जोमसोमको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदीको विशाल ढुंगामा कुँदिएको विश्वकै ठुलो २२ फिट उचाईको शालिग्राम शीला मूर्ति यतिबेला धार्मिक आस्थाको केन्द्र बन्दै जान थालेको छ ।  गत वैशाख महिना अघि कालिगण्डकी नदीको छेवैको किनारामा ठिङ्ग उभिएको विशाल ढुंगालाई ललितकला प्रज्ञा प्रतिष्ठानबाट आएका मूर्तिकारहरुले भगवान विष्णुको प्रतिक मानिने शालिग्राम शीलाको आकार स्वरुपमा परिवर्तन गरिएसंगै उक्त शालिग्रामको मूर्ति धार्मिक पर्यटकहरुका लागि  आकर्षकको केन्द्र बन्दै जान थालेको हो ।

यसअघि घरपझोङ गाउँपालिकाको मुख्य आयोजना र एकिकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा ललितकला प्रज्ञा प्रतिष्ठानसंग समन्वय गरी गत बैशाख ७ गतेदेखि २१ गतेसम्म मुस्ताङको जोमसोममा पन्ध्रदिने मूर्तिकला कार्यशाला चलाईएको थियो । प्रतिष्ठानको समन्वयमा यहाँ आएका करिव तीन दर्जन बढी मूर्तिकारहरुले कालिगण्डकी नदीको तटमा पाईने विशाल ढुंगाहरुलाई विभिन्न स्वरुपमा मूर्तिकलाको रुपमा सिर्जना पस्किएका थिए । मूर्तिकारहरुले मुस्ताङ जिल्लाको ऐतिहाँसिक, धार्मिक,सांस्कृतिक,सामाजिक र जैविक विविधता लगायतका पक्षहरुलाई समेट्दै कालिगण्डकी नदीका डेढ दर्जन ढुंगाहरुलाई मूर्तिकलाको रुपमा प्रस्तुत गरेका थिए । यहाँ आएका मूर्तिकारहरुले कार्यशाला अवधिभर कालिगण्डकी नदीमा पाईने ढुंगाहरुमा शालिग्राम शीला,भगवान महादेव÷पार्वती, बिष्णु भगवान,बुद्ध भगवान ,हिमचितुवा,हिमाली भेडा,बौद्ध स्तुप ,माने र छोर्तेन लगायतका कलात्मक मूर्तिकला सिर्जनाहरु कुँदेका थिए । मूर्तिकारहरुद्वारा कुदिएका डेढ दर्जन मूर्तिहरु मध्ये अहिले सबैको ध्यान विश्वकै ठुलो आकारको शालिग्राम शीलातर्फ तानेको छ ।


 घरपझोङ गाउँपालिकाद्वारा कुँदिएका मूर्तिहरु मध्ये जोमसोम स्थित काठेपुल नजिकैको पक्की पुल तलको कालिगण्डकी नदीको किनारामा कुँदिएको विश्वकै ठुलो आकारको शालिग्राम शीला मूर्तिको प्राणप्रतिष्ठान गरिएसंगै धार्मिक पर्यटकहरुको चहल÷पहल बढेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । अध्यक्ष लालचनका अनुसार कालिगण्डकी नदी छेवैको विशाल ढुंगामा कुँदिएको शालिग्राम शीला मूर्तिलाई मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउनु भएका दक्षिण भारत कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजले  विेशेष पुजाअर्चना गरी प्राण प्रतिष्ठान गर्नुभएको थियो ।

 भारतीय स्वामी महाराजद्वारा कालिगण्डकी नदीमा निर्मित शालिग्राम शीलालाई गत जेठको पहिलो हप्ता दर्जनौ धार्मिक स्वामीहरुको उपस्थिती प्राण प्रतिष्ठान गरिएको थियो । यसरी निर्जिव ढुंगालाई विष्णु भगवानको प्रतिक शालिग्राम शीलालाई प्राण भरिएपनि स्वदेशी तथा विदेशी धार्मिक भक्तजनहरुको आस्थाको केन्द्र बनेको हो । घरपझोङ—४ जोमसोमका कार्यपालिका सदस्य भीषण थकालीका अनुसार शालिग्राम शीलाको प्राण प्रतिष्ठान गरिएपछि दैनिक सय भन्द बढी दर्शनार्थीले शालिग्राम शीलाको अवलोकन तथा दर्शन गरी फर्किने गरेको बताउँनुभयो । मुक्तिनाथ दर्शन गर्न आएका भारतीय दर्शनार्थीहरुको शालिग्राम शीला हेन र दर्शन गर्न जाने गरेको उहाँको भनाई छ । अधिकाँश पर्यटकहरु मुक्तिनाथ दर्शन गरी सिधै फर्किने गरेको उल्लेख गर्दै कार्यपालिका सदस्य थकालीले शालिग्राम शीलाको प्राण प्रतिष्ठानपछि भारतीय पर्यटक तथा नेपाली दर्शनार्थीले उक्त शीलाको अवलोकन गर्ने गरेका छन् ।

 शालिग्राम शीलाको प्राण प्रतिस्ठानपछि विश्वकै ठुलो आकारको शालिग्राम शीला दर्शन गर्न तथा अवलोकन गर्न आएका दर्शनार्थीहरुको उपस्थितीले सदरमुकाम जोमसोममा पर्यटकको बसाई लम्बिने थालेको छ । घरपझोङ गाउँपालिकाले उक्त स्थानलाई घेराबार गरी शालिग्राम पार्क समेत निर्माण गर्ने लक्ष्य राखेको छ । उक्त शालिग्राम पार्कमा दर्शनार्थीहरुलाई सहज हुने गरी गोरेटो बाटो निर्माणका साथै मूर्तिकारहरुले कुँदेका अन्य मूर्तिहरु पनि सोही स्थानमा स्थापना गर्ने जनाएको छ ।

 भारतको मुम्बईबाट मुक्तिनाथ दर्शन गरी फर्किनु भएकी भारतीय दर्शनार्थी जेनिशा जेनले जीवनमा पहिलो पटक ठुलो आकारको शालिग्राम शीलाको दर्शन गर्न पाएकोप्रति खुसी व्यक्त गर्नुभयो । भगवान विष्णुको स्वरुप शालिग्राम शीलाको कणकणमा विष्णु भगवान विराजमान हुने भएकाले शालिग्राम शीलाको महत्व धार्मिक भक्तजनहरुका लागि महत्वपूर्ण साक्षात देवताको रुपमा पुज्ने गरिएको उहाँको भनाई छ । 

संसारिक दुनियानै पुरै आस्था र विश्वासमा अडिएको उल्लेख गर्दै भारतीय दर्शनार्थी जेनले यहाँको नदीमा पाईने सबै पत्थरहरु शालिग्रामकै रुपमा धार्मिक महत्व रहेको चर्चा गर्नुभयो । उहाँले यहाँ कुँदिएको शालिग्राम शीला मूर्ति भारतीय स्वामीबाट प्राण प्रतिष्ठान भएको जानकारी पाएको र सो मूर्ति निर्क आकर्षक रहेको उल्लेख गर्नुभयो ।

 मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएका पर्यटकहरुका लागि शालिग्राम शीला यहाँका लागि आकर्षक धार्मिक पर्यटकीय केन्द्र बनेको छ । मुस्ताङ सदरमुकामको दुई जोमसोम बजारलाई जोड्ने कालिगण्डकी नदीको तटमा निर्मित शालिग्राम शीला र निलगिरी हिमाल र धौलागिरी हिमालको मनमोहक सुन्दरताले शालिग्राम शीला पार्क पुगेका धार्मिक पर्यटकहरु मोहित हुँदै फर्किने गरेको पाईएको छ ।

प्रतिक्रिया