मुस्ताङ, २६ ,असोज ।
उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरुलाई हाईअल्टिच्युडका कारण बिरामी पर्ने समस्या देखिएसंगै त्यहाँको लोमान्थाङ गाउँपालिकाले आईतबार सार्वजनिक सूचना प्रकाशित गरी यस्तो आग्रह गरिएको हो ।
गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङद्वारा जारी सूचनामा उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढ्दै गईरहेको र उच्च उचाईको क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्या देखिएको जनाईएको छ । दसैं—तिहार र छठ पर्वको बिदा अवधिमा यहाँ भ्रमण गर्न आउने पर्यटकले आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्रै भ्रमण गरिदिन अनुरोध गरिएको हो ।
यस याममा नेपाल—चीन उत्तरी कोरलानाका र उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न आएका पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्या देखिएको र समस्यामा परेका पर्यटक यात्रुहरुलाई सीमित श्रोतसाधनका बावजुत गाउँपालिकाको तर्फबाट स्वास्थ्य सेवा प्रवाह गरेको जनाएको छ । गाउँपालिकाले हाईअल्टिच्युड भएका सिकिस्त बिरामीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा मार्फत जोमसोम स्थित प्रदेश अस्पताल पु¥याउने गरिएको बताएको छ । दसैंपछि उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरु बढ्दो रहेकाले यहाँको हावापानी र भौगोलिक समस्याका कारण हुने स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दे आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरिएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताउँनुभयो ।
गाउँपालिकाले सूचना मार्फत उपल्लो मुस्ताङतर्फ जाने पर्यटकहरुले यात्रा गर्दा स्वास्थ्य अवस्था सम्वन्धि बिचार गर्नुपर्ने, दीर्घ रोगका बिरामीहरुले यात्रा गर्दा चिकित्सकको सल्लाह लिएर यात्रा गर्न हुन, चिसोबाट बच्न लगाईने स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गर्न, खाली पेटमा यात्रा नगर्न , दैनिक ४, ५ लिटर पानी पिउन र तरल पदार्थ सेवन गरेर मात्रै यात्रा गर्न र विभिन्न ठाउँहरुमा विश्राम लिदै यात्रा गर्न अनुरोध गरेको हो ।
भारतीय नाकाबन्दीपछि चर्चित रहेको नेपाल—चीन उत्तरी कोरलानाका अवलोकनका लागि दैनिक दुई हजारको संख्यामा पर्यटकहरु आउने गरेको लोमान्थाङ—२ न्हेचुङ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपीले जनाएको छ ।
त्यहाँ ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिष्णुहरी थापाका अनुसार कोरलानाकामा पुगेका पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्या हुने र सवारी साधन चिसोका कारण स्टार्ड नहुने जस्ता समस्या देखिएको बताउँनुभयो । बिओपीले कोरलानाका भ्रमण गर्ने पर्यटकलाई बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै कोरलानाकाको यात्रा गर्न अनुरोध गरेको उहाँले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली