जोमसोम—उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाकाको तिब्बती भूमी लिजीमा तिब्बती व्यापारीहरुको व्यवसायिक स्टलसंगै उपल्लो मुस्ताङीले समेत व्यवसायिक स्टल राखेका छन् । चीन पक्षले उपल्लो मुस्ताङीलाई त्यहाँ आएर व्यापार गर्न मार्ग प्रसस्त गरेसंगै कोरलानाकाको तिब्बती भूमी लिजीमा नेपाल पक्षबाट मुस्ताङीले स्टल राखेर व्यापार गर्न सुरु गरेका हुन् ।
कोरोना कहरको जोखिम देखाउँदै चीन पक्षले लगातार ४ वर्षसम्म बन्द गरेको कोरलानाका गत कार्तिक २७ गते औपचारिक रुपमा खुल्ला गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण लगत्तै खुल्ला गरिएको कोरलानाकामा उपल्लो मुस्ताङीले मात्रै सीमापार अनुमतीपत्र पाएका छन् । नाका खुलेसंगै उपल्लो मुस्ताङका नागरिकले चीनको लिजी पुगेर दैनिक उपभोग्य वस्तु आयात गर्न सुरु गरिएको थियो । चीनले बाह्रै महिना उपल्लो मुस्ताङीलाई कोरलानाका खुल्ला गरेसंगै त्यहाँका नागरिकले चीनको तिब्बती भूमी लिजीबाट आफुलाई चाहिने जती सामान ल्याउन थालेका छन् । कतिपयले भने व्यवसायिक प्रयोजनका रुपमा ठुलो परिणाम चीनियाँ सामान ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेका छन् ।
कोरलानाका खुलेको ७ महिनापछि बैशाखदेखि नेपाल पक्षबाट पनि कोरलानाकाको तिब्बती भूमी लिजीमा व्यवसायिक स्टल राखेर ब्यापार गर्न सुरु गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।‘ नाका खुलेपछि चीनबाट मात्रै एकतर्फी ब्यापार हुन्थ्यो,हाम्रोतीरबाट केही निर्यात भएको थिएन,’ प्रजिअ पन्तले भने,‘अहिले हामी कहाँबाट पनि त्यहाँ पुगेर व्यापार गर्ने वातावरण बनेको छ, हामी तीर पूर्वाधारको समस्याले त्यहाँ पुगेर व्यापार गर्नु परेको हो ।’
प्रजिअ पन्तले कोरलानाकाको लिजीमा मुस्ताङीले ब्यापार गर्न सुरु गरेकाले नाकामा दुई पक्षिय ब्यापारको मार्ग प्रसस्त भएको बताए । उनले सीमापार पाएका एक दर्जन नेपाली ब्यापारीले स्थानीय उत्पादनका साथै चाउचाउ,चामल,मदिरा,पिठो, बिस्कुट र गलैचा आदी लगेर बिक्री गर्ने गरेको सुनाए । उता चीनको तिब्बती भूमी लिजीबाट मुस्ताङले खाद्यान्न,लत्ता कपडा,कस्मेटिक सामान,कृषि उपकरण,किराना सामान र लत्ताकपडा आदी आयात गर्ने गरेको प्रजिअ पन्तले बताए ।
उत्तरी चीनको कोरलानाका औपचारिक रुपमा खुल्ला भएसंगै हालसम्म जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका १ हजार ५२० जनालाई सीमापार पास वितरण गरिसकेको छ । यसै गरी कोरलानाका खुल्ला भएपछि उपल्लो मुस्ताङको छोेसेर स्थित मुस्ताङ भन्सार कार्यालयको आर्थिक राजश्व संकलन गतिविधि समेत चलाएमान हुन थालेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङ भन्सार कार्यालयले नाका खोलेपछि यता बैशाख महिनासम्म ४ लाख १८ हजार १८३ रुपैया राजश्व संकलन गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता