मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक

मुस्ताङ, ३०, साउन ।

स्याउको राजधानीको रुपमा प्रख्याती कमाएको हिमाली मुस्ताङमा  स्याउ टिप्ने (पोस्ट हार्भेस्ट) गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । यहाँ जिल्ला समन्वय समिति प्रमुख माया गुरुङको अध्यक्षतामा बसेको स्याउ टिप्ने जिल्ला स्तरीय समन्वय बैठकमा यस्तो निर्णय गरिएको हो ।

मुस्ताङ जिल्लामा उत्पादन हुने स्याउको गुलिसोपना कायम गर्न र स्याउको गुणस्तर कायम गरी मुस्ताङको स्याउलाई आम उपभोक्ता माँझ पृथक प्रकारको ब्रान्ड स्थापित गर्ने उद्देश्यले यहाँ स्याउ टिप्ने कार्यतालिका तय गरिएको हो । मुस्ताङका पाँचै गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षहरु, कृषि ज्ञानकेन्द्र मुस्ताङ,शीतोष्ण बागवानी विकास केन्द्र मार्फा, प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मुस्ताङ, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र,स्थानीय कृषक,समूह,सहकारी र स्याउ फार्मका प्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालय  र सुरक्षा निकाय लगायतको संयुक्त जिल्ला स्तरीय समन्वयात्मक बैठकले यहाँ तीन चरणमा गरी स्याउ टिप्ने निर्णयसहितको नयाँ ढाँचामा कार्यतालिका सार्वजनिक गरिएको हो ।

जिल्ला स्तरीय समन्वयात्मक बैठकले आसन्न हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै  उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) गाला जातको स्याउ भदौ ५ गतेदेखि टिपेर बजारिकरण गर्न पाईने निर्णय गरिएको छ । यसैगरी  हाईब्रिड किङ रट जातको स्याउ भदौ १५ गतेदेखि र अन्य हाईब्रिड र स्थानीय जातका स्याउ भदौ २५ गतेबाट मात्रै टिप्ने समन्वयात्मक बैठकले निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले जानकारी दिनुभयो । प्रमुख गुरुङले विगतका वर्षहरुमा यहाँ उत्पादन हुने कृषकको बगैचामा स्याउ आफुखुसी बजार पु¥याउने परिपाटीले मुस्ताङको स्याउको गुणस्तरमा ह्रास आएकाले यस्तो निर्णय गरिएको बताउँनुभयो । उहाँले मुस्ताङको मुख्य पहिचान भनेकै स्याउ खेतीसंग सम्वन्धि रहेकाले यहाँको स्याउको गुणस्तर कायम गरी सहरबजारका उपभोक्ता समक्ष मुस्ताङको लोकप्रियता बढाउन स्याउ टिप्ने नियम कार्यान्वयनमा लैजाने निर्णय भएको बताउँनुभयो ।

यता ,कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले आ.व. २०८२÷०८३ मा उत्पादन भईरहेको स्याउको बिक्री वितरण गर्ने समयका लागि स्याउ टिप्ने कार्यतालिकासहितको समय निर्धारत गरिएको उल्लेख गर्नुभयो । यहाँको स्याउ परिपक्क भई स्याउमा पर्याप्त गुलियोपना भए पञ्चात मात्रै स्याउको टिपाई गरी बिक्री वितरण गरेमा  स्याउको गुणस्तर र पहिचान जोगिने भएकाले जिल्ला स्तरीय बैठकको निर्णय बमोजिम यहाँ स्याउ टिप्ने तीन तरिकाको कार्यतालिका बनेको कृषि ज्ञान केन्द्र प्रमुख गुरुङको भनाई छ ।

यसअघि यहाँको कृषि ज्ञान केन्द्र र स्याउ जोन कार्यालयका प्राविधिकहरुले स्थानीय स्तरमा स्याउको गुणस्तर  तथा गुलियोपनाको प्राविधिक परीक्षण गरेका थिए । कृषकको बगैचामै पुगेर गरिएको परीक्षणमा हाईब्रिड जातको गाला स्याउ र किङ रट स्याउको गुणस्तर परीक्षण गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । सोही परीक्षणलाई आधार बनाएर यहाँ सरोकारवालाहरुसंग गरिएको छलफलपछि स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको हो ।

 विगतका वर्षहरुमा स्याउ खरिद गर्ने ब्यापारीहरुले स्याउको गुलियोपना नभरिदै ब्यापारिक मुनाफाका लागि बजार पु¥याउने परिपाटीले गर्दा मुस्ताङको स्याउमा सहर बजारका उपभोक्ताले खोट लगाउने गरेको उदाहरण रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । यहाँ स्याउ ब्यापारीले  कृषकको बगैचामै पुगेर जेठ ÷असारमै बैनापट्टा गर्ने र त्यसपछि चाडपर्वको मेलो छोपेर स्याउ नपाक्दै बजार पु¥याउदा मुस्ताङको स्याउको पहिचान खस्किन पुगेको अध्यक्ष बिष्टको भनाई छ ।

उच्च उचाईमा अवस्थित हिमाली जिल्ला मुस्ताङको स्याउ नेपालकै अब्बल स्याउको रुपमा रहेको र यसको गुणस्तर र पहिचान जोगोउन आवश्यक रहेको बैठकमा सरोकारवालाहरुले सुझाएका छन् ।

 मुस्ताङमा गत आर्थिक वर्ष २०८१÷०८२ मा ९१ करोड ८६ लाख बराबरको स्याउ उत्पादन भएकोमा ८२ करोड ६८ लाख बराबरको स्याउ जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र मुस्ताङको तथ्यांकमा उल्लेख छ । । तथ्यांक अनुसार मुस्ताङमा जिल्लामा  ९ करोड ६८ लाख बराबरको स्याउ खपत भएको थियो ।

मुस्ताङका ५ स्थानीय तहमा ८३० हेक्टर क्षेत्रफलमा स्थानीय जातका परम्परागत स्याउ खेती विस्तार भएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउले उत्पादन दिने गरेको छ । यसैगरी यहाँको ५ स्थानीय तहको ६० हेक्टर क्षेत्रफलमा उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) स्याउ खेती गरिएकोमा ५० हेक्टर क्षेत्रफलमा उत्पादन दिने गरेको छ ।

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गतवर्ष मुस्ताङमा ७ हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमध्ये छ हजार ७८ मेट्रिक टन स्याउ स्थानीय लोकल स्याउ र एक हजार २५० मेट्रिक टन हाईब्रिड स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङको तथ्यांकमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया