स्याउ बगैचा व्यवस्थापन गर्दै मुस्ताङका कृषक |
जोमसोम—हिउँदयामको मौसमसंगै हिमाली जिल्ला मुस्ताङका राताम्मे स्याउ बगैचाहरु पात झरेर उजाड बनेका छन् । भदौं , असोज र कार्तिक महिना यहाँको बगैचाबाट स्याउ टिपी सकेपछि बगैचाका स्याउ बोटहरु उजाड बनेका हुन् ।
स्याउ मुस्ताङ जिल्लाको मुख्य फलफुल बाली हो । कृषि र पर्यटनको प्रचुर संम्भावना रहेको मुस्ताङमा यहाँका अधिकाँशका किसान स्याउ खेतीमा आत्मनिर्भर छन् । स्याउ खेतीबाट मुस्ताङले बर्सेनि आधा अर्व रुपैया भन्दा बढी आम्दानी गर्छ । व्यवसायिक तथा जिविकोपार्जनका रुपमा मुख्य आम्दानी श्रोतको रुपमा स्थापित मुस्ताङका किसानले झन्डै आधा सताब्दीदेखि निरन्तर स्याउ खेतीलाई पछ्याईरहेका छन् ।
बर्सेनि हिउँदयामको पुस र माघ महिनामा स्याउ बगैचा व्यवस्थापन तथा काँटछाँट गर्ने र त्यसपछि आशिंक रुपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । भदौदेखि कार्तिक महिनासम्म मुस्ताङका बगैचामा लोभलाग्दो लटरम्म स्याउ फल्छन् । अन्य खेतीको तुलनामा कम झन्झटिलो मानिने स्याउ खेतीले मुस्ताङको आर्थिक धरोहरलाई माथि उकास्न महत्वपूर्ण योगदान दिएको छ ।
पछिल्लो समय कृषि अन्तर्गत स्याउ खेतीतर्फ स्थानीयको आर्कषण समेत बढ्दै जान थालेको हो । करोडौं रुपैयाको स्याउ फल्ने स्याउ बगैचामा मुस्ताङका किसानहरु अहिले बगैचा व्यवस्थापन गर्न तल्लिन छन् ।अक्सर स्याउ बोटबाट स्याउ पोस्ट हार्भेस्ट गरिसकेको केही हप्तामै स्याउ बगैचाहरु पात झरेर नांगो हुन्छ ।
स्याउको उत्पादन,संकलन तथा बजारिकण गरिसकेपछि हिउँदयामको चिसो मौसममा स्याउ बगैचा व्यवस्थापन सुरु हुन्छ ।स्याउको भरपर्दो र समुचित ढंगले बगैचा व्यवस्थापन गर्नसके किसानले गुणस्तरीय उत्पादन र राम्रो आम्दानी लिन सक्छन् । मुस्ताङको ५ स्थानीय तहमा अहिले किसानहरु चिसो सहँदै स्याउ बगैचा व्यवस्थापनकार्यमा जुटेका छन् । उद्यपी उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण स्थानीय बेसी झर्ने परम्पराले फागुनको १५ गतेसम्म बगैचा व्यवस्थापनकार्य हुन्छ ।
पुस महिना लागेसंगै मुस्ताङका किसानले अत्यधिक चिसोको परवाह नगरी उजाडिएका स्याउ बगैचामा गोडमेल गर्ने,सिंचाई गर्ने,मलजल गर्ने,रोग किरा आदीको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र स्याउ बोटमा फैलिएका अनाधिकृत हाँगाबिगाहरुको काँटछाट गर्ने तालिम र काँटछाँट गर्ने लगायतका कृषि कर्म गर्न भ्याईनभ्याई छ । बर्सेनि मुस्ताङका किसानलाई कृषि ज्ञान केन्द्र मुस्ताङ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र संम्वन्धित स्थानीय तहहरुले प्राविधिकको व्यवस्था गरी स्याउ बगैचा व्यवस्थापन संम्वन्धित तालिम र फिल्डमै पुगेर किसानले स्याउ खेती गर्ने तरिका सिकाउने गरेको पाईएको छ । यी कार्यालयबाट स्याउ बगैचा व्यवस्थापनका लागि विषादी छर्किने तरिका र स्याउ काँटछाँट गर्ने तरिका सिकाउने गर्छन् । स्याउ बोटमा पालुवा र कोपिला पलाउनु अगावै स्याउको हाँगाबिगा काँटछाँट गर्नुपर्ने हुन्छ ।
स्याउ बगैचाको बोटलाई फर्मल ईन्फेक्सनका कारण बोटमा कटिङको घाउ नबढोस र प्रकोप नियन्त्रण होस भन्ने उद्देश्यले स्याउको अनाधिकृत हाँगा काँटछाँट गर्नुपर्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । ‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउको सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ,विभिन्न स्याउमा लाग्ने रोग संक्रमणलाई प्रतिरोध गर्छ,कार्यालय प्रमुख बस्ताकोटीले भने,‘ स्याउ बगैचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साईजलाई बढावा गर्न टेवा पुग्छ ।’ उनले प्राविधिकको सिकाई अनुसार गरिएको स्याउ बगैचा व्यवस्थापनले उत्पादन र गुणस्तर कायम गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
स्याउ बगैचा व्यवस्थापन गर्दा कृषकहरुले स्याउ बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्चर छर्किने गर्छन । यसो गर्दा स्याउ बोटमा संक्रमण नियन्त्रण गर्छ । हलुका र पातलो घाउहरुमा बोरो पेस्ट र बोटको पुरै भागमा छर्किनु परे बोरो मिक्चर प्रयोग गरिन्छ । मुस्ताङमा पुस महिना सुरु भएसंगै किसानहरु स्याउ बगैचा व्यवस्थापनकार्यमा जुटेको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीका किसान एवं वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिए । ‘स्याउ बगैचाको व्यवस्थापनमा राम्रोसंग गर्न सके उत्पादन र गुणस्तर समेत वृद्धि हुन्छ, स्याउको बगैचा व्यवस्थापन गर्ने मुख्य समय पनि यही याममा गर्नुपर्छ,किसान गुरुङले थपे,‘ स्याउका लागि आवश्यक उपकरण र विषादीहरु अनुदान मिल्छ,हामीले बगैचाको राम्रो हेरचार गर्न सके राम्रो आम्दानी लिन सक्छौं ।’ उनले स्याउको जथाभावी हाँगाबिगा काँटछाँट गर्दा उत्पादन र गुणस्तर दुबैमा ह्रास आउने उल्लेख गरे ।
बर्सेनि स्याउ बगैचा व्यवस्थापन गर्दा यहाँका किसानले स्याउका नयाँ विरुवा लगाउने र स्याउ विरुवामा अन्य जातका स्याउ विरुवाहरुलाई जोडेर ग्राफ्टिङ गर्ने गरिन्छ । यसरी स्याउ विरुवालाई ग्राफ्टिङ गर्दा स्याउ बोटमा फरक÷फरक जाँतका स्याउ फल्छन् । अक्सर स्याउ बगैचा व्यवस्थापनको समयमा एक पटक हिमपात भयो भने स्याउ बगैचा सप्रिने बताईएको छ । हिमपातले स्याउ बगैचाभित्र जमिनको भित्री तहसम्म सिंञ्चित गर्ने र हिउँले स्याउ बोटमा लाग्ने प्रकोप नियन्त्रण गर्न समेत मद्यत गर्छ । स्याउ बगैचा व्यवस्थापन गरेपछि चैत्र र बैशाख महिनामा स्याउ बोटमा फूल फूल्ने समय परागसेचन आवश्यकता पर्छ । स्याउका लागि अनुकुल हावापानी र उचित बगैचा व्यवस्थापनको संयोजनले मात्रै स्याउको उत्पादकत्व वृद्धि र स्याउको गुणस्तर राम्रो हुन्छ ।
मुस्ताङमा पछिल्लो समय १४९५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भईसकेको छ । जसमध्ये ५८५ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । मुस्ताङमा मुख्य गरी उन्तत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउ उत्पादन हुन्छ ।यस्तै उच्च घनत्व प्रविधिमा आधारित (हाईब्रिड) जातका गाला,फुजी,किङरोट,जोनाप्रिन्स ,गोल्डेन डेलिसियस र रेड डेलिसियस स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङको भनाई छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा मुस्ताङमा ५८५ हेक्टरमा लगाईएको स्याउबाट ४ हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसको अघिल्लो वर्ष ५८० हेक्टरमा लगाईएको स्याउ बोटबाट ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । गतववर्षको तुलानामा यसवर्ष स्याउको फूल फूल्ने समय चैत्र ÷बैशाख महिनामा मौसम फरबदलका कारण स्याउ बोटमा परागसेचन (पोलिनेसन) हुन नपाएपछि स्याउ उत्पादन १ हजार ६२१ मेट्रिक टन स्याउ कम फलेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली