जोमसोम—हिमाली जिल्ला मुस्ताङमा ७१ वटा कृषि फार्म,समूह र सरकारी आलु जोन विकास कार्यक्रममा सुचिकृत भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले चालु आर्थिक वर्ष २०८१÷०८२ देखि सुरु गरेको आलु जोन विकास कार्यक्रममा मुस्ताङका ४ पालिकाका ७१ कृषकका कृषि समूह,फार्म र सहकारी संस्था अनुदान कार्यक्रममा समेटिएका हुन् ।
हिमाली जिल्ला मुस्ताङमा स्याउ जोन र च्यांग्रा जोन कार्यक्रमपछि आलु जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको हो । आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी बाह्य देशबाट हुने आयातलाई प्रतिस्थापन गर्ने र खाद्य सुरक्षामा समेत टेवा पु¥याउने उद्देश्यले नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी मुस्ताङमा आलु जोन विकास कार्यक्रम ल्याईएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जिल्लाका ४ पालिकामा ७१ कृषकका कृषि समुह,फार्म र सरकारीलाई चालु आर्थिक वर्षदेखि सुरु भएको आलु जोन विकास कार्यक्रममा सुचिकृत गरिएको कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए । उनका अनुसार मुस्ताङको घरपझोङमा ३२ वटा, वारागुङ मुक्तिक्षेत्रमा ३३ वटा, थासाङ गाउँपालिमा ४ वटा र उपल्लो मुस्ताङको लोमान्थाङबाट २ वटा कृषि समूह,फार्म र सहकारी आलु जोन विकास कार्यक्रममा आवद्ध भएका हुन् ।
मुस्ताङका ५ पालिकाका २५ वटै वडाहरु आलु जोन विकास कार्यक्रममा समेट्ने लक्ष्य रहेपनि सम्वन्धित पालिकाका धरैजसो वडाहरु यस कार्यक्रममा प्रस्ताव नआएका कारण आवद्ध हुन नसकेको कार्यालय प्रमुख गौतमको भनाई छ । आलु जोनको पहिलो वर्षको कार्यक्रममा कुल सुचिकृत भएका मध्ये घरपझोङमा ४५.०७ प्रतिशत, वारागुङ मुक्तिक्षेत्रमा ४६.४७ प्रतिशत, थासाङ मा ५.७१ प्रतिशत र लोमान्थाङ गाउँपालिकामा २.८१ प्रतिशत कृषि समूह,फार्म र सहकारी संस्था आवद्ध भएको उनले उल्लेख गरे । परियोजनाद्वारा सञ्चालित आलु जोन विकास कार्यक्रममा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट आलु जोन विकास कार्यक्रममा आवेदन नपरेकाले सुचिकृत हुन नसकेको कार्यालय प्रमुख गौतमको भनाई छ ।
मुस्ताङमा चालु वर्षदेखि कार्यान्वयनमा आएको आलु जोन विकास कार्यक्रमका लागि १ करोड २७ लाख बजेट विनियोजन भएको छ । आलु जोन विकास अन्तर्गत १ करोड १७ लाख बजेट आलु जोनका लागि अनुदान शिर्षकमा खर्च हुनेछ । बाँकी १३ लाख बजेट आलु जोन विकास अन्तर्गत तालिम,प्रविधि प्रर्दशनी,क्रप कटिङ र तथ्यांक संकलन लगायतका सेवामुलक कार्यक्रममा खर्च हुने कार्यालय प्रमुख गौतमले जनाए ।
मुस्ताङमा सञ्चालित आलु जोन विकास कार्यक्रमका लागि कुल ५ सय हेक्टर क्षेत्रफल निर्धारण गरिएको छ । तर,न्यूनतम पापदण्ड बढी पनि बर्सेनि समेटिदै जान मिल्ने गरी यो कार्यक्रम कार्यान्वयमा आएको उनले बताए ।
जोन विकास कार्यक्रममा समेटिनु अघि जिल्लाका ७१ वटा कृषि फार्म,समूह र सहकारीले परियोजना ईकाईको कार्यालयमा प्रस्ताव पेस गरेका थिए । परियोजना कार्यान्वयन ईकाईबाट सुचिकृत कषि समूह,फार्म र सहकारीहरुले आलु जोनको पूर्वाधार विकासतर्फ ८५ प्रतिशत अनुदान सहुलियत पाउने छन् । बाँकी १५ प्रतिशत भने सम्वन्धि कृषि समूह,फार्म र सहकारीको स्वलगानी रहने कार्यालय प्रमुख गौतमले जानकारी दिए ।
यसैगरी कार्यक्रम अन्तर्गत आलु उत्पादनका लागि यन्त्र उपरकण,बिउँ तथा अन्य उत्पादन तथा प्रशोधन लगायतका सामाग्री खरिदमा ५० प्रतिशत अनुदान सहुलियत उपलब्ध हुने उनले बताए । उनका अनुसार चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जोनको भौतिक पूर्वाधार निर्माणको अनुगमन गर्ने कार्य सुरु भएको छ ।
मुस्ताङमा आर्थिक वर्ष २०७९÷०८०मा ४५९ हेक्टर क्षेत्रफलमा आलु खेती गर्दा ७ हजार ३१ टन आलु उत्पादन भएको थियो । मुस्ताङमा स्थानीय जातको सेतो आलु र विकासे रातो आलुको खेती गर्ने गरिएको छ । हिमाली क्षेत्रको उच्च उचाईको शीतोष्ण हावापानी उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । सहरबजारको उपभोक्ता मुस्ताङी आलु भनेपछि हुरुक्कै हुने गर्छन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता