सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ

जोमसोम ।

मुस्ताङ स्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं. गुल्मका सशस्त्र प्रहरी सुरक्षाकर्मीले शुत्रबार प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा थुप्रिएको हिउँ पन्छ्याएका छन् । सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीको कमाण्डमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छ्याएको हो ।

मंगलबार रातिको भारी हिमपातले वारागुङ मुक्तिक्षेत्र—१ स्थित मन्दिर मन्दिर परिसर बाक्लो हिउँले सेताम्मे भएको थियो । भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने रेलिङ सहितको सिंढी बाटोमा पुरै हिउँ जमेका कारण मुक्तिनाथका दर्शनार्थीहरुलाई निकै असहज पु¥याएको थियो । मुक्तिनाथ मन्दिरमा बाक्लो हिउँ जमेर बसेको र यसले दर्शनार्थीहरको  दर्शन र स्नान गर्ने कार्यमा बाधा पुगेकाले सशस्त्र प्रहरीले मुक्तिनाथमा पुगेर हिउँ पन्छ्याइएको सशस्त्र प्रहरी नायव निरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।

 भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर र मन्दिरसम्म जाने सिंढी बाटोमा दुई फिटसम्म हिउँ जमेर बसेकाले सशस्त्र प्रहरीको टोली खटिएर मुक्तिनाथको हिउँ सफा गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । मुक्तिनाथ जाने सडक र मन्दिर परिसरमा बाक्लो हिउँ थुप्रिएर बस्दा दर्शनर्थीहरु चिप्लिएरु लड्ने र दुर्घटना हुने जोखिम रहेकोमा सशस्त्र प्रहरी टोली हिउँ पन्छ्याएपछि मुक्तिनाथ दर्शनार्थीहरुलाई निकै सहज तुल्याएको व्यवस्थापक भुसालले बताउँनुभयो ।

 सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने रेलिङ मार्ग, मन्दिर परिसर, स्नानकुण्ड र १०८ धारा लगायत स्थानमा जमेको हिउँ पन्छ्याएको हो ।

 यसअघि भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी—मुक्तिनाथ सडकको हिउँ पन्छ्याईपछि शुक्रबार बिहानदेखि यातायात आवागमन संञ्चालनमा आएको छ । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन कोरला सडक आयोजनाको डोजर परिचालित गरी जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिहरु मिलेर अवरुद्ध सडक संञ्चालनमा ल्याईएको हो ।


प्रतिक्रिया