जलवायुको असरमा ‘लुम्बुक झरना’

जोमसोम ।

अग्ला÷अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित मनमोहक लुम्बुक झरना । यहाँको यो झरना समून्द्री सतहको करिव चार हजार पाँच सय मिटर अग्लो विशाल चट्टानको पहाडसंगै जोडिएको सानो गल्छीबाट बग्ने गरेको छ ।

हिउँदयामको  पुस,माघ र फागुन महिनामा पुरै झरनाको पानी बरम बनेर सिंगो पहाडनै सेताम्मे हुन्छ । बर्खायाममा तापक्रम बढेपछि यहाँको झरनाको पानी हावासंगै बतासिएर फेंदमा झर्ने गर्छ । यहाँको लुम्बुक झरनाको पानी चिसोले जमेर पुरै लुम्बुक पहाडनै सेताम्मे हुँदा त्यहाँ पुग्ने जोकोही सर्वसाधारण व्यक्तिलाई मोहित तुल्याउन गर्छ । बर्खायाममा यहाँको झरनाको पानी बर्खाको समयमा हावाको बेगसंगै ईन्द्रेणी रुपमा प्रकट हुन्छ ।

 पछिल्लो समय तीन वर्षयता मुस्ताङमा राम्ररी हिउँ नपर्दा यहाँको झरनाको पानीको वहाव निकै घटेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका वडाध्यक्ष सुरेन्द्र गुरुङ बताउँनुहुन्छ । उहाँले हिउँ नपरेकाले यहाँ झरनाको पानीको स्रोत सुक्दै जान थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो । यहाँको लुम्बुक झरनालाई पर्यटकीय हबको रुपमा विकास गर्ने लक्ष्य राखिएको भएपनि झरनाको पानीको स्रोत बर्सेनि कम हुँदै गईरहेकाले पर्यटन प्रर्वद्धन गर्नमा समस्या परेको बताउँनुभयो । वडाध्यक्ष गुरुङले हिउँ नपर्दा यहाँका हिउँ स्रोतको मात्रा निकै कम हुँदै गएकाले कृषि र पर्यटन विकासमा निकै ठुलो समस्या र चुनौतीहरु थपिएको उल्लेख गर्नुभयो । ‘‘हिउँदयाममा राम्ररी हिउँ परिदिएको भए यहाँको पहाडमा जमेको हिउँनै विस्तारै पग्लिएर पानीको स्रोतमा ग्रहण गथ्र्यो, तर ,खै किन हो यहाँ केही वर्षदेखि हिउँ पर्न सकेको छैन, यसैले होला साविकको झरनाको वाहव निकै कम हुन पुगेको छ,’ वडाध्यक्ष गुरुङले भन्नुभयो ।’’

 वारागुङ मुक्तिक्षेत्र—५ स्थित फल्याक र धाकार्रजुङ गाउँ बिचको लुम्बुक खोलाको मुहाननै लुम्बुक झरना हो । यहा अरु थप दुई वटा साना झरना अवस्थित छन् । मुस्ताङको जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र फल्याक गाउँसम्म सवारी साधनबाट आधा घण्टा र त्यहाँबाट झरनासम्म करिव एक घण्टाको पैदल उकालो चढेपछि लुम्बुक झरनामा पुग्न सकिने घरपझोङ—५ ठिनीका स्थानीय निरज थकालीले जानकारी दिनुभयो । यहाँको लुम्बुक झरनाबाट निलगिरी हिमाल र आसपासका मनोरम हिमऋखंलाको अवलोकन गर्ने सकिने थकालीको भनाई छ । यहाँका झरनाको शिखरबाट हावाले बतासिएका पानीको फोहोरा खस्दा निकै रोमाञ्चक अनूभूती हुने थकालीले दर्शाउनुभयो ।

 यहाँको झरनासम्म पुग्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शिर्षकको सशर्त बजेटले करिव तीन किलोमिटर गोरेटो बाटो निर्माण गरेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नाम्गेल गुरुङले बताउँनुभयो । अध्यक्ष गुरुङले यसस्थानमा झरनामात्रै नभई गुरु पद्यसम्भवले ध्यान साधना गरेको ऐतिहाँसिक तथा धार्मिक गुफा समेत रहेकाले यहाँको पर्यटन विकासमा प्रचुर सम्भावना रहेको बताउँनुभयो ।




प्रतिक्रिया