुख झाले मुस्ताङको मार्फा खोला पुल हस्तान्तरण हुन बाँकी रहेको र घमी खोला पुल निर्माणधिन अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

आयोजना अन्तर्गत मुस्ताङको सेतो खोलामा निर्माणधिन २५ मिटर लम्बाईको पुलको ६ करोड ३५ लाख लागतमा हिमायन तान्डवेश्वर जेभीसंग ठेक्का सम्झौता भएको हो । एक स्पानको कैकु खोला पुलको  आर्थिक वर्ष २०८२ असार ११ गते ठेक्का सम्झौता भएको हो । पुलको सम्पन्न म्याद चालु आर्थिक वर्षको ११ असारसम्म रहेको आयोजनाले जनाएको छ ।

 आयोजना अन्तर्गत निर्माणधिन लार्जुङ खोला पुलको २ करोड २२ लाख लागतमा ठेक्का सम्झौता भएको हो । एक स्पानको २० मिटर लामो लार्जुङ खोला पुलको सम्पन्न म्याद चालु आर्थिक वर्षको २० असारसम्म रहेको आयोजनाले जनाएको छ । पुलको ठेक्का एसके धौलागिरि निर्माण सेवाले जिम्मा लिएको छ ।

यसैगरी मुस्ताङको कैकु खोला पुलको ५ करोड ३९ लाख लागतमा विके केसी जिसी जेभीसंग ठेक्का सम्झौता भएको हो । एक स्पान रहेको कैकु खोलाको सम्पन्न म्याद चालु आर्थिक वर्षको २६ असारसम्म रहेको आयोजनाले बताएको छ ।

 योसंगै चालु वर्षको अन्तिमसम्ममा कैकु खोला पुल,सेतो खोला पुल,लार्जुङ खोला पुल मार्फा खोला पुल र घमी खोला पुल सम्पन्न हुने आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिनुभयो ।

 राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजनाका लागि थप ६ स्थानमा पुल निर्माणको आवश्यकता पर्ने आयोजनाको भनाई छ । आयोजनाका सूचना अधिकारी चापागाईका अनुसार म्याग्दीको रुप्से खोला, मुस्ताङको कागबेनी खोला,सुन खोला, थापाखोला र बोक्सी खोला लगायतमा पक्की मोटरेबल पुलको आवश्यकता रहेको सूचना अधिकारी चापागाईको भनाई छ । यी ६ वटा पुलको आवश्यकता रहेको स्थान मध्ये ४ स्थानमा अस्थायी बेलिब्रिज रहेको  छ । कागबेनीमा निर्माणधिन पुल बाढीले बगाएको र सुन खोलामा कुनै पुल नरहेको आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ ।

बेनी—जोमसोम—कोरला सडकमा हालसम्म २३ वटा पुल कार्यान्वयमा छन् । जसमध्ये ५ वटा पुल निर्माणधिन रहेको जनाईएको छ ।


प्रतिक्रिया