मुस्ताङको थासाङमा जग्गा दान गर्ने दानवीरलाई सम्मान , स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन

मुस्ताङको थासाङमा जग्गा दान गर्ने दानवीरलाई सम्मान , स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन

हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसामा आधारभुत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाद्वारा आयोजित विशेष कार्यक्रमका अवसरमा म्याग्दी र मुस्ताङको सीमाना घाँसामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश गौचनले रिवन काटेर उद्घाटन गर्नुभयो ।


सो अवसरमा संघीय प्रतिनिधि सभा सदस्य थकालीले आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको शिलालेख अनावरा गर्नुभयो । आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण भएसंगै स्थानीय नागरिकका लागि स्वास्थ्य सेवा सुविधा भरपर्दो र चुस्त बनाउन आवश्यकता रहेको प्रतिनिधि सभा सदस्य शेरचनले सुझाउनुभयो ।

थासाङको घाँसामा स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन गाउँपालिकाले ६० लाख लागतमा निर्माण गरेको वडाध्यक्ष नरेन्द्र शेरचनले जानकारी दिनुभयो । नवनिर्मित आधारभुत स्वास्थ्य केन्द्र भवनमा ४ वटा कोठा छन् । स्वास्थ्य पूर्वाधार निर्माण भएसंगै थासाङ—४ का करिव एक सय घरधुरी स्वास्थ्य सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेरचनको भनाई छ ।


 मुस्ताङको घाँसामा आधारुभत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि स्थानीय जिवन शेरचन र विपना शेरचन दम्पतीले ३ रोपनी जग्गा निःशुल्क दान गरेका थिए ।  यसअघि थासाङ—४ झिप्रा देउरालीका स्थानीय सुकबहादुर परियार र सन्तमाया परियारले पनि स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गर्न २ रोपनी जग्गा निःशुल्क दान गरेका थिए । 


थासाङ गाउँपालिकाको स्वास्थ्य पूर्वाधार निर्माणका लागि जग्गादान गर्ने दुबै दम्पती परिवारलाई थासाङ गाउँपालिकाले बिहिबार आयोजित तोरन्ल विशेष कार्यक्रममा दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित गरिएको छ । जग्गादान कर्ता दुबै दम्पती परिवारलाई संघीय प्रतिनिधि सभा सदस्य योगेश गोचन थकाली र गाउँपालिका अध्यक्ष प्रदीप गौचन लगायतले सम्मानपत्र अर्पण गरेका थिए ।

प्रतिक्रिया