तीब्र गतिको हावाहुरीले विद्यालय भवनमा क्षति

तीब्र गतिको हावाहुरीले उपल्लो मुस्ताङको लोमान्थाङ—२ छोसेरमा अवस्थित दिव्यदीप स्कुलको भवन पूर्ण रुपमा क्षति पुगेको छ ।  बुधबार दिउँसो करिव २ बजे चलेको अत्यधिक तीब्र गतिको हावाहुरीले विद्यालय भवनको जस्ताले छाइएको भवन पूर्ण रुपमा क्षति भएको छ ।

 विद्यालयको उक्त भवन २०६७ सालमा मित्र राष्ट्र चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो । विद्यालयको कार्यालय कक्ष,बैठक कक्ष, विज्ञान प्रयोगशाला, ल्याव र पुस्तकालय समेत रहेको विद्यालयको २ तले भवनको छत हावाहुरीका कारण भत्किन गई क्षति पुगेको दिव्य दीप माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको छानो जस्ताले छाईएको र जस्ताको सपोर्टका लागि काठको फर्निचर प्रयोग भएको थियो । विद्यालयको छानो पुरानो र कमजोर अवस्थामा रहेकै कारण विद्यालयमा क्षति हुन पुगेको व्यवस्थापन समितिका सदस्य गुरुङको भनाई छ । 


 लोमान्थाङ गाउँपालिकाका प्रशासन शाखाका प्रमुख विकास केसीले तीब्र गतिको हावाहुरीले दिव्यदीप माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको जानकारी दिनुभयो । प्रशासन प्रमुख केशीका अनुसार हावाहुरीले विद्यालय भवनमा क्षति पुग्दा करिव १५ लाख बराबरको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । उहाँले प्रतिकुल मौसमका कारण घुम्ती कक्षा सञ्चालनका लागि पोखरामा स्थान्तरण भएकाले मानवीय क्षति हुन नपाएको बताउँनुभयो ।


नेपाल—चीन उत्तरी कोरलानाकादेखि पश्चिम करिव १५ किलोमिटरको दुरीमा रहेको लोमान्थाङ—२ मा अवस्थित दिव्यदीप स्कुल कार्तिक महिनादेखि घुम्ती कक्षा सञ्चालन गर्दै पोखरामा स्थान्तरित भएको छ । घुम्तीमा रहेको उक्त विद्यालय जाडो सकिएर गर्मीयाम लागेपछि बैशाख महिनामा साविककै स्थानमा शैक्षिक पठन÷पाठन सञ्चालन हुन्छ ।  विद्यालय बन्द भएको अवस्थामा तीब्र गतिको हावाहुरीले विद्यालय भवनमा भौतिक क्षति हुन पुगेको छ । भवन भत्किदा शैक्षिक सामाग्री  तथा विज्ञान प्रयोग शालाको शैक्षिक उपरकणहरु क्षति हुन पुगेको छ ।

 


प्रतिक्रिया