मुस्ताङ भित्रिएका मध्ये (२.३१) प्रतिशत विदेशी पर्यटक मात्रै उपल्लो मुस्ताङ पुगे

जोमसोम— आर्थिक वर्ष २०८०÷०८१ मा उपल्लो मुस्ताङ घुम्ने पर्यटकबाट १६ करोड ७० लाख ४८ हजार राजश्व संकलन भएको छ । निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ  भ्रमण गर्न जाने कुल २ हजार ५१२ जना पर्यटकबाट नेपाल सरकार अध्यागमन विभागले उक्त राजश्व संकलन गरेको हो ।

उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको तथ्यांक ईलाका प्रहरी कार्यालय छुसाङले विवरण संकलन गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले गत आर्थिक वर्ष २०८०÷०८१ मा २ हजार ५१२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेको बताए । प्रनाउ पाण्डेयले यसअघि विदेशी पर्यटक मात्रै अभिलेख राख्ने गरिएकोमा चालु आर्थिक वर्षदेखि नेपाली आन्तरिक पर्यटकको समेत अभिलेख राख्न सुरु गरिएको जानकारी दिए ।

उत्तरी चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङ जाने विशेष प्रकारका भिआईपि प्रवेश अनुमती लिनुपर्ने हुन्छ । मुस्ताङको कागबेनीदेखि माथिल्लो क्षेत्रलाई सरकारले नेपाल सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रमा सूचिकृत गरेकाले सबै खाले पर्यटक उपल्लो मुस्ताङ पुग्न सक्तैनन् । अध्यागमन विभागमा दैनिक ५० डलरको हिसाबले १० दिनका लागि ५ सय डलर रोयल्टी शुल्क बुझाएपछि मात्रै उपल्लो मुस्ताङ जान विदेशी पर्यटकलाई अनुमती दिईने गरिएको छ ।  सरकारको अनुमतीसहित ५ सय डलर तिरेर उपल्लो मुस्ताङ पुगेका पर्यटकलाई १० दिन कटेमा दैनिक ५० डलरका हिसाबले अतिरिक्त शुल्क लिने गरिएको छ ।

 आर्थिक वर्ष २०८०÷०८१ मा कुल १ लाख ८ हजार ४४८ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गर्दा  २ दशमलव ३१ प्रतिशत विदेशी पर्यटकले मात्रै उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् । उपल्लो मुस्ताङ हरियाली बिनाको पठार भूगोल,अथाह धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक सम्पदा र तिब्बतीय कलासंस्कृति र स्थानीय रहनसहन अवलोकन गर्न पाईने भएरैपनि सरकारको चर्को पर्यटक रोयल्टी शुल्कका कारण मुस्ताङ भित्रिने अधिकाँश विदेशी पर्यटक उपल्लो मुस्ताङ नपुगीकनै  कागबेनी र मुक्तिनाथ क्षेत्रबाट तल फर्किने गर्छन् ।

 राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक मार्ग सहज हुँदै गएपनि सरकारले लिने चर्को रोयल्टी शुल्ककै कारण उपल्लो मुस्ताङमा विदेशी पर्यटकको न्यून उपस्थिती हुने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उपल्लो मुस्ताङमा चर्को रोयल्टी शुल्कका कारण विदेशी पर्यटक आउन नसकेका कारण त्यहाँका पर्यटन व्यवसायले पटक÷पटक उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रबाट मुक्त गरिनु पर्ने माग राख्दै आईरहेका छन् ।  सकेसम्म उपल्लो मुस्ताङलाई खुल्ला वा नभएमा चर्को रोयल्टी शुल्कलाई कम गर्नुपर्ने त्यहाँ पर्यटन व्यवसायीको भनाई छ ।

सरकारले उपल्लो मुस्ताङबाट बर्सेनि करोडौं राजश्व संकलन गर्ने भएपनि स्थानीय स्तरमा कुनै बेनिफिट प्राप्त नभएको त्यस क्षेत्रको गुनासो छ । उनीहरुले सरकारले पर्यटन वापत उठाउने राजश्व शुल्कको केही हिस्सा त्यहाँको विकासमा खर्चिनु पर्ने बताउँछन् ।

 उपल्लो मुस्ताङमा विेशेषत भदौंदेखि मंसिरसम्म विदेशी पर्यटक उपल्लो मुस्ताङ भ्रमण गर्न जाने गर्छन् ।  उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ र तिजी पर्वमा विदेशी पर्यटकको बाक्लो उपस्थिती हुने गर्छ । चर्को रोयल्टी शुल्क तिरेर उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकहरु लोमान्थाङ गाउँपालिकाको नेचुङबाट माथि जान पाईदैन ।

यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत लमजुङको बेसी सहरदेखि मनाङ हुँदै कुल २० हजार ३४८ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । जसमध्ये १७ हजार४३८ जना विदेशी र २ हजार ९१० जना आन्तरिक पर्यटक मनाङबाट थ्रोरङलापास हुँदै मुस्ताङ भित्रिएका हुन् ।


प्रतिक्रिया