कोरलानाका र भन्सारमा छैन सार्वजनिक शौचालयको सुविधा

नेपाल—चीन उत्तरी कोरलानाका र लोमान्थाङ—२ छोसेर न्हेचुङमा स्थित मुस्ताङ भन्सार कार्यालयमा सार्वजनिक शौचालय नहुँदा पर्यटक तथा चिनियाँ मालवस्तु ढुवानी गर्न पुगेका जनशक्तिलाई समस्या परेको छ ।

अनुकुल याममा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्यटकले भ्रमण गर्ने कोरलानाकामा सार्वजनिक शौचालयको अभाव खट्किएको जनाईएको छ । नाका अवलोकन गर्न जाने पर्यटकहरुलाई सार्वजनिक शौचालय नहुँदा समस्यामा पर्ने गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । नेपाल—चीन यतिठुलो अन्तरदेशीय कोरलानाकामा पर्यटक तथा ब्यापारिक चहलपहल भईसक्दा समेत सरोकारवाला निकायहरुले सार्वजनिक शौचालय सम्म पनि निर्माण गर्न नसक्नु दुःखद पक्ष भएको भन्सार प्रमुख खड्काको भनाई छ ।

नाकामा सीमा क्षेत्रमा ब्यापार गर्न बसेका ब्यापारी र पर्यटकहरुलाई लक्षित गरी सामान्य प्रकारको खाँडल खनेर प्लास्टिकले बेरबार गरी कामचलाउ शौचालय बनाईपनि उक्त शौचालय भरपर्दो नभएको भन्सार प्रमुख खड्काको भनाई छ । यहाँको कोरलानाका  आसपास र मुस्ताङ भन्सार कार्यालयमा सर्वसाधारणका लागि सार्वजनिक शौचालय तत्काल आवश्यकता परेकाले यसप्रति पहल गर्न सम्वन्धित निकायले ध्यान दिनुपर्ने भन्सार प्रमुख खड्काको भनाई छ ।

नेपाल—चीन सीमानाका नजिकै रहेको मुस्ताङ भन्सार कार्यालयमा प्रशासनिक शौचालय मात्रै भएकाले अविलम्ब कोरलानाका र भन्सार कार्यालयको बाहिरी परिसरमा सार्वजनिक शौचालय निर्माण हुन सकेमा पर्यटक तथा अन्यलाई निकै सजिलो हुने भन्सार प्रमुख खड्काले जनाउँनुभयो । ‘यहाँ अफिस प्रयोजनका लागि मात्रै शौचालय छ,सयौं पर्यटकहरु यता आउनु हुन्छ,’ भन्सार प्रमुख खड्काले भन्नुभयो,‘ समस्या परेपछि उहाँहरुलाई शौचालय प्रयोग गर्न दिनै प¥यो, अहिले त शौचालय जाम भएर हामीलाई समेत अप्ठ्यारो प¥यो ।’ 

यहाँको भन्सार कार्यालयमा कोरलानाका अवलोकन गर्न जाने पर्यटक तथा ब्यापारिक प्रयोजनका लागि आउने व्यक्तिका लागि चाँडै सार्वजनिक शौचालयको व्यवस्थापन गरिदिन भन्सार प्रमुख खड्काले आग्रह गर्नुभएको छ ।


यसैगरी कोरलानाकामा नेपालतर्फ खानेपानीको समस्या समेत देखिएको छ । नाकामा खानेपानीको व्यवस्था नहुँदा पर्यटक तथा अन्यलाई खानेपानीको समस्या पर्ने गरेको छ ।  केही वर्षअघि लोमान्थाङ गाउँपालिकाले कोरलानाकामा सार्वजनिक शौचालय र पर्यटक विश्राम स्थल निर्माण गर्ने गरी बजेट विनियोजन गरेपनि हालसम्म उक्त योजना कार्यान्वयनमा आउन सकेको छैन । नाकामा सुरक्षाका लागि बस्ने सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई समेत शौचालय र खानेपानीको असुविधा हुँदा समस्या परेको छ । 

सरकारले नेपाल—चीन उत्तरी कोरलानाकालाई गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा संञ्चालनमा ल्याईसकेको भएपनि कोरलानाकामा आवश्यक सामान्य आधारभूत सेवाको व्यवस्थापन नहुँदा कोरलानाका पुगेर फर्किने पर्यटक र नाकामा ब्यापार गरी बस्ने लगायतलाई निकै ठुलो समस्या र चुनौति थपिएको हो । 


प्रतिक्रिया